चिनियाँ राष्ट्रपतिको सम्भावित नेपाल भ्रमण : के हुने हाम्रो मुख्य एजेन्डा ?

सन् २०१७ मा औपचारिक भ्रमणको दिन तोकिनै लाग्दा रोकिएको चिनियाँ राष्ट्रपति शी चिनफिङ्गको नेपाल भ्रमण सन् २०१९ को अक्टोबरमा हुने सम्भावना प्रवल बनेको छ । कर्मचारी र राजनीतिक वृत्तबाट सार्वजनिक रूपमा आउने एकाध टिप्पणीमा पनि भ्रमणका बारेमा धारणा आउन थालेका छन् ।

सबैले ‘उपयुक्त समय’ मा चिनियाँ नेताको नेपाल भ्रमण हुनेछ भनेता पनि चीनका राष्ट्रपति सीले अक्टोबरमा नेपाल भ्रमण गर्नेछन् र केही महत्त्वपूर्ण परियोजना निर्माणका लागि समझदारी हुनेछन् । भ्रमणले बेल्ट एण्ड रोड इनिसिएटिभको (बीआरआई) अन्र्तगतका परियोजना छनौट र कार्यान्वयनको चरणमा भैरहेको ढिलाई अन्त्य गर्नेछ । आफ्नो पहिलो कार्यकालमा दक्षिण एशियाका सबै मुलुकको भ्रमण गरेका राष्ट्रपति शीको दोस्रो कार्यकालमा भने नेपाल भ्रमण प्राथमिकतामा परेको छ । राष्ट्रपति शीको नेपाल भ्रमणले नेपाल र चीनबीचको सम्बन्धमा नयाँ आयाम त थपिने छ नै विश्वको दोस्रो ठूलो अर्थतन्त्र तथा नजिकको छिमेकबाट शीर्ष नेतृत्वको २३ वर्षपछि हुने भ्रमणले नेपालको महत्त्व क्षेत्रीय मुद्दाहरूमा सशक्त हुन जान्छ ।  

गत महिना चीनको दालियानमा आयोजना भएको विश्व आर्थिक मञ्चको बैठकमा सहभागी भएपछि हतारहतार बेइजिङ पुगेका नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दुईवटा महत्त्वपूर्ण बैठक र भेटघाटमा सहभागी भए । दालियानबाट बेइजिङ्ग पुगेकै दिन ग्रेटहल अफ दी पिपल्समा चिनियाँ समकक्षी वाङ्ग यीसँग छलफल गरे भने त्यसको भोलिपल्ट चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरूसँग । 

अधिकारीहरूका अनुसार मन्त्री ज्ञवाली र उनका समकक्षी वाङ्गबीचको मुख्य छलफल राष्ट्रपति शी चिनफिङ्गको नेपाल भ्रमणमा केन्द्रित थियो । गत अप्रिलमा राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणताका पनि शीलाई नेपाल भ्रमणको निम्ता त दिइएको थियो तर नितान्त भ्रमणका बारेमा केन्द्रित रहेर भएको छलफल दुई परराष्ट्रमन्त्री स्तरमै भएको होे । 

स्वाभाविक रूपमा उक्त छलफलमा चीनका तर्फबाट सुरक्षा र भ्रमणका एजेन्डाका बारेमा गहिरो चासो प्रकट भएपछि नेपालले आफ्ना तर्फबाट आश्वस्त पार्ने प्रयास भयो । 

स्रोतहरूका अनुसार अगस्ट महिनाको अन्त्यसम्म चिनियाँ विदेशमन्त्री वाङ्ग राष्ट्रपति शीको भ्रमणको तयारी र भ्रमणका महत्त्वपूर्ण एजेन्डामा छलफलका लागि काठमाडौं आउनेछन् ।

प्रधानमन्त्री ओली उपचारपश्चात स्वदेश फर्केलगत्तै बीआरआई अन्तर्गतका परियोजना छनौट र कार्यान्वयनका लागि नेपालका तर्फबाट गरिने गृहकार्यका लागि छरितो कार्यदल बनाएर अघि बढ्नु उपयुक्त हुनसक्छ ।

सम्भवतः भ्रमणको मिति मध्य अक्टोबरका लागि तय गरिने निश्चितप्रायः छ । अक्टोबर १ जनगणतन्त्र चीन स्थापनाको ७० वर्ष पुगेको अवसरमा बेइजिङ्ग विषेश कार्यक्रमको आयोजना गर्ने तयारीमा रहेको छ भने लगत्तै मध्ये अक्टोबरमा भारतीय प्रधानमन्त्रीको आमन्त्रणमा चिनियाँ सर्वोच्च नेता शीले वाराणशीको भ्रमणमा गर्ने भारतीय सञ्चारमाध्यमहरूले यसअघि नै उल्लेख गरेका छन्, तर चिनियाँ पक्षबाट उक्त भ्रमणका बारेमा पनि केही विवरण सार्वजनिक भएको छैन ।

‘शान्त र शालीन’ भनेर चित्रित गरिने चीनको कूटनीतिका कारण पनि हुनसक्छ उनीहरू गम्भीर विषय परिपक्व नभएसम्म हतारमा प्रतिक्रिया दिन रुचि राख्दैनन् । तसर्थ, चीनमा माओत्सेतुङ्ग पछिका सबैभन्दा शक्तिशाली मानिएका नेता शीको भ्रमण तयारीका लागि चिनियाँ परराष्ट्र मन्त्रालय, नेपालस्थित चिनियाँ दूतावास र हाम्रातर्फबाट पनि आवश्यक संयन्त्रहरू क्रियाशील देखिन्छन् । 

जानकारहरूका अनुसार दुवै पक्षबाट भ्रमणको तयारी कार्य तीव्ररूपमा भैरहेको छ । यद्यपी चीनतर्फबाट निरन्तरको चासो भने नेपालमा बीआरआई फ्रेमवर्कमा परियोजना अघि बढाउनमा किन ढिलो भएको छ भन्ने हो । र अर्को निश्चित के छ भने चिनियाँ नेताको यो पटकको नेपाल भ्रमण स्टप ओभर भने हुनेछैन ।

प्रकाशित मिति: : 2019-08-06 20:56:33

प्रतिकृया दिनुहोस्