महिनावारी रोकिएपछि महिलाको यौन जीवन किन ओरालो लाग्छ?

Agency

महिनावारी रोकिएपछि धेरै महिलाको यौनजीवन पहिलेजस्तो सन्तोषजनक हुँदैन। तर किन?

उमेरसँगै महिलाको यौन जीवन पनि ढल्किनुमा हर्मोन परिवर्तनको आंशिक भूमिका मात्रै रहेको नयाँ अनुसन्धानले देखाउँछ। महिनावारी बन्द भएपछि धेरै महिलाको योनी सुक्खा हुने, यौन सम्पर्क राख्दा दुख्ने र यौन चाहना घट्नेजस्ता लक्षण देखापर्छ। यी सबै कारणले यौन सम्पर्कको दर र आनन्दमा प्रभाव पार्दछ।

तर धेरै महिलालाई यौन चाहना नहुनु, यौनले आनन्द नदिनु र यौन सम्पर्क राख्न मन नहुनुको पछि जटिल कारण भएको नयाँ अध्ययनले देखाएको छ। कुनै सम्बन्धमा यौन जीवन खस्किँदै जानुमा महिलालाई दोष दिने चलन भए पनि ती महिलाको यौनसाथीको स्वास्थ्यले उनको यौन जीवन कति सक्रिय छ र सन्तुष्ट छिन् भन्ने निर्धारण हुने अनुसन्धानले देखाएको छ। अधिकांश अध्ययन विपरीत लिङ्गीप्रति आकर्षित हुने महिलामा केन्द्रित छन्। त्यसैले महिनवारीपछि समलिङ्गी जोडी पर्ने प्रभावबारे कमै मात्र जानकारी छ।

“महिनावारी बन्द भएपछि यौन चाहनामा नकारात्मक प्रभाव पर्छ, योनी सुक्खा हुन्छ र यौन सम्पर्क पीडादायी हुन्छ भन्ने हामीलाई थाहा छ,” रोचेस्टर, अमेरिकास्थित मायो क्लिनिक सेन्टर फर वुमेन्स हेल्थकी निर्देशक डा. स्टेफनी फबियोले बताइन्। “यौनसाथीको पनि महत्वपूर्ण भूमिका हुने निष्कर्ष निरन्तर आइरहेको छ। यौनसाथीको उपलब्धता मात्रै नभएर उनको शारीरिक स्वास्थ्य पनि महत्वपूर्ण छ।”

बेलायतमा गरिएको डिम्बाशयको क्यान्सर परीक्षणमा २४ हजारभन्दा धेरै महिला सहभागी भएका थिए। मिनोपज नामक मेडिकल जर्नलमा प्रकाशित पछिल्लो अध्ययन त्यही सर्वेक्षणमा आधारित छ।

सहभागीको उमेर ५० देखि ७४ वर्ष थियो। उनीहरूले यौन जीवन सम्बन्धी बहुवैकल्पिक प्रश्नावलीको उत्तर दिएका थिए। तर सर्वेक्षणको डाटा विशिष्ट छ। सहभागीमध्ये चार हजार पाँच सय महिलाले लिखित प्रतिक्रिया पनि दिएका थिए। यसबाट अनुसन्धाताले महिलाको यौन जीवनबारे नयाँ जानकारी पाएका छन्।

प्रकाशित मिति: : 2019-08-02 07:32:27

प्रतिकृया दिनुहोस्