संस्मरण

यसरी टुट्यो मेरो नेपाली ‘सलिम–जावेद’ बन्ने सपना

जीवनमा मेरो एउटा ठूलो इच्छा थियो, सिनेमाको हिरो बन्ने। किशोर अवस्थामा म जति आफूलाई ऐनामा हेर्थे समकालीन कुनै नायकभन्दा आफूलाई कम आक्दिन्थे। मलाई लाग्थ्यो, उनीहरु भन्दा के कुरामा म कम छु र! भलै अरुलाई मेरो दावीप्रति खासै रुची थिएन। तर मेरी आमा मलाई संसारकै बिछ्ट्टै सुन्दर देख्थिन्। 

तर मेरो दुर्भाग्य, मलाई औधी माया गर्ने मेरी आमाको अल्पायुमै निधन भयो। यसपछि मेरो औसत अर्थात कुरुप अनुहार र होचो कदको तारिफ गर्ने यो संसारमा कोही भएन। यद्धपि किशोरावस्थादेखि सिनेमाको हिरो बन्ने मेरो रहर भने यथावतै थियो। मलाई मन नपराउनेहरु ‘अनुहार न दनुवारको मान्छे’ सिनेमाको हिरो बन्छु भन्छ भन्दै खिसी उडाउँने गर्थे। 

तर मेरो मन राख्न केही साथीहरु मलाई सहानभुति देखाउँदै भन्थे– हिन्दी फिल्ममा ऒम पुरी पनि त सफल भएका छन् नि। यद्धपि उनीहरुको सोच मलाई निरास नपार्ने नै हुने गर्दथ्यो तर इसारा चै मेरो औसत अनुहार मै गएर टिकेको हुन्थ्यो। यसको उदाहरण ओम पुरीसँगको मेरो अनुहारको तुलना नै हो। 

त्यतिबेला नेपाली सिनेमा फ़ाट्ट्फ़ुट्ट बन्ने गर्दथ्यो। त्यसैले नेपाली सिनेमाको क्रेज पनि थामी नसक्नुको थियो। कलाकारको एक झल्को हेर्न पाए भाग्यमानी ठान्ने दर्शकको कुनै कमि नै थिएन। 

मलाई सिनेमाको हिरो बन्ने इच्छा भएर मात्र के गर्ने, हिरो कसरी बनिन्छ भन्ने थाहा थिएन। त्यहीँ समय मेरो सम्पर्क भयो, नेपाली फिल्मका लगानीकर्ता अर्थात सह–निर्माता सुन्दर चित्रकारसँग। 

उनीसँग मेरो लामो संगत भएपछि सम्बन्ध केही गाढा बन्न पुग्यो। सुरुमा मैले किशोरावस्थादेखि मेरो मनमा गाढिएको हिरो बन्ने इच्छाको विषयमा केही बताइन्। तर जसै सम्बन्ध प्रगाढ हुँदै गयो, एकदिन मौका छोपेर ‘जन्म जन्म’, ‘आन्दोलन’ जस्ता चर्चित फिल्म निर्माण गरिसकेका चित्रकारसँग पुरानो वह पोखे– मलाई पनि हिरो बन्न मन छ। उनी त्यतिबेला उनकाे एक साथि ‘निष्ठुरी’ नामको सिनेमा निर्माण गर्दैथिए। 

मेरो कुरा सुनेर उनी दंग परे। तर हामीबीच सम्बन्ध निकै प्रगाढ भइसकेको हुनाले उनले मेरो जीवनको सबैभन्दा ठूलो इच्छा पुरा गरिदिने बचन दिए। त्यसको केही रात म राम्रोसँग सुत्न पनि सकिन। 

सुन्दरले सबैलाई नामको पछाडि ‘राजा’ भनेर सम्बोधन गर्थे। उनको साथिकाे नयाँ सिनेमाको निर्देशक थिए, शम्भु प्रधान। कलाकार भुवन केसी र करिश्मा केसी (हाल–मानन्धर)। 

एकदिन सुन्दरले मलाई सुटिङका लागि तयार रहन आदेश दिए। म त्यसैत्यसै फुरुङ्ग। शुटिङको दिन घरमा सबैलाई ठगेर एउटा बहाना बनाए पिकनिक जाने। 

फिल्मको सुटिङ थियो, जोरपाटीभन्दा केही माथि पैयाँटारमा। सिनेमाको कथाअनुसार केही समय पहिले लन्डनबाट घुम्न आएकी नायिकालाई खलनायकका टट्टुहरुले जिस्काएर हैरान गर्दा नायकले बचाएको हुन्छ। तर त्यो बेला हतारमा उनले नायकलाई धन्यवाद भन्न पाएकी हुदिन्न। 

