भक्तपुर–नगरकोट सडक निर्माण चर्को दबाबपछि पाँच महिनामा सक्ने प्रतिबद्धता

तस्बिरः गोरखापत्र

भक्तपुर, साउन १९ गते । राजधानी आउने अधिकांश पर्यटकको गन्तव्य भक्तपुरको नगरकोट हुने गर्छ । नगरकोटबाट देखिने हिमशृङ्खलाको स्वाद बेग्लै हुन्छ तर आकर्षक पर्यटकीय नगरी पुग्ने सडक भने वर्षौंदेखि उबडखाबड र खाल्डाखुल्डीले भरिएको छ । 

सर्वसाधारणदेखि रमाउन र खुसी मनाउन आउने पर्यटकले सडककै कारण सास्ती भोग्नु परेको छ । यो अवस्था आउनुको मुख्य कारण हो–सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको चरम् लापरबाही । भक्तपुरको भत्केको पाटीदेखि नगरकोटसम्मको सडक निर्माण कार्यको जिम्मा पाएको नेपाली निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि र भारतीय निर्माण कम्पनी आरावली इन्फ्रा पावर लिमिटेड (एआईपीएल) जेभी हुन् । 

आधा काम गर्नुपर्ने सर्त भए पनि भारतीय कम्पनी अभैm कार्यक्षेत्रमा देखिएको छैन । सडक निर्माणमा ढिलाइ भएपछि नेपालले उच्च महìवका साथ मनाउन लागेको ‘पर्यटन वर्ष २०२०’लाई समेत असर पर्ने देखिन्छ । अलपत्र सडक निर्माणका लागि चाँगुनारायण नगरपालिका, संसद्को विकास समिति र स्थानीयवासीको चर्को दबाबमा सडक निर्माणका लागि पटक–पटक गरी तीन वर्ष समय थप भएको छ । 

त्यति मात्र होइन, लागतसमेत चार करोड ३५ लाख रुपियाँले वृद्धि भएको छ । विसं २०७१ असार २ गते निर्माण सम्झौता भएको थियो । कुल निर्माण लागत ३१ करोड ५२ लाख रुपियाँमा सम्झौता भए पनि लागत चार करोड ३५ लाख थपिएको छ । कम्पनीले २०७३ असार ४ गते नै सडक निर्माण सम्पन्न गर्नुपर्ने थियो तर अहिलेसम्म सडक नबन्दा यात्रुले हैरानी भोग्नु परेको छ । अहिले कुल निर्माण लागत ३५ करोड ८७ लाख रुपियाँ पुगेको छ ।

प्रकाशित मिति: : 2019-08-04 07:07:15

प्रतिकृया दिनुहोस्