के गर्दै छन् बैङ्किङ कसुरका डन ? सीआईबी भन्छ– पक्राउ गर्न गाह्रो छ

काठमाडौँ । बैङ्किङ कसुरका अभियुक्तहरु धमाधम पक्राउ परे पनि संस्था डुबाउने गरी ठूलो घोटाला गर्ने ‘डनहरु’ भने अझै फरार छन् । क्यापिटल मर्चेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडलाई डुबाएर फरार पवनकुमार कार्की अहिले अमेरिकामा छन् । उनलाई पक्राउ गर्न प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रेड कर्नर नोटिस नै जारी गरेको छ । तर उनी पक्राउ परेका छैनन् । 

कार्कीलाई पक्राउ गर्न ३ वर्षअघि सीआईबीले रेड कर्नर नोटिस जारी गरेको थियो । इन्टरपोलमार्फत त्यस्ता अभियुक्त पक्राउ गर्न प्रहरी लागे पनि सफल भएको छैन । कार्कीले १ अर्ब २२ करोड रुपैयाँ घोटाला गरेको अभियोग लागेको छ । कार्कीले फाइनान्स कम्पनीलाई अपग्रेड गरेर वाणिज्य बैङ्क बनाउँछु भन्दै लागेका थिए ।

उनले ३८ जनाको नाममा नक्कली फाइल बनाएर रियल इस्टेटको कारोबार गर्दै आएका थिए । उनी २०६८ सालदेखि फरार छन् । कार्की बैङ्किङ कसुरका सबैभन्दा ठूला अभियुक्त हुन् । नेपाल राष्ट्र बैङ्कले समस्याग्रस्त घोषणा गरेको क्यापिटल मर्चेन्टमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ । केही महिनाभित्रै सञ्चालनमा आउने तयारी छ ।  

त्यसैगरी, तत्कालीन सिद्धार्थ डेभलपमेन्ट बैङकका सञ्चालक मधुसूदन सिलवाल पनि पक्राउ परेका छैनन् । सिलवालले सिद्धार्थ कोषको रकम दुरुपयोग गरेको अभियोग लागेको छ । उनले ३ करोड ३४ लाख रुपैयाँ ठगी गरेका छन् । सिलवाल तत्कालीन किष्ट बैङ्क ठगीसँग पनि जोडिएका थिए । सीआईबीले उनलाई एक पटक पक्राउ गरेको थियो । तर, पछिल्लो समय उनी सीआईबीको फरार सूचीमा छन् । 

त्यस्तै, सिद्धार्थ डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र कार्कीलाई भने प्रहरीले पक्राउ गरिसकेको छ । उनले ८ करोड १३ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोग छ ।  कार्की अहिले रिहा भइसकेका छन् । बैङ्किङ कसुरका फरार अभियुक्तहरु विभिन्न देशमा लुकेर बसेकाले सुपुर्दगी कानुन नभएका कारण तिनीहरुलाई पक्राउ गर्न समस्या भइरहेको सीआईबीले जनाएको छ । सिद्धार्थ जनता बैङ्कमा मर्ज भइसकेको छ । किष्ट बैङ्क प्रभुमा समाहित भइसकेको छ ।  

रेड कर्नर नोटिस जारी गरे पनि प्रक्रिया लामो हुने भएकाले तत्काल पक्राउ गर्न नसकिएको सीआईबी प्रवक्ता दीपक रेग्मी बताउँछन् । विदेशमा लुकेर बसेको आशङ्कामा सीआइबीले रेड नोटिस जारी गरेको हो । तर, कुन अभियुक्त कहाँ लुकेर बसेका छन् भन्ने पत्ता नलागेका कारण पक्राउ नपरेका हुन् । 

 अभियुक्तहरुले लुकेर बसेका देशको कानुनी कागजात बनाइसक्ने भएकाले पनि उनीहरुलाई पक्राउ गर्न ढिलाइ भइरहेको निष्कर्ष सीआईबीको छ । उनीहरुलाई कानुनको कठघरामा ल्याउने गर्ने प्रयास गरिरहेको प्रवक्ता रेग्मीले बताए । 

 

प्रकाशित मिति: : 2019-08-04 09:35:38

प्रतिकृया दिनुहोस्