राजनीतिले क्लिनिक चौपट भएपछि डाक्टर सांसदले दिए राजीनामा

समाजवादी पार्टी नेपालका संघीय सांसद डा.सूर्यनारायण यादवले एक्कासि पदबाट राजीनामा दिएका छन्। सभामुख कृष्णबहादुर महरा समक्ष उनले सोमबार राजीनामा बुझाएका हुन्।

जनकपुरमा रहेका यादवले स्वास्थ्य समस्या भएको भन्दै प्रतिनिधिमार्फत् राजीनामा बुझाएका हुन्।

‘सप्तरीका माननीयको राजीनामाको चिठ्ठी हिजो सभामुखज्युले प्राप्त गर्नु भएको छ। स्वास्थ्य समस्या भएको कारणले जिम्मेवारी अघि बढाउन सक्ने अवस्थामा नभएको बताउनु भएको छ,’ सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले नेपालखबरसँग भने, ‘राजीनामा दिने सांसदसँग भेटेर कुराकानी गरेपछि मात्रै सभामुखज्युले के गर्ने भनेर निर्णय गर्नु हुनेछ।’

पेशाले चिकित्सक यादवले आफू मधुमेह र उच्च रक्तचापको बिरामी भएको जनाउँदै राजीनामा दिएका छन्।

तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार उनी सप्तरी–१ बाट निर्वाचित सांसद हुन्। समाजवादी पार्टी नेपालमा संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाका अनुसार डा.यादवले पहिलेदेखि नै स्वास्थ्यमा समस्या भएको तथा पेशा र राजनीतिलाई सँगसँगै लैजान अफ्ठ्यारो भइरहेको गुनासो गर्दै आएका थिए।

प्रकाशित मिति: : 2019-08-13 15:35:05

प्रतिकृया दिनुहोस्