कलंकी–बालाजु–चाबहिलखण्ड विस्तार पुसदेखि

कलंकी–बालाजु–चाबहिलखण्ड विस्तार पुसदेखि

चक्रपथअन्तर्गत कलंकी–बालाजु–चाबहिल सडकखण्ड आठ लेनमा विस्तार गर्ने कार्य आगामी पुसबाट सुरु हुने भएको छ । यसका लागि सडक विभागले ‘साइट क्लियरेन्स’को काम सुरु गरिसकेको छ । कलंकी–बालाजु–चाबहिल आठ लेन सडक निर्माण चक्रपथ विस्तारकै दोस्रो परियोजना हो । सडक विभागका अनुसार यसको सुरुवात कलंकीबाट हुनेछ । चाबहिलको गोपीकृष्ण हलअगाडि पुलसम्म ११.६ किमि सडक विस्तार हुनेछ । सर्भिस ट्र्याकसहित सडकको चौडाइ ६२ मिटरको हुनेछ । सबै आठवटा लेन साढे तीन मिटर चौडा बन्नेछन् । सबै लेन र फुटपाथसहित सडकको खास चौडाइ ५० मिटरको हुनेछ । 

काठमाडौं चक्रपथ सडक सुधार योजनाका प्रमुख अमृतमणि रिमालले कलंकी–बालाजु–चाबहिल सडक विस्तार सन् २०२० को पहिलो महिनाबाट सुरु हुने बताए । ‘कलंकी–बालाजु–धोबीखोला सडक विस्तार सन् २०२० को पहिलो महिनाबाटै सुरु गर्ने लक्ष्यका साथ हामीले काम अघि बढाएका छौँ,’ उनले भने, ‘प्रतिघन्टा ५० किमिका दरले सवारी गुड्ने गरी मुख्य लेन बन्नेछ । सहायक लेनमा भने प्रतिघन्टा २० किमिका दरले सवारीसाधन चलाउन सकिनेछ ।’ ३६ महिनाभित्र सबै निर्माण सकिने योजना छ । यसअघि निर्माण गरिएको कोटेश्वर–कलंकी सडकभन्दा यसको ड्रइङ एन्ड डिजाइनमा केही फेरबदल हुनेछ ।

चीनको अनुदानमा सडक बन्ने 
चीनको अनुदानमा चिनियाँ ठेकेदार कम्पनीले सडक निर्माण गर्नेछ । कम्पनीले सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइसकेको छ । तर, नेपाल सरकारलाई भने हस्तान्तरण गरेको छैन । सडक निर्माणका लागि आवश्यक रकम चीन सरकारले अनुदानस्वरूप उपलब्ध गराउने सम्झौतासमेत भइसकेको छ । तर, उक्त सडक निर्माणमा लाग्ने रकम भने सार्वजनिक भएको छैन । ७ देखि ८ अर्ब रुपैयाँ लाग्ने विभागको अनुमान छ । 

विभागका प्रवक्ता सापकोटाले भने, ‘कलंकी–बालाजु–धोबीखोला सडक निर्माण चीन सरकारकै अनुदान बन्नेछ । यसका लागि चीन सरकारले प्रतिबद्धता जनाइसकेको छ । उसकै आग्रहपछि हामीले साइट क्लियरेन्स गरेका हौँ । यो काम सकिनासाथ निर्माणकार्य अघि बढ्छ ।’

प्रकाशित मिति: : 2019-08-01 06:28:46

प्रतिकृया दिनुहोस्