जीवित देवीको जिजीविषा : बफ, विज्ञान र बास्केटबल

काठमाडौं, साउन १८ : प्रकृति महर्जनलाई दौंतरीहरूको भीडमा पनि परैबाट मज्जाले चिन्न सकिन्छ। किनकि, उनी अरुभन्दा भिन्न देखिन्छिन्, भिन्न छिन्। उनको पहिरन, केशविन्याश र गाजल लगाउने तरिका सबै भिन्नै छन्। 

उनी हुन्, काठमाडौंको मखन टोलका स्थानीय बासिन्दाले हजारौं वर्षदेखि पुज्दै आएको जीवित कुमारी।

काठमाडौंको वसन्तपुरस्थित कुमारी घरमा पुजिने रोयल कुमारीबारे त तपाईंहरूलाई थाहै होला। राजतन्त्रमा राजा र गणतन्त्रमा राष्ट्रपतिले पुज्ने भएकाले उनी सबैभन्दा चर्चित छिन्। 
तर, काठमाडौं उपत्यकामा एक होइन, अनेकौं जीवित देवी कुमारीहरू छन्। त्यसैमध्ये एक हुन्, प्रकृति महर्जन। 

प्रकृतिलाई २०६३ सालको अष्टमीमा मखन टोलको मखं ज्यापुगुथिले कुमारी नियुक्त गरेको हो। त्यस बेला उनी मुश्किलले दुइ वर्षकी थिइन्। अहिले १४ मा हिँड्दैछिन्। 

अन्यत्रका कुमारी झैं उनलाई पनि पहिलो रजस्वला हुनेबित्तिकै कुमारीबाट हटाइन्छ। र, अर्को कुमारी पदस्थापना गरिन्छ। त्यतिञ्जेलसम्म भने उनी नै मखन टोलकी साक्षात जीवित देवी हुन्। 
रोयल कुमारीलाई राज्यले भत्ता दिन्छ। उनलाई कुमारी घरमै पढ्ने–लेख्ने सुविस्ता छ। तर, अन्यत्रका कुमारीहरूलाई यस्तो सुविधा छैन। उनीहरू अन्य दौंतरीहरू झैं स्कुल जान्छन्।
स्कुल जान र अरु दौंतरीहरूसँग हेलिन पाएकैले हुँदो हो, प्रकृति निकै बाचाल छिन्। उनको दृष्टिकोण पनि फराकिलो छ। समवयी किशोरीहरू झै उनले पनि अनेकौं सपना र रहरहरू सङ्गालेर राखेकी छिन्। 

 

उनी नेपाली समाजको संरचना पितृसत्तात्मक रहेको र महिलाले अझैं पूर्ण रुपले अधिकार पाउन नसकेको तर्क गर्छिन्। फुर्सद मिल्यो कि बास्केटबल खेल्छिन्। 

ब्याडमिन्टन त झन् उनको मन पर्ने खेल हो। र, मन पर्ने खाना हो–बफ। विज्ञान पढेर डाक्टर बन्ने र गरीबको सेवा गर्ने लक्ष्य उनको छ। 

अरुले आफूलाई जीवित देवी मानेर पूजा गर्दा कस्तो लाग्छ त? काठमाडौं प्रेसको प्रश्नमा उनले भनिन्, “त्यो त एउटा बिलिफ (आस्था) हो।”

प्रकृति हाल काठमाडौंको ताहाचलस्थित जनज्योति माविमा कक्षा १० मा पढ्छिन्। अन्य विद्यार्थीको भन्दा उनको पहिरन भिन्न छ। अरु टीशर्ट र ट्राउजर लाउँछन्। उनी भने रातो फ्रक, रातो सुरुवाल र रातै मोजा लाएर स्कुल जान्छिन्।

उनी भन्छिन्, ‘रातो कुमारी देवीको रङ हो र मेरो फेभरेट कलर पनि रातै हो। रातो लुगा लाउन पाउँदा खुशी लाग्छ।’ 

उनको टाउकोको मध्य भागमा रातो रिबन बेरेर ठूलो जुरो बनाइएको छ। बसन्तपुरको रोयल कुमारीलाई जस्तो उनलाई घरबाहिर निस्कनै नहुने बाध्यता छैन। कुमारी भए पनि आफन्त भेट्न जाने, साथीसङ्गीसँग खेल्ने, रमाइलो गर्नेमा उनलाई कुनै रोकताेक छैन। 

तर, उनले केही नियम भने पालना गर्नुपर्छ। लसुन, प्याज, गोलभेंडा, कुखुराको मासु, माछालगायतका केही खानेकुरा बार्नुपर्छ। छालाको जुत्ता लगाउनु हुँदैन।

प्रकाशित मिति: : 2019-08-03 16:15:15

प्रतिकृया दिनुहोस्