तल्लो चमेलिया प्रदेश सरकारले बनाउँछ

तस्बिरः थाहा खबर

साउन २२, २०७६ धनगढी :

सुदूरपश्चिम प्रदेश सरकार गठन भएको डेढ वर्ष पूरा भइसकेको छ। यो अवधिमा अल्पकालीनसहित प्रदेश सरकारले तीनवटा बजेट ल्याइसकेको छ। नीति तथा कार्यक्रम र बजेटमा प्रदेश गौरवका योजना समेटिए पनि हालसम्म प्रदेश सरकारले कुनै पनि प्रदेश गौरवका आयोजना अगाडि बढाउन सकेको छैन।

यो अवधिसम्म कर्मचारी र संयन्त्र अभावले समस्या भइरहेको उनीहरू बताउँछन्। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी प्रदेश गौरवका आयोजना निर्माण गर्ने भनिरहेको छ सरकार। सबैभन्दा बढी बजेट विनियोजन गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि कुनै योजनालाई पूर्णता दिन सकेको छैन। यति लामो समयसम्म किन प्रदेशलाई प्रभाव पार्ने योजनाको निर्माण प्रक्रिया सुरु भएनन् त? यही सेरोफेरोमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोरहासँग थाहा खबरकर्मी भानुभक्त आचार्यले गरेको कुराकानीको सम्पादित अंशः

सबैभन्दा धेरै बजेट तपाईंको मन्त्रालयमा थियो तर, त्योअनुरूप बजेट खर्च गर्न सक्नुभएन भन्‍ने आरोप छ नि?

भौतिक पूर्वाधार मन्त्रालय सबैभन्दा बढी बजेट विनियोन भएको मन्त्रालय हो। हाम्रो बजेट खर्च पनि सबैभन्दा बढी नै भएको छ। अन्य प्रदेशको हाराहारीमै बजेट खर्च भएको छ। हामी कसैभन्दा पनि पछाडि छैनौँ। हाम्रो मन्त्रालयमा मात्रै झन्डै १० अर्बको बजेट हुँदा हामीले साढे सात अर्ब भन्दा बढी खर्च गरेका छौँ।

तपाईंको मन्त्रालयले ६५.७५ प्रतिशत खर्च गरेको छ। त्योभन्दा बढी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ६९.७४ प्रतिशत वित्तीय प्रगति गरेको छ। खर्च कति भयो भन्‍ने कुराभन्दा कहिले र कसरी भयो भन्‍ने कुरा पनि त महत्वको हो नि? तपाईंहरूले यस पटक पनि असारे विकासलाई प्राथमिकता दिनुभयो नि! किन?

गत आर्थिक वर्षमा कार्यालय व्यवस्थापन र कर्मचारी व्यवस्थापनमा हामीलाई समस्या परेको थियो। योजना अध्ययन गरेर फिल्डमा कर्मचारी पुग्दासम्म माघ लागिसकेको थियो। पटक पटक अन्य सञ्चारमाध्यम र  तपाईंसँगको भेटमा पनि मैले यो कुरा राख्दै आएको छु।

हामीले माघको अन्तिम, फागुनको पहिलो साताबाट काम सुरु गरेका हौं। म आफैं पनि असारसम्म काम गर्ने परिपाटी अन्त्य गर्नुपर्छ भन्‍नेमा छु। जेठ मसान्तसम्मको सम्झौता गरेर काम गर्ने हाम्रो उद्देश्य थियो। तर कर्मचारीलगायतका समस्याले हामीलाई असारसम्म पुर्‍याएको हो।

प्रकाशित मिति: : 2019-08-09 14:54:34

प्रतिकृया दिनुहोस्