प्रदेश नम्बर २ : भ्रमण भत्ता बापत लाखौँ खर्च, मुख्यमन्त्रीभन्दा राज्यमन्त्री अगाडि

तस्बिरः रातोपाटी

जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्रीदेखि राज्यमन्त्रीहरुसम्मले सेवा सुविधाको व्यापक दुरुपयोग गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले दैनिक भ्रमण भत्ता वापत मात्रै लाखौँ रकम बुझेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

प्रदेश नम्बर २ मा पर्ने ८ जिल्लामध्ये पर्सा देखि सप्तरीसम्मको दुरी करिब ४ सय किलोमिटर मात्र पर्छ । ४ सय किलोमिटर दुरी भएका यी आठ जिल्ला र काठमाडौँ भ्रमण गर्दा करिब २३ लाख खर्च गरेको पाइएको हो ।

प्रदेश नम्बर २ मा मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले दैनिक भ्रमण भत्ता अन्तरगत आर्थिक वर्ष २०७५/०७६ मा मात्रै २२ लाख ९७ हजार २० रुपैयाँ खर्चेका छन् । यसमा सबैभन्दा बढी आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले ३ लाख १९ हजार २ सय ८३ रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेकी छन् ।

त्यस्तै, मुख्यमन्त्री लालबाबु राउतले १ वर्षमा दैनिक भ्रमण भत्ता बापत् मात्रै ३ लाख ८ हजार ७ सय ४० रुपैयाँ बुझेका छन् ।

सबभन्दा कम भ्रमण गर्ने र दैनिक भ्रमण भत्ता लिनेमा उद्योग, वन पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायले ५५ हजार रुपैयाँ लिएका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले २ लाख ७४ हजार ९ सय ९० रुपैयाँ, आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले १ लाख ८५ हजार ५ सय ४० रुपैयाँ, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले १ लाख ३९ हजार ८ सय ३४ रुपैयाँ, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले १ लाख ४ हजार ३ सय ७० रुपैयाँ, समाजिक विकास मन्त्री नवल किशोर साहले १ लाख १८ हजार रुपैयाँ, आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंहले २ लाख ८ हजार ४ सय ३ रुपैयाँ, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रप्रसाद रायले १ लाख ७४ हजार ६ सय रुपैयाँ, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले ६९ हजार ३ सय ७५ रुपैयाँ, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले १ लाख ५७ हजार ६० रुपैयाँ, उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले १ लाख ८२ हजार ७ सय २५ रुपैयाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट दैनिक भ्रमण भत्ताको नाममा रकम उठाएका छन् ।

प्रकाशित मिति: : 2019-08-04 09:28:06

प्रतिकृया दिनुहोस्