त्यही धन्यवाद भन्ने सुटिङ पैयाँटारमा थियो। हिरोइन धन्यवाद भन्न हिरोलाई खोज्दै आउँदा एक ब्यक्तिसँग उनको बाटोमा भेट हुन्छ। र बाटोमा भेटिएकै ब्यक्तिले हिरोइनलाई नजिकैको एउटा घर देखाउँदै डाइलग बोल्नुपर्ने सिन थियो– उ त्यो सेतो घर भनेर। 

हिरोइनलाई घर देखाउने त्यही पात्रको अभिनय मैले गर्नुपर्ने थियो। सुन्दरले मलाई नायकको घर देखाएपछि नै कथा सुरु हुने र तपाईको रोल हिन्दी सिनेमाको दीलिप कुमारको जस्तै छ भनेका थिए। 

कथा अनुरुप नै सुटिङ भयो र मैले त्यो दिन पारिश्रमिकबापत एक सय २५ रुपैयाँ पनि पाएँ। 

सिनेमामा मुख देखाउन पाएकोमा म त्यति कै खुसी थिए, त्यसमा पनि पारिश्रमिक पाएको घटनाले मेरो खुसी दोहोरो भएको थियो। मैले सबै साथीहरुलाई जम्मा पारेर भोज नै गरेँ।

त्यतिबेला मेरो गफ सुनेर सबै साथीहरु मन्त्रमुग्ध मात्र भएका थिएनन्, म कुरुपे हिरो बन्न लागेको कुराले केहीलाई जलन पनि भएको थियो। 

रमाइलो कुरा। केही महिनापछि सुटिङ समाप्त भयो र सिनेमा हलमा रिलिज हुनेभयो। म निकै उत्साहित र उत्तेजित भएको थिए। साथीहरु सबैलाई आफ्नो फिल्म देखाउन टिकट नै काटिदिएको थिए। तर हल पुगेर फिल्म हेर्दा त मेरो रोल २० सेकेण्ड मात्र रहेछ।

म त छानाबाट खसे झै भए। तर फ्रिमा फिल्म हेर्न पाएका साथीहरुले भने फिल्मको पर्दामा मेरो अनुहार देख्दा होहल्ला गरे, सिटि बजाए। उनीहरु दंग थिए। म खिस्रिक्क।

पछि घरमा पनि सबैले थाहा पाउनु भएछ। बुवाले दुई चड्कन गालामा हान्नुभयो। यसपछि बुवालाई जिन्दगी फिल्म खेल्दिन भनेर वचन दिनुपर्यो। 
घरमा सिनेमा तिर लाग्दिन भनेर कान समातेर माफी मागे पनि के गर्नु मनबाट कलाकार बन्ने भूत अझैं झरिसकेको थिएन। यसैबीच फेरि अभिनय गर्ने मौका जुर्यो। 

यो मौका कुनै उत्कृष्ट कलाकार भएर जुरेको होइन। फिल्मका नायक र खलनायक दुवै मेरा साथी थिए। त्यसैले कागतालिमा फेरि फिल्म खेल्ने मौका जुर्यो। सिनेमाको नायक नेपाल प्रहरीका पूर्व डीआईजी तथा श्री समुह नामक नाट्य समुहका कलाकार पवन खरेल र खलनायक राजेश तिमिल्सिना थिए। सिनेमाका निर्देशक पनि राजेशका पिता तथा भारतीय फिल्म तथा टेलिभिजन इन्सिटिच्युट (एफटीटीआई) बाट अभिनयमा स्नातक जगन्नाथ तिमिल्सिना थिए। 

जगन्नाथ पुरानो नेपाली सिनेमा ‘मनको बाँध’ का नायक हुन्। उक्त सिनेमाको एक दिन सरस्वती क्याम्पसमा भएको सुटिङपछि मैले फेरि अभिनय गर्ने मौका पाइन् अर्थात् मलाई कसैले सुटिङ गर्न बोलाएनन्। निर्देशक यति रक्सी पिउँथे कि सुटिङको समय क्यामरा र साउण्ड रोल भएपछि एक्सनभन्दा उनी आफूले आफैलाई सम्हाल्न नसकेर भुँइमा पछारिन्थे। 

दुर्भाग्यवस मलाई यो सिनेमाको नाम याद भएन र निर्माताहरुको आपसी कलहको कारण रिलिज पनि हुन् पाएन। धेरैपछि पवनले त्यो सिनेमाको केही तस्वीर देखाएको थियो। तस्वीरमा उ झ्याप्प दारी पालेको र कम्बल ओढेको असफल प्रेमी जस्तो देखिन्थ्यो। यसरी नै एउटा कलाकारको कलाकारिता वयस्क हुन् नपाएर मर्न पुग्यो।

