सरकारलाई गिज्याउँदै गौरवका आयोजना

तस्बिरः नागरिक

काठमाडौं - सरकारले मुलुकभरमा सबैभन्दा बढी महत्व दिएको भनिएका राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेट खर्च गर्न सकेको छैन। राष्ट्रिय गौरवका आयोजनामा हुने गरेको ढिलासुस्ती र बजेट खर्च नगर्ने प्रवृत्तिले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारालाई गिज्जाइरहेको छ। अहिले मुलुकभर राज्यले महत्व दिएका आयोजना २२ वटा छन्। सरकारी अधिकारीहरुका अनुसार यी आयोजनामा गत आर्थिक वर्षमा विनियोजित बजेटमध्ये १० अर्ब रुपैयाँभन्दा बढी खर्च हुन सकेको छैन।

सरकारले आर्थिक वर्ष २०७५/७६ मा मेलम्ची खानेपानी आयोजनामा पाँच अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर खर्च भने दुई अर्ब ४२ करोड रुपैयाँमात्र गर्न सकेको छ।

करिब तीन दशकदेखि निर्माणाधीन उक्त आयोजनामा विनियोजित बजेट खर्च हुन नसकेपछि निर्माण कार्य कहिले सम्पन्न हुन्छ भन्नेबारे अझै अन्योल रहेको अधिकारीहरू बताउँछन्। सरकारले चालू आर्थिक वर्ष उक्त आयोजना सम्पन्न गर्ने दाबी गरेको छ।

राष्ट्रिय गौरवकै अर्को बुढीगण्डकी जलविद्युत् आयोजनाले पनि आर्थिक वर्ष २०७५÷७६ मा छुट्याइएको बजेट खर्च गर्न सकेन। मुआब्जा वितरणलगायतका कामका लागि उक्त आयोजनामा पुरानो र नयाँ बजेटसहित २७ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरिएको थियो। तर आर्थिक वर्षको अन्त्यसम्म आयोजनाले मुआब्जा वितरणका लागि ११ अर्ब ३१ करोड रुपैयाँ वितरण गर्न सक्यो। 

सरकारले आर्थिक वर्ष २०७५/७६ मा मेलम्ची खानेपानी आयोजनामा पाँच अर्ब ९१ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि दुई अर्ब ४२ करोडमात्रै खर्च गर्न सक्यो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा उक्त आयोजनाका फोकल पर्सन दिलीपकुमार सडौलाका अनुसार २०७४ यता आयोजनाको संरचना नै प्रस्ट हुन नसकेकाले खोजेजस्तो प्रगति हासिल हुन नसकेको हो। ‘सर्सर्ती हेर्दा एक वर्षमा ११ अर्ब रुपैयाँ खर्च हुनु ठूलो रकम होे,’ उनले भने, ‘तर यति ठूलो आयोजना कसरी सञ्चालन हुने, अझै टुंगो छैन।’

प्रकाशित मिति: : 2019-07-31 07:00:47

प्रतिकृया दिनुहोस्