शरीरमा सुगरको मात्रा नियमित नभएपछि ओली सिंगापुर ‘रिफर’

धानमन्त्री केपी शर्मा ओली

सोमबार नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उपचारका लागि सिंगापुर जाने जानकारी दिएपछि उनको स्वास्थ्य अवस्थाबारे एकाएक चासो बढेको छ।

समयतालिका परिवर्तन भएन भने शनिबार प्रधानमन्त्री ओली एक साताका लागि सिंगापुर जानेछन्, जहाँ उनले आराम गर्नुका साथै स्वास्थ्य परिक्षण गर्ने बालुवाटार स्रोतले जनाएको छ।

पार्टी तथा सरकारका गतिविधिमा सक्रियता बढाएसँगै ओलीलाई उनका सल्लाहकार तथा सचिवालयका सदस्यहरुले आराम गराउन एक साता थाइल्यान्ड लैजाने तयारी गरेका थिए।

ओलीका निजी चिकित्सक डा दिव्या सिंहले चाहिँ आरामका साथै स्वास्थ्य परीक्षण पनि हुने भएकाले सिंगापुर लैजान सुझाएकी थिइन्।

प्रधानमन्त्री ओली शनिबार गंगालाल हृदय रोग केन्द्रको एउटा कार्यक्रममा सहभागी भएका थिए, जहाँ उनले ४५ मिनेट भाषण गरे। त्यहाँ उनले ‘आफू नक्कली बिरामी नभएको’ दाबी पनि गरेका थिए।

स्वास्थ्यको कारण देखाउँदै आइतबार वीर अस्पतालको १ सय ३० औं वार्षिकोत्सवको कार्यक्रममा ओली सहभागी भएनन्। तर त्यसैदिन नेपाल भारत लजिस्टिक सम्मेलनमा प्रमुख अतिथि बनेका ओलीले बसीबसी सम्बोधन गरेका थिए।

त्यसै साँझ छाउनीस्थित सैनिक अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो, जसको दुई वटा रिपोर्ट अझै आउन भने बाँकी छ। नेपालमा नभएको उपचार सिंगापुरमा हुने स्रोतहरुले बताएका छन्।

‘पिसावमा प्रोटिन चुहिएको छ, तर मृगौला प्रत्यारोपण गरेको मानिसमा यस्तो देखिनु सामान्य हो’, ओलीको स्वास्थ्य परिक्षण टोलीका एक जना डक्टर भन्छन्, ‘केही समयअघि मात्रै शिक्षण अस्पतालमा ओलीको मुटुको इसिजी गरिएको थियो, जुन सामान्य थियो।’ 

प्रकाशित मिति: : 2019-07-31 07:21:25

प्रतिकृया दिनुहोस्