सिने कलाकार बन्ने सपना अनायास तुहिएपछि सुरु भयो, स्क्रिप्ट लेखन अर्थात कथा, पटकथा र सम्बाद लेखनको काम। मैले लेखेको सिनेमाको नाम थियो, जिन्दगी बिक्रीमा (लाइफ फर सेल)। 

थानकोटनजिक बलम्बुको २४ आना जग्गा ३२ लाखमा बेचेर सिनेमामा लगानी गरेका थिए, थानकोटका बासिन्दा भाईराजा महर्जनले। उनलाई सिनेमा बनाएर त्यसको प्रदर्शन गर्ने र नाफा कमाउनेभन्दा पनि नायिकासँग प्रेम गर्ने कुरामा बढी रुची थियो।

हामीसँग कामको कुरा गर्नुपर्यो भने अड्की अड्की र अस्पष्ट बोल्ने महर्जन सिनेमाका महिला कलाकारसँग ‘जता फुल गयो त्यता भमरा जान्छ’ र ‘पानी बिना माछा छ्ट्पटिएको जस्तो तिमी नभए म त्यस्तै हुन्छु’ जस्ता अर्थ न बर्थका मुक्तक सुनाएर बस्थे। महिलाहरु देख्ना साथ उनको मुखबाट रोमान्टिक मुक्तक कसरी आएको होला? त्यो आजसम्म मैले बुझ्न सकेको छैन। 

खलनायकको भूमिका आफै गर्ने सर्तमा निर्माता भएका महर्जनको साथ नायक सुजन कार्की र नायिका गुड्डी सिजापती थिइन। जसोतसो सिनेमा बन्यो तर त्यो सिनेमा बढो ‘डिजास्टर’ अर्थात सुपर फ्लप भयो। पोस्टर टाँसेको पैसा समेत नउठेपछि सिनेमामा लगाउन पाकिस्तानबाट १२ हजारमा मगाएको छालाको ज्याकेट बोकेर महर्जन फेरी आफ्नो पुरानो पेशा कृषिमा मोडिए। 

निर्देशक प्रेम बानियाँले केही समयपछि बागबजारको एउटा लजमा बिष सेवन गरेर आत्महत्या गरे र म अर्थात सिनेमाको लेखकले भने त्यसपछि अर्को सिनेमा लेख्ने मौका पाइन्। यसको अर्थ कसैले लेख्न प्रस्ताव गरेनन्।

त्यो सिनेमा लेखेबापत पाउनुपर्ने ३५ हजार रुपैयाँ मध्ये पहिले पाएको पाँच हजारबाहेक बाँकी ३० हजार लिन मैले ३० हजार पटक नै फोन गरेँ हुँला तर त्यो रकम प्राप्त भएन। नायिका सिजापतीलाई त्यपछि केही टेलिसिरियलमा अभिनय गरेको देखे पनि हाल उनी सक्रिय भएको देखेको छैन। नायक कार्की हाल न्युयोर्कमा छन्। यसरी मेरो नेपाली सिनेमाको ‘सलिम-जावेद’ बन्ने प्रयास पनि खेर गयो।

कतैबाट उचित हौसला नपाएपछि मेरो सिनेमाको कलाकार वा लेखक बन्ने सपना हुर्किन नपाउँदै मर्यो। यदी मैले आफ्नो यात्रालाई सजिलोसँग अगाडि बढाउन पाएको भए आज कुनै अवार्ड समारोहमा एउटा हातले अवार्डलाई उचालेर र अर्को हातले दर्शकदीर्घामा चुम्बन फाल्दै गरेको हुन्थे।

सायद हलिउडमा ओस्कार अवार्ड लिने र ‘बुद्ध वाज बर्न इन नेपाल’ वा ‘यु नो माउण्ट एभरेस्ट’ भनेर भाषण गरिरहेको पनि हुनसक्थे। त्यो नभए पनि राजेश हमाल जस्तै ‘महानायक’ को पगरी गुथेर ठूस्स परेर बसेको हुन्थे। यसरी एउटा कुशल कलाकार र सिनेकर्मी फक्रिन नपाउँदै मर्न गएकोमा देशको मात्र होइन, समग्र सिने क्षेत्र कै हानी भएको मलाई लागेको छ।
 

प्रकाशित मिति: : 2020-12-27 09:37:00

प्रतिकृया दिनुहोस्