एकाबिहानै रक्सीले मातेका महानगरका ड्राइभरले जब गाडी उडाए

काठमाडौं सिफलचौरमा शुक्रबार बिहान महानगरपालिकाको फोहोर उठाउने बा १ ग २२९८ नम्बरको गाडीले पार्किङमा राखिएका दुई ट्याक्सीलाई ठक्कर दिएको छ। मदिरा सेवन गरेका चालकको लापरवाहीका कारण भएको गम्भीर दुर्घटनामा कुनै मानवीय क्षति भने भएन।

जयवागेश्वरी मन्दिरसँगैबाट भण्डारखालको जंगल सकिएलगत्तैको मोडमा २ फिट अग्लो माटोको ढिस्को नाघेर गाडी चौर हुँदै अर्को साइडको बाटोमा पार्किङ गरिरहेका ट्याक्सीमाथि चढेको थियो ।

दुर्घटनामा बा १ ज ७७२३ र बा १ ज ४०४७ नम्बरका दुई ट्याक्सीमा ठूलो क्षति पुगेको छ। दुर्घटनाका क्रममा २ फिट अग्लो पर्खाल र ट्याक्सी पार्किङ गरेको ठाउँमा पनि झण्डै त्यति नै अग्लो ढिस्को टायरले समेत नटेकी अधिकांश स्थानमा उडाएको प्रत्यक्षदर्शी रवि मगरले बताए।

गाडी जथाभावी चलाएर नरोकेपछि वरपर रहेका मान्छे भागाभाग गरेर ज्यान जोगाएका थिए। ‘चौरमा स्कुटी सिकिरहेका थिए, थोरैले मात्रै उनीहरुको ज्यान जोगियो,’ मगरले भने, ‘यति गम्भीर दुर्घटना थियो, धन्न कसैको ज्यान गएन,’प्रहरीका असई गणेशबहादुर कार्कीका अनुसार दुर्घटना गराउने चालकले मदिरा सेवन गरेको गन्ध आइरहेको बताए।

प्रकाशित मिति: : 2019-08-02 10:28:24

प्रतिकृया दिनुहोस्