अख्तियारको बयान सुस्त, पूर्वमन्त्रीलाई बयानका लागि बोलाइएन

काठमाडौं।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा मुछिएका मुख्य योजनाकार शोभाकान्त ढकाल र रामकुमार सुवेदीसँग बयान लिए पनि आरोपित अन्य धेरैसँग बयान लिन ढिलाइ गरेको छ । स्रोतका अनुसार ढकाल र सुवेदीसहित अख्तियारले गत साता १५ जनासँग मात्रै बयान लिएको छ ।
यो प्रकरणमा अख्तियारको बयान प्रक्रिया सुस्त देखिएको हो । अख्तियारले ललिता निवास प्रकरणमा मुछिएका ८६ जना बढीलाई सार्वजनिक सूचना नै जारी गरी बयानका लागि बोलाएको थियो । बयान लिन थालेको तीन साता बितिसक्दा समेत न्यून संख्यामा मात्रै बयान लिइएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

पूर्वमन्त्रीसँग बयान

अख्तियारले पूर्वमन्त्रीहरू छविराज पन्त र डम्बर श्रेष्ठसँग पनि बयान लिएको स्रोतले जानकारी दियो । ‘पूर्वमन्त्रीहरू बयान दिनका लागि गत साता बिहानै आएका थिए,’ स्र्रोतले भन्यो, ‘करिब तीन घण्टा अख्तियारमा बयान दिएर बाहिरिए ।’ चुनावताका बनेको सरकारका मन्त्रीहरूसँग बयान लिइए पनि त्यसअघि राजनीतिक नेतृत्वका रूपमा रहेका मन्त्रीहरूसँग भने अख्तियारले बयान लिन आलटाल गरेको स्रोतले बताएको छ ।
केही दिनदेखि अख्तियारमा नक्कली जग्गाधनी बयानमा आउने क्रम भने बढेको अख्तियारको दाबी छ ।
ललिता निवास क्याम्पभित्र पर्ने बालुवाटारको २ सय ९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा कायम गरेको भेटिएपछि जग्गाधनीसँग पनि बयान लिन सुरु गरिएको छ । अख्तियारले एक महिनाअघि नक्कली मोही खडा भएकाहरूको नाममा सूचना प्रकाशन गरेपछि धमाधम बयानमा जाने क्रम सुरु भएको छ । सरकारले जग्गाधनीलाई मुआब्जा दिई अधिकरण गरिसकेको जग्गा पुनः मालपोत कार्यालयले अनधिकृत व्यक्तिहरूलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको पाइएपछि अनुसन्धान थालेको हो ।

प्रकाशित मिति: : 2019-08-11 07:17:49

प्रतिकृया दिनुहोस्