यस्तो हुँदै छ सागको तयारी

तस्बिरः नयाँ पत्रिका

१५ मंसिरदेखि काठमाडौंमा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) हुँदै छ । १० दिनसम्म चल्ने प्रतियोगिता नेपालमा २० वर्षपछि हुन लागेको हो । प्रतियोगिताका २७ वटै खेलका खेलाडी अहिले अभ्यासमा छन् । भारतमा भएको १२औँ सागमा तीन गोल्ड मेडल मात्रै जितेको नेपाललाई यसपालि घरेलु मैदानमा ठूलो दबाब छ । हरेक दुई वर्षमा हुनुपर्ने प्रतियोगिता २० वर्षमा चारपटक मात्रै भएको छ । करिब चार महिना बाँकी छँदा कस्तो छ सागको तयारी ? प्रकाश कँडेलको रिपोर्ट :

एक हजार दुई सय २२ खेलाडी प्रशिक्षणमा

सागका लागि १२ सय २२ खेलाडी प्रशिक्षणमा व्यस्त छन् । १ साउनबाटै प्रशिक्षणको औपचारिक उद्घाटन भए पनि सबै खेलको प्रशिक्षण १६ साउनदेखि मात्रै थालिएको छ । साग टिम तयारी समितिका निर्देशक महेन्द्रकुमार राईले खेलाडीलाई एक सय ८० प्रशिक्षकले प्रशिक्षण गराइरहेको बताए । २७ खेलमा ६ सय ४४ खेलाडी बन्द प्रशिक्षणबाट फाइनल चरणका लागि छनोट हुनेछन् । जसमा ३३२ पुरुष र ३१४ महिला रहनेछन् । क्रिकेटको प्रशिक्षण भने यही हप्तादेखि सुरु हुँदै छ ।

संरचना निर्माणमा मात्रै यस वर्ष ४९ करोड

राष्ट्रिय खेलकुद परिषद्ले चालू वर्षमा ४९ करोडमा सागका लागि संरचना निर्माण गर्दै छ । परिषद्का वरिष्ठ इन्जिनियर अरुण उपाध्यायका अनुसार गत वर्ष भएको आठौँ राष्ट्रिय खेलकुद र साग तयारीका लागि ६८ करोडका संरचना बनाइएका थिए । 

सातदोबाटोका तेक्वान्दो, कराते हल र स्क्वास कोर्ट, मूलपानीको माथिल्लो क्रिकेट मैदान, कीर्तिपुर मैदान, सातदोबाटो तथा पोखराका लनटेनिस कोर्ट, राखेप कभर्डहल र पोखरा कभर्डहलको निर्माण पूरा भइसकेको छ । त्यस्तै, दशरथ रंगशाला र सातदोबाटोमा हिटिङ स्विमिङ पुल निर्माण सकिने चरणमा छ ।  

‘गत वर्ष र यस वर्ष गरी एक अर्ब १७ करोडका संरचना तयार हुँदै छन्,’ उपाध्यायले भने, ‘प्रदेश ५ मा अधिकांश संरचना बनेका छन् । काठमाडौं र पोखरामा पनि बनिरहेका छन् । १५ कात्तिकसम्म सम्पूर्ण संरचना तयार हुन्छन् । संरचनाकै कारण सागमा कुनै कठिनाइ हुँदैन ।’ 

प्रकाशित मिति: : 2019-08-10 07:53:34

प्रतिकृया दिनुहोस्