सर्वोच्चका पाँच न्यायाधीश प्रेसमा

तस्बिरः नेपाल समाचारपत्र

सर्वोच्च अदालतले आफ्नो जीवनमा पहिलो पटक बिहीबार पारदर्शिताको नयाँ प्रयोग ग¥यो– प्रधानन्यायाधीशसमेत पाँच न्यायाधीश एउटै मञ्चमा उपस्थित भएर करिब एक सय सम्पादक तथा मिडिया प्रतिनिधिहरुलाई न्यायपालिकाका सम्बन्धमा सम्बोधन गर्नुभयो ।

‘यसअघि पत्रकार सम्मेलन नगरिएको होइन, सर्वोच्चले मिडियाकर्मीहरु भेला गरेर धेरै अन्तरक्रिया चलाएको छ, तर प्रधानन्यायाधीशसहित पाँच–पाँच न्यायाधीश भेला भएर सबाल–जबाफ भएको हाम्रो इतिहासमा पहिलो हो,’ न्यायाधीश ईश्वर खतिवडाले भन्नुभयो, ‘न्यायालयले प्रेस जगत्लाई कति बढी महत्व दिएको रहेछ भन्ने तथ्यका रुपमा यस अन्तरक्रियालाई बुझिदिन अनुरोध गर्दछु ।’

मञ्चमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका साथ न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रकाश श्रेष्ठ र खतिवडा उपस्थिति हुनुहुन्थ्यो । खतिवडाले भन्नुभयो, ‘लोकतन्त्रको सौन्दर्य पारदर्शितामा छ, तर त्यो पारदर्शिता प्रेसको सहयोगविना अपुरो हुन्छ, हामी तपाईंहरुसँग सहकार्यका लागि अनुरोध गर्दछौं ।’

न्यायाधीश खतिवडाले विचाराधीन मुद्दामा ‘मिडिया ट्रायल’ हुनुहुन्न भन्नुभयो । स्वतन्त्र र निष्पक्ष भएर निर्णय गर्नुपर्ने न्यायाधीशलाई मिडियामा प्रकाशित–प्रसारित समाचार–विचारले प्रभाव पार्छ, त्यसैले यस्ता विषयमा कलम चलाउँदा संवेदनशील हुन आवश्यक रहेको उहाँको धारणा थियो ।

‘यसको अर्थ, तपाईंहरु हाम्रा बारेमा लेख्न हच्किनुपर्छ भन्ने होइन, न्यायालयभित्रका कमी–कमजोरी र विकृतिविरुद्ध लेख्नुस्, निर्दयताका साथ कलम चलाउनोस्, मानहानी होला र कारबाहीमा परुँला भनेर कति नडराउनोस्’, खतिवडाले प्रश्न गर्नुभयो– पत्रकारसँग सहकार्य गर्ने न्यायालयले तपाईंहरुलाई अपहेलनाको मुद्दा लगाएर किन टाढा बनाउँछ, अदालतले कति नै पत्रकारलाई अपहेलनाको मुद्दा लगाएको छ र ? उहाँले व्यवस्थापिकामा अपहेलना र मानहानीका विषयमा ऐन बनाउने अधिकार छ, तर आफूले त्यस प्रकारको कानुनको प्राथमिकता अहिलेका लागि नदेखेको विचार व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: : 2019-08-02 07:14:08

प्रतिकृया दिनुहोस्