कुलेखानीबाट विद्युत् प्राधिकरणले मासिक थप ६० करोड कमाउँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दैनिक २ करोड रुपैयाँ आम्दानी बढाएको छ । कुलेखानी जलविद्युत् आयोजना सञ्चालन गरेर विद्युत् प्राधिकरणले सो आम्दानी बढाएको हो । 

गत असारमै इन्द्रसरोवर जलाशय भरिएपछि विद्युत् प्राधिकरणले कुलेखानी आयोजनालाई अहिले २४सै घण्टा सञ्चालनमा ल्याएको छ । कुलेखानी सञ्चालन गर्दा विद्युत् प्राधिकरणले मासिक ६० करोड रुपैयाँ थप आम्दानी गर्ने भएको छ । साउन र भदौमा १ अर्ब २० करोड रुपैयाँ थप आम्दानी बढाउने भएको छ ।

यो पनि पढ्नुस्

थापा दम्पतिकाे म:म: जस्ताे स्वादिलाे जिन्दगी

कुलेखानी आयोजनाबाट ९२ मेगावाट बिजुली उत्पादन भइरहेको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले कुलेखानीको जलाशयको सतह १ हजार ५२५ मिटर रहेको जानकारी दिए । जलाशयको पानीलाई अझै १० मिटर घटाएर १ हजार ११५ मिटरमा झार्ने तयारी भएको उनले सुनाए ।  

साउन, भदौ र असोज वर्षा हुने समय बाँकी रहेकाले जलाशयको पानी घटाउन २४ सै घण्टा सञ्चालनमा ल्याएको उनको भनाइ छ । वर्षामै कुलेखानी चलाउँदा विद्युत् प्राधिकरणको आम्दानी बढेको घिसिङले बताए । 

अघिल्ला वर्षहरुमा वर्षादमा पानी सञ्चय गरेर मङ्सिरको दोस्रो सातादेखि कुलेखानी आयोजना सञ्चालन हुने गरेकोमा यो वर्ष असारमै इन्द्रसरोवर भरिएपछि वर्षादमा सञ्चालन गरेर आम्दानी बढाएको हो । 

कुलेखानी आयोजनाबाट ९२ मेगावाट बिजुली उत्पादन गर्दा प्रतिघण्टा ३ सेन्टीमिटर मात्र पानी घट्छ । वर्षादले पानीको बहाव बढिरहेकाले आयोजना सञ्चालनमा आइरहेको हो । 

साउनको पहिलो साता पानीको बहाव अधिक बढेपछि ढोका खोल्न विद्युत् प्राधिकरणले सुरक्षा निकाय गुहारेको थियो । 

 

प्रकाशित मिति: : 2019-08-02 19:16:03

प्रतिकृया दिनुहोस्