भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै, यस्तो छ संयोग

भारतका विदेशमन्त्री एस जयशंकर

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर यही अगस्ट २१ अर्थात् भदौ ४ गतेबाट काठमाडौंमा हुने दुई दिने नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आउँदै छन् । 

उनी नेपालको संविधान जारी भएको मिति २०७२ असोज ३ गते भन्दा केही घण्टाअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा नेपाल आएका थिए ।उनले त्यतिबेला संविधान जारी नगर्न दलहरुलाई सुझाव दिएका थिए ।

 
 

 

नेपाली नेताहरुले उनको सुझाव अस्वीकार गरेका थिए । जसले गर्दा भारतका तर्फबाट अघोषित नाकाबन्दी लगाइएको थियो । 

त्यतिबेला विदेश सचिवका रुपमा नेपाल आएका जयशंकर गएको मे महिनादेखि भारतको विदेशमन्त्री छन् । विदेशमन्त्रीका हैसियतमा भने उनी पहिलो पटक नेपाल आउन लागेका हुन् । 

आयोगलाई  दुई देशबीचको शक्तिशाली संयन्त्र मानिन्छ । जसले नेपाल र भारतका सबैखाले मुद्दाहरुको बारेमा छलफल गर्नुका साथै थाँति रहेका काम गर्नका लागि मातहतका निकायलाई निर्देशन पनि दिन्छ । 

सन् १९८७ मा बनेको आयोगको तेस्रो बैठक सन् २०१४ मा २३ वर्षपछि काठमाडौंमा नै भएको थियो । चौथो बैठक २०१६ मा नयाँ दिल्लीमा भएको थियो भने अहिले पाँचौ बैठक काठमाडौंमा हुन लागेको हो । 

२०७२ असोजमा नेपालको संविधान बन्नुभन्दा केही घण्टा अघि नेपाल आएका जयशंकर त्यसपछि पनि नेपाल नआएका भने होइनन् ।  नाकाबन्दी सकिएको एक महिनापछि नै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)को एउटा बैठकमा भाग लिन उनी काठमाडौं आएका थिए । 

अहिले हुन लागेको आयोगको बैठकको मामिलामा  जयशंकर सम्बन्धी अर्को एउटा रमाइलो प्रसंग पनि हुने भएको छ ।  २०१६ को अक्टोबर २६ र २७ का दिन नयाँ दिल्लीमा आयोगको चौथो बैठकअघि एजेन्डा बनाउने कार्यमा तत्कालीन विदेश सचिवको हैसियतमा जयशंकर र नेपाली समकक्षी शंकरदास बैरागी खटिएका थिए । 

मन्त्रीको हैसियतमा भने नेपालका परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत र भारतका विदेश राज्यमन्त्री एम जे अकबर सामेल  थिए । 

तर, अहिले नेपालका परराष्ट्र सचिव उनै बैरागी छन् भने जय शंकर चाहिँ मन्त्री भएर नेपालका समकक्षी प्रदीप ज्ञवालीसँग बैठकमा सहभागी हुनेछन् । बैरागीले भने सायद यसपालि पनि एजेण्डा तय गर्न आफना भारतीय समकक्षी विजय केशव गोखलेसँग संवाद गर्नुपर्नेछ ।

प्रकाशित मिति: : 2019-08-04 07:25:42

प्रतिकृया दिनुहोस्