उपकुलपतिका लागि ‘लिगलिगे दौड’ शुरू

त्रिभुवन विश्वविद्यालय

काठमाडौं
त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न गठित सर्च कमिटीको पहिलो बैठक कमिटी बनेको १० दिन भइसक्दासम्म बस्न सकेको छैन।

बैठक बस्न नसकेपछि उपकुलपति छनौट गर्न कमिटीलाई हम्मे हम्मे पर्ने भएको छ। सरकारले सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा समिति गठन गरेको थियो।

त्रिभुवन विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो शुक्रबार शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा तीन सदस्यीय सर्च कमिटी गठन गर्नुभएको होे।

कमिटीमा व्यवस्थापन संकायका डिन प्राडा डिल्लीराज शर्मा र आंगिक क्याम्पसका तर्फबाट त्रिवि सभाका सदस्य एवं मेची क्याम्पस झापाका प्रमुख कमलप्रसाद गुरागाईं सदस्य रहेका छन्।

प्रम ओलीले आफूनिकट रहेका व्यक्तिलाई उपकुलपति बनाउने चाहना राख्नुभएपछि सर्च कमिटी अलमलमा परेको कारण बैठक बस्न नसकेको बताइएको छ।

स्रोतका अनुसार कुलपतिको सल्लाहबमोजिम सिफारिस गरेको नामको आधारमा उपकुलपति बनाउने प्रायः निश्चित भएपछि हालसम्म बैठक बस्न नसकेको हो। आगामी भदौ ५ गतेदेखि त्रिविसहित सात विश्वविद्यालयका उपकुलपतिको पद रिक्त हुँदैछ।

सातै विश्वविद्यालयमा उपकुलपति छनौट गर्न सर्च कमिटी गठन गर्नुपर्ने अवस्थामा अहिले त्रिविका लागि मात्रै कमिटी गठन भएकोे हो।
अबको नौ दिनपछि त्रिभुवन, नेपाल संस्कृत, कृषि तथा वन, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति रिक्त हँुदैछन्।

नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) को सहमतिमा सातवटै विश्वविद्यालयका उपकुलपति छनौट हुने भएको छ।

अहिले नेकपाको दुई तिहाइ बहुमतको सरकार भएकाले सबै विश्वविद्यालयमा नेकपानिकट प्राध्यापकलाई उपकुलपति बनाउने तयारी भैरहेको छ।

प्रकाशित मिति: : 2019-08-14 07:27:04

प्रतिकृया दिनुहोस्