हेमकर परिवार हत्याका आरोपी किशोरीलालको अपराधकर्म : उदयदेखि वर्तमानसम्म

२०६२ साल फागुन २३ गते बाँके नेपालगञ्जको सदरलाइनस्थित आफ्नै घरमा हत्या गरिएका दीपक हेमकर परिवारका ५ सदस्यको हत्याका मुख्य आरोपी किशोरीलाल सोनी गत असार २७ गते सर्वोच्च अदालतको आदेशबाट साधारण तारेखमै रिहा भए । सर्वोच्च अदालतद्वारा ‘तत्काल प्राप्त प्रमाणको आधारमा कसुरदार ठहर गर्न सकिएन’ भन्दै उनलाई पछि फैसला बमोजिम हुने गरी साधारण तारेखमा छाडियो । उनलाई साधारण तारेखमा छाडेलगत्तै यस घटनाका पीडित परिवार र अनुसन्धानमा संलग्न प्रहरी नै ‘असुरक्षित’ महसुस गर्न थालेका छन् ।

भारतमा अपराध कर्मको ‘लम्बे लाइन’ बोकेका सोनी रिहा भएलगत्तै रातोपाटीले किशोरीलाल सोनी र घटना विवरण तथा बयान र मुद्दाबारे नेपालगञ्ज नै पुगेर विभिन्न व्यक्तिलाई भेटघाट गरेको छ । घटनामा उनको संलग्नतालाई पुष्टी गर्ने केही आधार तथा हत्यामा को-को व्यक्ति के-कसरी संलग्न थिए भनेरसमेत रातोपाटीले विशेष खोज गरेको छ ।

रातोपाटीकोप्रदेश पाँचका ब्यूरो प्रमुख तेजेन्द्र केसी र विशेष संवाददाता प्रेम सुनारनेपालगञ्ज नै पुगेर विभिन्न व्यक्तिसँग भेटघाट गरेका छन् ।

हेमकर परिवारको हत्या, किशोरीलाल सोनीको अपराध शृङ्खला, उनको उदयदेखि वर्तमानसम्म, भारतमा चलिरहेका केही मुद्दा आदिबारे शृङ्खला प्रस्तुत गर्दैछौँ ।–सम्पादक

तालुमा कपालको रौँ भेट्न मुस्किल छ । उमेर ६७ वर्ष लागिसकेका एक वृद्ध । केही दिनअघि मात्रै जिल्ला कारागार बाँकेबाट रिहा भए ।

सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएपछि बाँके जिल्ला अदालतले यी वृद्धलाई साधारण तारेखमा रिहा गरिदिएको थियो ।

ती वृद्ध थिए, किशोरीलाल सोनी । भारतीय नागरिक किशोरीलाल सोनीमाथि २०६२ साल फागुन २३ गते नेपालगञ्जका सुन व्यवसायी दीपक हेमकरको परिवारका ५ जना सदस्यको हत्या गरी लुटपाट गरेको आरोप लागेको थियो । त्यही मुद्दा पुर्पक्षका लागि थुनामा थिए । तर सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार भन्न मिलेन’ भन्दै उनलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि जिल्ला अदालत बाँकेले उनलाई रिहा गरिदिएको थियो । रिहालगत्तै सोनी भारत पुगे भने भारतमा उनले आफ्ना साथीहरुलाई ग्राण्ड पार्टीसमेत दिइसकेका छन् ।

सामान्य कालीगढ सोनी यसरी होमिए अपराधकर्ममा

लखनउको अदालतमा चलिरहेको मुद्दा, प्रहरीको मिसिल र पेश गरिएको तथ्य तथा प्रमाणलाई आधार मान्ने हो भने किशोरीलाल सोनीको अपराधकर्म करिब ४० वर्ष अगाडिबाट सुरु भएको हो ।

जतिबेला उनी २५÷२६ वर्षका थिए, त्यतिबेला उनी लखनउमै रहेको एक सुन पसलमा सामान्य कालीगढ (सुनका काम गर्ने कामदार) थिए । उनी लखनउको एक धनाढ्य सुन व्यवसायीको सुन पसलमा सुनका गरगहना बनाउने काम गर्दथे ।

सुन पसलमा काम गर्दै गर्दा उनले ती सुन व्यवसायीको सम्पत्ति कति छ र कमजोरी के हो भनेर पत्ता लगाए ।

