आम निर्वाचन– २०७९

प्युठान जनमाेर्चालाई दिन्नाैँ– डा. गोविन्दराज पोखरेल (अन्तर्वार्ता)

आगामी मंसिर ४ गतेकाे लागि प्रदेश र संघकाे निर्वाचन मिति तोकेसँगै विभिन्न राजनीतिक दलका नेताहरू तथा स्वतन्त्र उम्मेदवारहरूले प्रतिस्पर्धा गर्ने आकांक्षा देखाइरहेका छन्। आकांंक्षा राख्नेहरू कतिपय नयाँ अनुहार छन भने अधिकांश पुरानै नेताहरू छन्। विशेषगरी यसपटककाे निर्वाचन युवा पुस्तामा पनि प्रभाव धेरै पर्ने देखिन्छ।

यही चुनावी माहोल तातिरहेको बेला प्रतिनिधि सभामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेकाे प्युठानमा गठबन्धन तर्फका आकांक्षी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलसँग बिएल नेपाली सेवाका लागि ध्रुब बस्यालले गरेकाे कुराकानीकाे सम्पादित अंश प्रस्तुत छ:


तपाईंले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने भन्ने कुरा आइरहेको छ, प्युठानबाट कांग्रेसको उम्मेदवार तपाईं नै हाे भनेर बुझ्दा हुन्छ ?

म अहिले नै नेपाली कांग्रेसको आधिकारिक उम्मेदवार त होइन। अझै पार्टीले निर्णय गरेको छैन तर यो भन्दा पहिलेको प्रतिनिधि सभा निर्वाचनको उम्मेरदवार रहेकाले म नै हुन्छु भनेर आत्मबल रहेकाले आकांक्षा राखेको हुँ। इच्छा सबैले राख्न पाउनुपर्छ, त्यही भएर राखेकाे छु। संगठनिक निमार्णदेखि प्युठानको समग्र विकास परिवर्तन गर्न सक्छु भन्ने लागेर मैले आकांक्षा देखाएको हुँ। मैले मात्र होइन हाम्रो संगठन र अन्य राजनीतिक दलका नेताहरुले पनि आकांक्षा देखाउनुहोला स्वभाविक हो। त्यसमध्येको म पनि एक आकांक्षी हुँ।

तपाईं त वाम लोकतान्त्रिक सत्ता गठबन्धनभित्रको एउटा जिम्मेवार नेता र कांग्रेसको केन्द्रीय सदस्य पनि हुनुहुन्छ, के गठबन्धनभित्र तपाईंको उम्मेरदवारीबारे छलफल भएको छ ?

गठबन्धनमा यस विषयमा अझै छलफल भएको छैन। तर, स्थानीय तहको निर्वाचन मत परिणाम अनुसार गठबन्धनभित्र प्युठानमा सागठनिक रुपमा कांग्रेस पहिलो दल रहेको सबैलाई अवगत नै छ। राष्ट्रिय जनमोर्चाभन्दा केही मत धेरै छ भने माओवादी केन्द्रकाे भन्दा दोब्बर मत बढी छ। त्यस्तै २०७४ सालको चुनावमा ३१ हजार मत लिएका थियौँ। त्यही मत परिणामका आधारमा मेरो र नेपाली कांग्रेसको उम्मेदवारीको आकांक्षा रहेकाे छ।

गठबन्धनको निर्णय त जुन ठाउँमा पहिला जसले जितेकाे थियाे त्यहाँ अहिले पनि उही भन्ने छ, त्यसाे हुँदा प्युठान त जनमाेर्चाकाे भागमा पर्नु पर्ने हाेइन र ?

स्थानीय तहको निर्वाचन परिणाम, अहिलेको परिस्थिति र संगठन सबै हेरेर चुनावमा जाने भनिएको छ। सिधैं पहिले जितेको दललाई दिनुपर्छ भन्ने छैन। मुख्य गरेर स्थानीय गतिविधिलाई हेरेर दिने भन्ने रहेको छ। त्यसैले अहिलेको गठबन्धन भित्रको निर्वाचनमा पनि प्युठानको सन्दर्भमा सबैभन्दा धेरै मत लिने हामी नै हाैँ। पूर्व निर्वाचनमा बाम गठबन्धनसँग एक्लै चुनाव लड्दा पनि सन्ताेषजनक मत प्राप्त गरेकाे हुँ। गठबन्धन गरेर चुनाव लडेपछि हार्नेभन्दा पनि जित्ने उम्मेरदवार राख्नुपर्ने भएकाले हाम्रो मतभारका आधारमा नेपाली कांग्रेस मजवुत छ। त्यसैले नेपाली कांग्रेसको आकांक्षी उम्मेरदवारले पाउनुपर्छ भन्ने मेरो दाबी हो।

तपाईं शेखर कोइरालाकाे पक्षमा हुनुहुन्छ, त्यसैपनि काेइराला पक्षलाई गठबन्धन विरोधि समूह भनिन्छ, के तपाईं गठबन्धन विरोधी हो ?

