यी देशसँग नेपालले कमाइरहेछ नाफा

तस्बिरः नेपाल न्यूज

मुलुकले गत वर्ष विश्वका एक सय ५८ भन्दा बढी देशसँग वैदेशिक व्यापार गरेको छ। गत आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक व्यापार भएका यी मुलुकमध्ये अधिकांशसँग व्यापार घाटा छ।

मुलुकको व्यापार घाटा १३ खर्ब २१ अर्बबाट उकालो लाग्दै गर्दा नेपालले २२ मुलुकसँग नाफाको व्यापार गरेको छ। आयातभन्दा निर्यात धेरै भएका देशमध्ये कतिपयसँग निर्यात मात्र भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष मुलुकले निर्यात मात्र गरेका देशको संख्या ९ छ भने अन्य १३ मुलुकसँग आयातभन्दा निर्यात धेरै छ।

नेपालले सबैभन्दा धेरै नाफा व्यापार गरेको मुलुक अल्जेरिया हो। यो मुलुकसँग नेपालले ८ करोड ४६ लाख ४५ हजार नाफा गरेको छ। उक्त मुलुकसँग नेपालले कुनै पनि सामान आयात गरेको छैन।

नेपालले निर्यात मात्र गरेका मुलुकमा अजरबैजान, पानामा, बर्मुडा, एन्टिगुवा एन्ड बरबुडा, बहामस, यमन, काजकिस्तान र अर्मेनिया छन्। अल्जेरियापछि सबैभन्दा धेरै निर्यात मात्र गरेको मुलुक यमन हो। यमनमा गत आर्थिक वर्षमा ३ करोड ५८ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ। निर्यात मात्र भएका अन्य मुलुकमा भने लाखमा मात्र व्यापार भएको छ।

यसबाहेक नेपालले १३ वटा मुलुकसँग आयातभन्दा निर्यात धेरै गरेको छ। ती मुलुकमा स्लोभानिया, अफगानिस्तान, इस्टोनिया, आइसल्याण्ड, गिनी, एल साल्भाडोर, सेन्ट्रल अफ्रिका रिपब्लिक, सुडान, मोनाको, माल्दिभ्स, न्यू क्यालेडोनिया, मौरिसस र रवान्डा छन्।

trade profit countries1

यी देशमध्ये सबैभन्दा धेरै व्यापार गरेको मुलुक सेन्ट्रल अफ्रिका रिपब्लिक छ। यो मुलुकसँग कुल २७ करोड ९२ लाख ८८ हजारको व्यापार भएको छ। यसमध्ये नेपालको निर्यात २७ करोड ७५ लाख ६८ हजार रुपैयाँ रहेको छ। यस हिसाबले यस अफ्रिकन मुलुकसँगको व्यापार नाफा २७ करोड ५८ लाख ४९ हजार रहेको छ।

प्रकाशित मिति: : 2019-08-01 06:31:24

प्रतिकृया दिनुहोस्