उनलाई चाँडै धनी बन्ने भूत सवार भयो । केही भाडाका हत्यारा (कन्ट्याक्ट किलर) ल्याएर उनले आफू जुन सुन पसलमा काम गर्थे, त्यही सुन व्यवसायीका छोरालाई अपहरण गरे ।

अपहरणका मुख्य डिजाइनर सोनी भने अपहरणपश्चात पनि कामका लागि त्यही पसलमा गइरहे । यता, छोराको अपहरण भएपछि तनावमा रहेका सुन व्यवसायीसँग मध्यस्थता गर्ने काम भने तिनै सोनीले गरे । यतिसम्म कि उता आफ्नै मालिकका छोरालाई अपहरण गर्न लगाउने र यता ‘भला’ बनेर डिल गर्ने काम तिनै सोनीले गरे । त्यतिबेला पनि तथाकथित अपहरणकारीसँग डिल गरेर फिरौती बुझाउनसमेत उनी आँफै गएको भारतमा चलिरहेको मुद्दाको बयानमा उल्लेख छ ।

तर जब मोटो फिरौती रकम लिइयो, त्यसलगत्तै सोनीकै समूहले ती सुन व्यवसायीको छोराको हत्या गर्यो ।

हत्यालगत्तै प्रहरीसम्म पुगेको उक्त घटनामा पक्राउ परेका केहीले सोनीकै योजना मुताबिक काम गरेको बयान दिए । यद्यपि उक्त घटनामा पनि सोनीले आफ्नो संलग्नताको अस्वीकार गरिरहे । त्यो मुद्दा अहिले पनि विचाराधीन अवस्थामै रहेको छ ।

त्यही घटनाबाट सोनीको अपराधकर्म सुरु भएको देखिन्छ ।

भारतमै सोनीको कर्तव्य ज्यान, चोरी तथा डाँकाका ४ वटा मुद्दा विचाराधीन अवस्थामा रहेका छन् । लखनउ अदालतमा उनीविरुद्धको मुद्दा विचाराधीन अवस्थामै रहेको छ ।

त्यसपछि निरन्तर अपराधकर्ममा जोडिएका सोनीको अपराधकर्म अहिलेसम्म चलिरहेको भारतीय प्रहरीको समन्वयमा काम गरिरहेका एक प्रहरी अधिकारीले रातोपाटीलाई बताएका छन् ।


१३ वर्षमा समातिएका हत्या आरोपीलाई सर्वोच्चले ९ महिनामै ‘छाड्यो’ !


किशोरीलाल सोनी : मजदुरदेखि मालिकसम्म

कुनै दिन अरुको सुन पसलका कामदार रहेका भारत लखनउका किशोरीलाल सोनीको अहिले आफ्नै सुन पसल छ ।

लखनउ सीतापुर रोड प्रियदर्शन कोलोनीमा सोनीको आफ्नै बङ्गला पनि छ । सामान्य परिवारका सोनी अहिले धन्नाढ्य बनेका छन् । कम्पाउन्डसहितको उनको भव्य घरमा सिसिटिभी क्यामरा जडान गरिएको छ । घरमा सुरक्षाको लागि दुईवटा कुकर समेत पालिएको छ । सोनीसँग यतिबेला बैङ्क ब्यालेन्स पनि टन्नै छ ।

सामान्य कामदारको जीवनबाट आफूलाई यति धेरै सफल बनाउनमा भने उनको मेहनतभन्दा पनि अपराधकर्मसँग जोडिएको भारतीय तथा नेपाल प्रहरीको बुझाई छ ।

किशोरीलालको अहिले देखाउने पेशा सुन पसल भएपनि खास धन्दा भने व्यक्ति अपहरण, हत्या र डाँका नै हो भएको प्रहरीको निस्कर्ष छ ।

लखनउकै सीतापुरमा किशोरीलालले आफू काम गर्ने पसलका सञ्चालक राजेश अग्रवाल साँझ पसल बन्द गरेर घर जाने क्रममा गोली प्रहार गरेको प्रहरीको जाहेरमिा उल्लेख छ । त्यसैगरी सितापुरकै ओम प्रकाश त्रिपाठीको हत्या प्रयास गरेको मुद्दा पनि लखनउ अदालतमा चलिरहेको छ ।  

उनीमाथि भारतमा ४ वटा मुद्दा विचाराधीन अवस्थामा छ भने नेपालमा पनि नेपालगञ्जका हेमकर परिवारका ५ जनाको हत्याको आरोपमा मुद्दा चलिरहेको छ ।

प्रकाशित मिति: : 2019-08-05 17:54:44

प्रतिकृया दिनुहोस्