रिचार्ज काठमाडौं अभियान : एक घर, एक इनार अनिवार्य नयाँ घर बनाउँदा रिचार्ज सिस्टम अनिवार्य

घट्दो भूमिगत पानीको सतह र पानीको समस्या कम गर्न काठमाडौं महानगरपालिकाले ‘रिचार्ज काठमाडौं’ अभियान सुरु गर्ने भएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले अभियान सुरु गर्न सरोकारवाला निकायसँग छलफल थालेको छ । 

चालू आर्थिक वर्षबाटै अभियान सुरु गरिने विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । ‘चालू आर्थिक वर्षमा करिब एक करोड बजेटसमेत विनियोजन भएको छ  । अहिले हामी जनचेतना जगाउने अभियानमा छौँ,’ उनले भने, ‘जनचेतनाले मात्रै हुँदैन । स्थानीयलाई कसरी अभियानमा सहभागी गराउने भन्ने विषयमा समेत छलफल भइरहेको छ ।’ 

रिचार्ज काठमाडौं अभियान आकाशेपानीलाई इनारमार्फत जमिनमुनि पठाउने कार्यक्रम हो । इनारको पानी प्रयोग गर्नसमेत मिल्ने भएकाले दुईवटा फाइदा रहेको महानगरले जनाएको छ । ‘हामीले आकाशबाट परेको पानीलाई छतबाट सडकमा पठाउँछौँ । जसका कारण सडक पनि बिग्रन्छ, खोलाको सतह बढ्छ र जमिनले पनि सोच्न पाउँदैन,’ श्रेष्ठ भन्छन्, ‘इनारमार्फत आकाशको पानी जमिनमुनि पठाउँदा भूमिगत पानीको सतह पनि बढ्छ र प्रयोग गर्न पनि मिल्छ ।’

 महानगरले सहयोग गर्ने
महानगरले अभियानअन्तर्गत एक घर एक इनार कार्यक्रम लागू गर्न स्थानीयलाई सहयोग गर्ने योजना बनाएको छ । आकाशेपानीलाई इनारमा जम्मा गर्न स्थानीयलाई सहयोग गर्ने श्रेष्ठले बताए । ‘छतबाट इनारमा पानी जम्मा गर्न हामीले पनि सहयोग गर्छौं, जनताले पनि केही लगानी गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘मेलम्ची कहिले आउँछ टुंगो छैन । भूकम्पका कारण पानीको सतह घटेको छ । ट्यांकरको पानी किनेर प्रयोग गर्नुपर्ने बाध्यताबाट केही हदसम्म छुटकरा पाइन्छ ।’ 

 नयाँ घर बनाउँदा रिचार्ज सिस्टम अनिवार्य
महानगरको तथ्यांकअनुसार अहिले काठमाडौंमा दुई लाख ७५ हजार घर छन् । प्रत्येक घरबाट पाँच हजार लिटर पानी जम्मा गरेर जमिनमुनि पठाउन सकिने महानगरको भनाइ छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा घर बनाउँदै पानी रिचार्ज सिस्टम जडानलाई अनिवार्य गर्ने विषयमा छलफल भइरहेको श्रेष्ठले जानकारी दिए । ‘नयाँ घर बनाउनेलाई आगामी आर्थिक वर्षदेखि नै रिचार्ज सिस्टम जडान अनिवार्य गर्ने विषयमा जनप्रतिनिधिसँग छलफल भइरहेको छ,’ उनले भने, ‘हाम्रो अभियान नै एक घर एक इनार हो ।’ 

प्रकाशित मिति: : 2019-08-11 07:29:16

प्रतिकृया दिनुहोस्