प्रदेश १ को प्रदेशसभा लगातार दोस्रो दिन अवरुद्ध

फाइल तस्बिर

प्रदेश १ को प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुधबार पनि अवरुद्ध गरेको छ ।

प्रदेशसभामा मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक कार्यसूचीमा राखेपछि कांग्रेसले लगातार दोस्रो दिन बैठक अवरुद्ध गरेको हो । बुधबार बैठक अवरुद्ध भएपछि अर्को बैठक असोज ५ गतेका लागि बोलाइएको छ ।

 बैठक सुरु हुनेवित्तिकै कांग्रेस प्रमुख सचेतक केदार कार्कीले उक्त विधेयक फिर्ता गर्नुपर्ने र नगरे बैठक अवरुद्ध गर्ने चेतावनी दिएका थिए ।मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयकको प्रतिवेदन सोमबार सामाजिक विकास समितिले बहुमतले पारित गरेको थियो । तर, कांग्रेसले उक्त प्रतिवेदन अहिलेकै अवस्थामा पारित गर्न नहुने भन्दै नोट अफ डिसेन्ट लेखेको थियो ।

कांग्रेसले विधेयकमा समावेश गरिएको बोर्ड अफ गभर्नस नियुक्ति प्रक्रिया र मनमोहन पोलिटेक्निक कलेजका सञ्चालकलाई संरक्षक बनाउने लगायतका प्रावधानमा असहमति जनाउदै आएको छ ।

बहुमतका आधारमा समितिले प्रतिवेदन पारित गरेको मनमोहन विश्वविद्यालयसम्बन्धी विधेयक संसदबाट पनि बहुमतकै आधारमा पारित गर्ने नेकपाको तयारी छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले भने प्रतिपक्षलाई पनि साथमा लिएर सहमतिको आधारमा विधेयक पारित हुने दाबी गरे ।

प्रकाशित मिति: : 2019-09-18 16:17:56

प्रतिकृया दिनुहोस्