साउदी अरबको नयाँ कानुन, अब महिला स्वतन्त्र

तस्बिरः एजेन्सी

साउदी अरबमा नयाँ कानून लागू भएको छ। अब साउदी महिलाले पुरूष अभिभावकको अनुमतिबेगर यात्रा गर्न, सम्बन्ध विच्छेद गर्न र ‍औपचारिक कागजपत्रका लागि आवदेन दिन सक्नेछन्।

साउदी महिलाले नयाँ कानूनको स्वागत गर्दै पुरातनवादी सोचको प्रतिरोध अब समाप्त हुने बताएका छन्। अभिभावकत्वको कानूनले साउदी अरबका महिलाको लैङ्गिक र सामाजिक भूमिका साँघुरो र सीमान्तकृत बनाउँदै गएको छ।

नयाँ कानूनको धेरै लामो समयदेखि प्रतिक्षा भइरहेको थियो। अहिले यो साउदी अरबको सुधार कार्यक्रमको केन्द्रीय विषय बनेको छ। कठोर कानून र परम्पराले साउदी अरबलाई विश्वकै दमनकारी देश बनाएको छ।

राजधानी रियाधमा नयाँ कानूनबारे महिलाले खुलेर प्रशंसा गरेका छन्। उनीहरूलाई साउदी अरबको पुनर्जन्म बताए। यसले साउदी अरबका महिलाको अवस्थामा धेरै सुधार ल्याउने उनीहरू बताउँछन्।

‘मेरा लागि यसको ठूलो महत्व छ। अब समय आएको छ,’ उमेरले तीसको दशककी महिला अजाहले भनिन्,‘सन् २००० मा बुवा बित्नुभयो। पासपोर्ट नवीकरण गर्दा प्रत्येक पटक समस्या भोग्नुपरेको छ। सन् २०१८ मा कुनै अभिभावक नभई मैले पासपोर्ट नवीकरण गर्न सकें। पासपोर्ट कार्यालयमा एक्लै सङ्घर्ष गर्नु रमाइलो अनुभव हुँदैन। अझ धेरै स्वतन्त्रता आउनेछ भन्नेमा मलाई विश्वास छ।’

‘पुरातनवादीले आँट गरेर कुनै गतिरोध खडा गरे असफल हुनेछन्। भर्खर सुरूवात भएको छ। साउदी अरबका अधिकांश युवा तयार छन्। हो, यात्रा सुमधुर हुने छैन। समानताको लडाइ कहिले पो सजिलो थियो र? तर प्रक्रिया सुरू भएको छ। साउदीको पुनर्जन्म भएको मैले अनुभव गरेकी छु। भविष्य उज्यालो देखिन्छ। हामी उत्साहित छौं र उत्तिकै दृढ पनि।’

प्रकाशित मिति: : 2019-08-04 07:17:18

प्रतिकृया दिनुहोस्