८६ वर्षीय वृद्धको सम्बन्ध विच्छेद मुद्दा मिलाएर फेरि विवाह गरिदियौं : इन्दिरा कार्की [अन्तर्वार्ता]

विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की।

प्रदेश १ को एक मात्र महानगर विराटनगर महानगरपालिकाकी उपमेयर छिन्, इन्दिरा कार्की। प्रदेशकै राजधानी रहेको महानगरपालिकाको न्यायिक समितीकी संयोजकसमेत रहेकी उनी सधैंजसो छलफल र अन्तरक्रियामै व्यस्त हुन्छिन्। न्याय सम्पादनमा दुई वर्षको उनको अनुभवबारे उपमेयर कार्कीसँग नेपाल लाइभका विनय बाह्रकोटीले गरेको कुराकानी:
 
तपाईंले नेतृत्व गरेको न्यायिक समितिमा कस्ता प्रकृतिका मुद्दाहरु बढी आउने गर्छन्? 
सबैभन्दा धेरै त जग्गा किचलोकै मुद्दा छन्। एक इन्च जग्गा पनि तलमाथि भयो भने पनि न्यायिक समितिमा आउने गरेका छन्। सुरुसुरुमा सम्बन्ध विच्छेद गर्ने भनेर धेरै आउने गरेका थिए। तर केही महिनायता त्यस्ता प्रकृतिका मुद्दा आउन छाडेका छन्। घर जग्गामा सामान्य विवाद भए पनि न्यायिक समितिमा आउँछन्, त्यस्ता अधिकांश मुद्दा सहमतिमै टुंगिने गरेका छन्। 

हालसम्म कति मुद्दा मिलापत्र गराउनुभयो? 
अहिलेसम्म दुई दर्जनभन्दा बढी मुद्दा मिलापात्र भइसकेका छन्। एउटै मुद्दाका लागि लामो समय लाग्ने भएकाले समयमै नटुंगिन पनि सक्छ। एउटा मुद्दा टुङ्गो लगाउन ९ महिनासम्म काम गरेका छौं। श्रीमान्-श्रीमतीले एक-अर्काको मुख नै नहेर्ने र छुट्टिएर बसेकालाई पनि मिलाएर एकै ठाउँमा बस्ने वातावरण बनाएका छौं। 

कस्ता मुद्दा छन्, जसलाई मिलाउन ९/९ महिना लाग्छ?  
एक जना ८६ वर्षका वृद्धले म श्रीमतीसँग बस्न सक्दिनँ भन्दै सम्बन्ध विच्छेदका लागि निवेदन दिए। श्रीमती पनि ७७ वर्षकी थिइन्। त्यो मुद्दा मिलाउन हामीले धेरै मेहनत गर्‍यौं। उहाहरुको परिवारसँग सहयोग लियौं। छोराबुहारी र छोरीहरुसँग छलफल गरेपछी दुवैलाई सहमतिमा ल्यायौ। र, न्यायिक इजलासमा मिलापत्र गर्‍यौं। त्यसपछि फूलमाला लगाएर दुवैलाई विवाह गरेजस्तै गरी गाडीमा हालेर पठायौं। अहिले हामी उहाँहरुलाई निगरानी गरिरहेका छौं। अहिले धरै राम्रो सम्बन्ध रहेको पनि बुझेका छौं। देख्दा सामान्य देखिने तर जटिल प्रकृतिका यसखाले मुद्दाले धेरै समय लिन्छन्। 

तपाईंलाई असामान्य लागेका अरु मुद्दा केही छन्?
अरु पनि धेरै छन्। जस्तो तलाक दिइसकेपछि सम्बन्ध नै सकिने मुस्लिम दम्पतीको तलाक दिइसकेको मुद्दा पनि मिलाएका छौं। त्यो मुद्दा मिलाउन हामीलाई एक वर्षभन्दा धेरै लाग्यो। उनीहरुको परिवारमै गएर, त्यहीँ बसेर लामो समय पारिवारिक छलफल गरेर मुद्दा मिलायौं। मुस्लिम समुदायका प्रमुखहरुसँगकै परामर्शमा छलफल गर्‍यौं। सहमति भएपछि उनीहरुले मलाई आमा भनेर नै सम्बोधन गरे। अहिले पनि आमा भनेर बारम्बार फोन गरिरहन्छन्। मलाई एकदमै खुसी लाग्छ। यस्तै प्रकृतिका कुनै हालतमा सँगै बस्नै नसक्ने सम्बन्ध भएका मुद्दाहरु करिब आधा दर्जन जति मिलाएका छौं।

प्रकाशित मिति: : 2019-08-04 07:28:23

प्रतिकृया दिनुहोस्