हङकङमा भएको विशाल लेजर प्रदर्शन के हो ?

तस्बिरः एजेन्सी

एक जना विद्यार्थी नेतालाई गिरफ्तार गरेको विरोधमा सयौं मानिसले हङकङमा “लेजर शो” गरेका छन्। ती विद्यार्थी नेताले “लेजर प्वाइन्टर”को झोला बोकेका थिए। आक्रामक हतियार राखेको भन्दै उनलाई गिरफ्तार गरिएको हो।

प्रहरीले ब्याप्टिस्ट युनिभर्सिटीको विद्यार्थी युनियनका प्रमुख किथ फोङको गिरफ्तारीलाई जायज बताएको छ। उनले बोकेको लेजरले पत्रिका जलाउन सक्छ भनेर प्रहरीले देखायो।

बुधबार राति प्रदर्शनकारीहरू स्पेस म्युजियमको “प्लानेटरियम”मा भेला भए। लेजरको प्रयोग गरेर उनीहरूले बाहिर भएका भवन र रूखमा आगो लगाएको अभिनय गरे। उनीहरूले दर्जनौं लेजर बिम भवनको बाहिरी भित्तामा देखाउँदै “फायर, फायर, नट अन फायर” नारा लगाए।

मंगलबारको सो घटना ट्रोल गर्दै प्रदर्शनकारीले एउटा “प्रो बेइजिङ” समाचारमा दर्जनौं लेजर बिम लगाएर आगो लगाउने प्रयास गरे। तर उनीहरू सफल भएनन्। प्रदर्शनकारीले प्रहरीको आँखा र क्यामेरामा देखाउने लेजर खतरनाक आक्रामक हतियार भएको प्रहरीले जनाएको छ।

प्रदर्शनकारीको उक्त भेला पछि एउटा पार्टीमा र “कार्निभल” मा रूपान्तरण भयो। सहभागीहरूले गीत गाए, नाचे । “प्लानेटरियम”को एकापट्टी हातको छायाँले कठपुतली प्रदर्शन पनि भयो। शहरको स्वतन्त्रतामा बेइजिङको बढ्दो अतिक्रमणविरूद्ध भर्खरै भएका जनविरोधको तनावपूर्ण माहौलभन्दा यो लेजर प्रदर्शन एकदमै भिन्न थियो।

“हामी सबैलाई चाहिएको थियो: आँशु थिएन, रगत थिएन। मात्रै हाँसो, गीत र नृत्य। अर्को पटक घर आउँदा म यो थ्रेड फेरि हेर्नेछु। मेरो शरीरबाट अश्रु ग्याँसको गन्ध आइरहेको हुनेछ। कानमा चित्कार गुञ्जिएको हुनेछ। यो हामीले माया गर्ने शहर हो। त्यसैले हामी यस्तो गर्छौं,” लेखक रायन हो किलप्याट्रिकले ट्वीट गरे।

सामाजिक सञ्जालभरि सबैको यही साझा भावना थियो। केही सातादेखि हङकङमा तनाव जारी छ। प्रहरीसँग भएको झडमा करीब दुई हजार राउण्ड अश्रुग्याँस प्रहार गरिए। स्थानीयलाई तनावबाट केही राहत पनि आवश्यक थियो।

प्रकाशित मिति: : 2019-08-10 08:08:20

प्रतिकृया दिनुहोस्