महाधिवेशनमा लाेकतान्त्रीक प्रक्रियामा म शेखर कोइराला समूहबाट प्रतिनिधि बनेर लडेको हुँ। महाधिवेशनपछि हामी र हाम्रो पार्टी नेपाली कांग्रेस हो। हाम्रो सभापति/महामन्त्री एउटै हुन्। लोकतान्त्रीक पद्धतिको रक्षाका लागि हाम्रो समूह छुट्टिएकाे हाे तर म हाल चलिरहेको गठबन्धनको विरोधी होइन। यसरी गठबन्धन गरेर जानु राजनीतिक रुपमा त्यति उचित हाेइन भन्ने धारणा मैले व्यक्तिगत रूपमा पहिलादेखि नै राखिरहेकाे छु। तर, नेपाली कांग्रेसको केन्द्रीय समितिले सर्वसम्मत गरेको निर्णयविरुद्ध जानुहुँदैन। प्रष्टभन्दा अहिले गठबन्धनसँग मेरो आपत्ति हाेइन/ छैन।

टिकट बाडँफाँड गर्दा गठबन्धनको मर्मभित्र रहनुपर्ला, जिल्ला पार्टीसँग समन्वय गर्नुपर्ला तर तपाईंले त सिधैं केन्द्रबाटै टिकट मागेको जस्तो देखिनुहुन्छ नि ? कसैगरी टिकट पाउनु नै भयो भने पनि कांग्रेस प्युठानका अन्य आकांक्षीहरूले भोट माग्दै हिँड्लान् ?

यो कुरालाई त्यसरी बुझ्नु गलत हो। मैले केन्द्रबाट नै सिधैं टिकट मागेको भन्न मिल्दैन। मेरो महत्व प्युठानी जनताले बुझेका छन्। नेपाली कांग्रेसबाट मेरो उम्मेदवारी रहन्छ, दाबी मात्र गरेको हुँ, यस्तो सबैले गर्छन्। कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसमा फरक रहला मलाई प्युठानका जनताले बुझेका छन्। आकांक्ष त सामाजिक संञ्जालमा समेत राखेको देख्न सकिन्छ। आफनो धारणा, विचार राख्न पाइन्छ।

मेराे पार्टीको निर्णयविपरीत बागी उम्मेदवार रहँदैन, जहाँसम्म लाग्छ मलाई पार्टीले चिनेको छ, उम्मेरदवारी पाउँदिनँ भन्ने कल्पनासमेत गर्न सक्दिनँ। अब अन्तिम निर्णय पार्टीले गर्छ।

तपाईंलाई प्युठानका जनताले टुरिस्ट उम्मेदवार हाे, चुनावमा मात्रै गाउँ आउने गर्छ भन्ने गर्छन्, यसबारे तपाईकाे धारणा के छ ?

प्युठानका हरेक निर्वाचन जिते पनि, हारे पनि म हरेक क्षेत्रमा पुगेको छु, आपत विपत पर्दा सामेल भएकाे छु। संगठन विस्तारमा प्युठानमा धेरै खट्ने मध्ये म पर्छु। काठमाडाैँ आएर विभिन्न मन्त्रालय पुग्ने प्युठानको विकास र जनताका व्यक्त्तिगत समस्यालाई समेत सम्वोधन गरेको छु। जसले मलाई टुरिस्ट देख्छ उनीहरु कुण्ठाबाट ग्रसित अराजकहरु हुन। जिल्ला पुग्ने र संगठन र जनताकाे बारेमा काम गर्ने नेपाली कांग्रेसको म नै मुख्य पात्र हुँ।

तपाईंंका समर्थकहरूले सामाजिक सञ्जालमार्फत् अहिलै प्रचार गर्न थालिसेका छन्, त्यसो त तपाईमा आकांक्षा छ, अब भन्नुहोस् तपाईंको उम्मेरदवारी किन र के–का लागि ?

हाम्रो प्युठान एउटा भौगोलिक रुपमा निकै सम्पन्नशाली रहेको छ। मेरो उम्मेदवारी देशकाे उन्नती, विकास र प्युठानको समृद्धिको लागि हाे। मैले राष्ट्रिय आयोगमा हुँदा जिल्लाको भौगोलिक पूर्वधार र अन्य विकासको लागि गरेकाे योगदान जनतालाई अवगत छ। प्युठानलाई काम गरेर राष्ट्रियस्तरमा चिनाउनका लागि काम गर्नुपर्छ। प्युठानलाई आजसम्म जितेर काम गरेका नेताहरुमध्ये राम्रो गर्ने छु। मेरो प्रतिवद्धता यही रहन्छ।

प्रकाशित मिति: : 2022-08-11 21:00:00

प्रतिकृया दिनुहोस्

    यसपटकको चुनावमा डा. पोख्रेलको जीत निश्चितछ किनभने #उहा दक्ष विज्ञ र शहासी उर्जाशिल व्यक्तित्व हुनुहुन्छ # जनताका समस्या के हुन र ति समस्या कसरी समाधान गर्ने भन्ने बिषयमा उहा लाई स्पष्ट हुनुहुन्छ # योजना आयोगको उपाध्यक्ष समेत भैसकेको व्यक्तिले जिल्लाको विकासका लागि आर्थिक स्रोत जुटाइ त्यसको व्यबस्थान गर्ने क्षमता उहामा देखिन्छ त्यसैले मिङ्सिर ४ गतेमा हुनगैरहेको प्रतिनिधि सभाको निर्वाचनमा प्युठानमा रुखमा मतदान गरि डा. गोबिन्दराज पोख्रेललाई विजय बनाउनु नै अहिलेको प्युठानी जनताको कर्तव्य हो र हुनुपर्छ । धन्यवाद

    • एक बर्ष अगाडि
    • Adhikari