सेनाको जासुसी संयन्त्रः संसददेखि विप्लवसम्म निगरानीमा

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएयता चारवटै सुरक्षा निकायले विप्लवका कार्यकर्ताको गतिविधिलाई सूक्ष्म रूपमा अनुसन्धान गरिरहेका छन् ।

चारवटै सुरक्षा निकायले आफ्ना गुप्तचर विभाग ‘इन्टेलिजेन्स’ प्रयोग गरेर विप्लवका कार्यकर्ताको सूक्ष्म अध्ययन गरिरहेको सुरक्षा निकायको भनाइ छ ।

यसमध्ये नेपाली सेनाले विप्लव समूहको गतिविधिलाई गम्भीर रूपमा हेरिरहेको सैनिक स्रोतको भनाइ छ । त्यसो त नेपाली सेनाले विप्लवका गतिविधिबाहेक अन्य बेलासमेत सूचना संकलन गर्न सैनिक इन्टेलिजेन्स प्रयोग गर्दै आएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रियअनुसन्धान विभागको तुलनामा सेनाको जासुसी टिमले संकलन गरेको सूचना गोप्य र प्रभावकारी हुने सुरक्षा अधिकारी नै बताउँछन् ।

डीजीएमआई टिम

नेपाली सेनाले आफूसँग १ लाखको हाराहारीमा जनशक्ति रहेको जनाएको छ । देशभरका ७७ जिल्लामै उपस्थिति रहेको नेपाली सेनाको ६० बढी गण र ३० गुल्म छन् ।

यसबाहेक नेपाली सेनाको सूचना संकलनका लागि भन्दै छुट्टै ‘डाइरेक्टोरेट अफ मिलिटिरी इन्टेलिजेन्स’ (डीजीएमआई) विभाग छ । यसको प्रमुखमा हाल सहायक रथी झंकर कडायत छन् ।

डीएमआईले हेर्ने गरेर सेनाको मुख्यालयभित्र १ नम्बर वाहिनी स्थापना भएको छ । यसअन्तर्गत नै रहेर सूचना संकलनकै लागि नेपाली सेनाले पोखरा र सुर्खेतमा समेत दुईवटा गण स्थापना गरेको छ ।

पोखरामा रहेको गणलाई २ नम्बर गणको नाम दिइएको छ भने सुर्खेतमा रहेको गणलाई ३ नम्बर गणको नामांकन गरेको छ । भद्रकालीमा रहेको वाहिनीको प्रमुखमा हाल महासेनानी जनकबहादुर पौडेल छन् ।

गणको प्रमुखमा प्रमुख सेनानीले रहने व्यवस्था रहेको सैनिक स्रोतको भनाइ छ । वाहिनीमा हाल इन्टेलिजेन्सबारे तालिम प्राप्त सय बढी जनशक्ति छन् भने गणमा २ सय ५० जना बढी तालिमप्राप्त जनशक्ति छन् ।

सेनाले इन्टेलिजेन्समा कार्यरत जनशक्तिलाई विदेश तथा तालिम शिक्षालय भक्तपुरमा तालिम दिँदै आएको छ ।

प्रकाशित मिति: : 2019-08-08 17:44:01

प्रतिकृया दिनुहोस्