कर्णाली करिडोरमा कामको रफ्तार, बन्दैछ मानसरोबर जाने सबैभन्दा छोटो बाटो

कर्णाली प्रदेशलाई दक्षिणको भारत र उत्तरको चीनलाई जोड्ने मुख्य सडक हो कर्णाली करिडोर। प्रदेशको विकास र समृद्धिको मुख्य आधार मानिएको कर्णाली करिडोरको काम अहिले तीव्र गतिमा भइरहेको छ। ५१ प्रतिशत भन्दा बढी गरिबीको रेखामुनि रहेको कर्णाली प्रदेश करिडोर सञ्चालपछि कर्णालीवासीको मुहारमा उज्यालो छाउने अपेक्षा गरिएको छ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको तीन देश जोड्ने यो करिडोरको मुख्य बिन्दु कालिकोटको खुलालु हो। कालिकोटको खुलालुदेखि हुम्ला सिमीकोटसम्मको कूल लम्बाई १ सय ९६ किलोमिटर छ। बाँकेको जमुनाह हुँदै कर्णाली राजमार्ग र कालिकोटको खुलालुदेखि हुम्लाको सिमीकोट अनि हिल्सा र मानसरोबरसम्म करिडोरले सिधा सम्पर्क स्थापित गर्नेछ।

कर्णाली करिडोरलाई ‘जमुनाह–सिमकोट–हिल्सा प्रधानमन्त्री द्रुत मार्ग’ समेत नामाकरण गरिएको छ। बाँकेको जमुनाहदेखि हुम्लाको हिल्सासम्मको यो सडकको कूल लम्बाई ५ सय ३० किलोमिटर हुनेछ। यो सडक खण्डबारे चिनियाँ कम्पनीले सर्भे गरेर प्रारम्भिक प्रतिवेदनसमेत सरकारलाई बुझाइसकेको छ। अहिले कालिकोटको जीते बजारदेखि बाजुराको पिलीचौरसम्मको १ सय ३० किलोमिटर छिचोलिएको छ भने यातायातका साधनहरु सञ्चालनमा पनि छन्।

सेनाको भरमा करिडोर

अधिकांश करिडोरको काम नेपाली सेनाकै भरमा चलिरहेको छ। ठूला ठूला पहाड फुटाउनेदेखि लिएर चट्टान ब्लास्ट गर्ने काममा सेना तल्लिन छ। अरुले काम अघि बढाउन नसकेको करिडोरको सेनाले जिम्मा लिइसकेपछि मात्रै काम अघि बढेको हो।

कर्णाली करिडोर कालिकोटको खुलालुदेखि हुम्ला सिमीकोटसम्मको कूल १ सय ९६ किमीमा अहिले काम धमाधम भइरहेको छ। त्यस करिडोर अन्तर्गत कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४३ किलोमिटर र हुम्लामा १ सय १३ किलोमिटर क्षेत्र पर्दछ। कूल १ सय ९६ किलोमिटर सडकको ५१ किलोमिटर खण्ड सडक विभागले र १ सय ४५ किलोमिटर खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ।

२०५७ सालदेखि चर्चामा रहेको कालिकोटको खुलालुदेखि हुम्लाको सिमिकोटसम्मको सडक धेरैपछि मात्रै काम सुरु भयो। राजनीतिक अस्थिरता र दश वर्षे जनयुद्धको समयमा काम नै हुन सकेन। लामो समयसम्म चर्चामा रहे पनि काम भने २०७१ साल चैत ९ गते नेपाली सेनाले निर्माण कार्यको जिम्मा लिएपछि तात्यो। सेनाले जिम्मा लिएको विभिन्न स्थानमा गरी ६९ किलोमिटर सडकमा गाडी हुँइकिन थालिसकेको छ।

नेपाली सेनाको कर्णाली करिडोर निर्माण कार्यदलका अनुसार कालिकोट खण्डको ४० किलोमिटर मध्ये ३८.५ किमी र बाजुरा खण्डको ४३ किमीमध्ये ३१ किलोमिटर सडकमा गाडी गुड्न थालेको हो।

कालिकोटको लालिघाट बजारदेखि बाजुराको हिमाली गाँउपालिकाको लेबडीसम्म सडक निर्माण भइसकेको छ। करिडोर अन्तर्गत गाडी गुडेपछि कालिकोट र बाजुरालाई यातायातले सिधा जोडेको छ।

सेनाले हुम्ला खण्ड अन्तर्गतको ६१ किलोमिटर सडकमध्ये १२ किलोमिटर सडक निर्माण गरिसकेको छ। हाल करिडोरको १ सय ७ किलोमिटरसम्म सडक निर्माणको काम भइरहेको छ। कालिकोटको खुलालुदेखि हुम्ला सिमीकोटमा पर्ने करिब आठ किलोमिटर क्षेत्रको कडा चट्टान फुटाइएको छ।

त्यस्तै, करिडोरको हुम्ला क्षेत्रमा पनि काम द्रुत गतिमा भइरहेको छ। दक्षिणतर्फको कवाडी सलिसल्लामा पनि सेनाले आफ्नो कामलाई तीब्र पारेको छ। बेलाबेलामा प्राकृतिक समस्याले काममा ढिलाइ भए पनि अन्य समयमा भने नेपाली सेनाले भीरमा विष्फोट गर्ने र सडक निर्माण गर्ने कार्य तीब्र पारेको छ। सडक मार्गले नछोएको हुम्लावासी विकास र सम्बृद्धिको मुल फुट्ने आशामा छन्।

करिडोर अन्तर्गत करिब ५०० मिटर कडा चट्टानी भाग अन्तिम चरणमा रहेकाले जतिसक्यो छिटो चट्टान फोडेर सक्ने हिल्सा सिमकोट सडक आयोजनाले जनाएको छ।

प्रकाशित मिति: : 2019-08-01 18:53:38

प्रतिकृया दिनुहोस्