बीमामा विकृति : रकम हत्याउन आफन्तकै हत्या

काठमाडौं: अघिल्लो महिना रौतहटका रामकिशोर यादवले आफ्नै नाबालक छोरीको हत्या गरे। कारण थियो बीमा। उनले पहिले नाबालक छोरीको बीमा गरे, अनि हत्या। हत्यापछि बीमा रकम दाबी गरे।

पोखराका रमेश नेपालीले पनि एक करोड कमाउने लोभमा श्रीमतीको हत्या गरे। कारण थियो बीमा रकम हत्याउनु। हत्यापछि बीमा बापतको १ करोड रुपैयाँ दाबी गरे।

१० वर्ष अगाडि गोविन्द आचार्यले आफ्नै श्रीमतीको हत्या गरेर २५ लाख रुपैयाँको दाबी भूक्तानी लिन खोजे। तर रकम लिन नपाउँदै प्रहरीको फन्दामा परे।

केही वर्ष अगाडि एक अनाथाश्रमले बालकको बीमा रकम प्राप्त गर्न नियोजित रुपमा नाबालकलाई छतबाट खसालेर हत्या गर्‍यो। तर बीमा समितिले बीमा रकममाथि अनाथाश्रमको दाबीलाई अस्वीकार गरिदियो।

विगत केही समययता बीमा बापतको रकम हत्याउने लोभमा यसप्रकारका अपराध बढ्न थालेका छन्।

बीमामा यस्तो विसंगति बढ्न थालेपछि बीमा समितिलाई टाउको दुखाइको विषय बन्न थालेको छ।  सामाजिक अपराधका यस्ता घटनातर्फ समितिले सचेत भई अध्ययन गरिरहेको दाबी गरेको छ। गलत नियतले गरिएका यस्ता शंकास्पद दाबीलाई आफूहरुले रोक्दै आएको बीमा समितिका उप निर्देशक साम्बराज लामिछानेले दाबी गरे।

खासमा बीमा कम्पनीहरुले अण्डर राइटिङमा कडाइ नगर्दा परिवारकै सदस्यको हत्या गरेर पैसा कमाउने अपराधी नियत मौलाएको बताईन्छ।

रौतहटमा बीमाको रकम पाउन आफ्नै छोरीको हत्या

गत असार १६ गते रौतहटका रामकिशोर राय यादवले आफ्नै चार वर्षीया छोरी लक्ष्मीकुमारी यादवको हत्या गरे। हत्या गर्नु एक महिना अगाडि उनले प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा २५ लाख रुपैयाँको बीमा गराएका थिए।

लक्ष्मीको शव पोखरीमा भेटिएपछि प्रहरीले हत्या भएको शंका गर्दै छानविन गर्‍यो। छानबिनको क्रममा बीमाको लागि हत्या गरिएको प्रमाणित भयो। उनले जेठ १९ गते नियोजित रुपमै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा २५ लाख रुपैयाँ पाउन बीमा गराएका थिए। उनले पहिलो किस्ता बापत कम्पनीमा पौने दुई लाख रुपैयाँ बुझाएका थिए। हत्यारा बाबुले कान्छी छोरीको हत्या गरेर २५ लाख रुपैयाँ पाउने लोभमा यस्तो आपराधिक कार्य गरेको स्वीकार गरिसकेका छन्।

प्रकाशित मिति: : 2019-08-11 18:51:22

प्रतिकृया दिनुहोस्