बजेट नल्याउने यी ४२ पालिका संकटमा : खर्च गर्न नपाउने

तस्बिरः उज्यालो

काठमाण्डौ – बैतडीको पाटन नगरपालिकाले बजेट ल्याउन सकेको छैन । नगरपालिकाका मेयर केशवबहादुर चन्द योजनामा कुरा नमिल्दा बजेट ल्याउन नसकेको बताउनुहुन्छ । तर नगरसभा सदस्यले सबै प्रक्रिया पूरा भए पनि मेयर चन्दले नगरसभा नगरेर आलटाल गरेको आरोप लगाएका छन् ।

पोहोर असोजमा बजेट ल्याएर पनि ९९ प्रतिशत काम सम्पन्न गरेको मेयर चन्दको दाबी छ । उहाँ भन्नुहुन्छ, ‘यसपाली पनि ढिलो बजेट आउला तर काम चाहिँ शतप्रतिशत गर्नेमा हामी ढुक्क छौं ।’

पालिकाको बजेट तोकिएको समय सीमाभित्र नल्याउने यो एउटा उदाहरण मात्रै हो । १० वटा पालिका रहेको बैतडीका अरु पालिकाले भने बजेट ल्याएर कार्यान्वयन समेत सुरु गरिसक्दा पाटन नगरपालिका आन्तरिक खिचातानीमा अल्झिएको छ । पाटन सहित सुदूरपश्चिममा तीन वटा पालिकाले अहिलेसम्म बजेट पारित गरेका छैनन् ।

पोहोर जस्तै समस्या

पालिकाले समयमा बजेट नल्याउने समस्या यसपाली पनि दोहोरिएको छ । नियमअनुसार चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गएको असार मसान्तभित्रै पारित गर्नुपर्ने हो । तर ४२ पालिकाले चालु वर्षको बजेट पारित गर्न सकेका छैनन् । उनीहरुले बजेट पेश गर्ने कानुनी सीमा नै उलघंन गरेका हुन् । 

अहिलेसम्म ४२ वटा पालिकाले बजेट पेश गर्न सकेका छैनन् । ७ सय ५३ पालिकामध्ये अहिलेसम्म ७ सय ११ पालिकाले भने बजेट सार्वजनिक गरेका छन् ।

गण्डकी र कर्णाली भने अगाडि

गण्डकी र कर्णाली प्रदेशका मात्रै सबै पालिकाले बजेट पेश गरेका छन् । ८५ वटा पालिका रहेको गण्डकी र ७९ वटा पालिका रहेको कर्णालीका सबै पालिकामा बजेट सार्वजनिक भएको हो । तर गण्डकी र कर्णाली प्रदेशका पनि केही पालिकाले भने ढिला गरी बजेट पारित गरेका छन् ।

बाँकी प्रदेशगत तथ्याङ्क

प्रदेश एकमा १ सय ३७ पालिका छन् । तीमध्ये संखुवासभाको भोटखोला गाउँपालिकाले मात्रै बजेट पारित गरेको छैन ।

प्रदेश २ मा २९ वटा बाँकी 

प्रदेश २ मा १ सय ३६ पालिकामध्ये १ सय ६ वटामा बजेट पेश भएको छ । तर २९ वटा पालिकाले अहिलेसम्म बजेट पारित गरेका छैनन् ।

१८ पालिका रहेको सप्तरीमा १२ वटाले बजेट ल्याए भने अझै ६ वटाको बाँकी छ । सप्तरीको छिन्नमस्ता, तिरहुत, बलान विहुल, राजगढ (बेल्ही चपेना) गाउँपालिका तथा महादेवा र सप्तकोशी नगरपालिकाले अझै बजेट ल्याएका छैनन् । 

१७ पालिका रहेको सिराहामा ४ वटा पालिकाले बजेट ल्याउन सकेका छैनन् । तीमध्ये औरही, बरियारपट्टी र विष्णुपुर गाउँपालिका तथा कल्याणपुर नगरपालिकाले बजेट पारित गरेका छैनन् ।

धनुषाको कमला र सबैला नगरपालिकाले पनि बजेट ल्याएका छैनन् । त्यसैगरी महोत्तरीको रामगोपालपुर, सर्लाहीको बलरा, रामनगर नगरपालिकामा बजेट पेश हुन बाँकी छ ।

तोकिएको समयभित्र रौतहटका ५ पालिकाले बजेट पेश गरेनन् । रौतहटका कटहरिया, गुजरा, फतुवाबिजयपुर, बृन्दावन र बौधीमाई नगरपालिकाले अहिलेसम्म पनि बजेट नल्याएको मन्त्रालयको तथ्याङक छ । त्यस्तै बाराको बारागढी र सुवर्ण गाउँपालिका पनि बजेट पेश नगर्नेको सूचीमा छन् ।
१४ गाउँपालिका रहेको पर्सामा कालिकामाई, जगरनाथपूर, ठोरी, धोबिनी, पकाहा मैनपुर, बिन्दबासिनी र सखुवा प्रसौनी गाउँपालिकाले पनि बजेट ल्याएका छैनन् ।

प्रकाशित मिति: : 2019-07-30 13:34:29

प्रतिकृया दिनुहोस्