निर्मला हत्याकाण्डबारे गृहमन्त्रीले भने : सबैले दिलीप विष्ट नै हो कि भन्दैछन्

बीएल

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि गरिएको हत्याकाण्डमा प्रहरीले नयाँ सूत्रबाट अनुसन्धान गरिरहेको बताएका छन्। 

संसदको प्रत्यायोजित विधायन तथा सरकारी आश्वासन समितिको सोमबार बसेको बैठकमा बोल्दै गृहमन्त्री थापाले पुराना सबै अनुसन्धानका विधि फेल खाएपछि अहिले नयाँ सूत्र लगाएर भेटिएका नयाँ तथ्यहरु केलाउँदै अनुसन्धान चलिरहेको बताएका हुन्।  ‘हामीले विभिन्न कमटिी बनायौँ सुरुदेखि नै तर असफल भए। सीआईबीका टिम पनि बनाउँदा ती पनि असफल भए। अपराधीलाई कानुनको कठघरामा ल्याउन सकेनन्’, थापाले भने, ‘यो प्रकरणमा सरकारले आफ्नो काम गरिरहेको छ। तपाईंहरुले अपराध-अनुसन्धानको रणनीति केही भन्नुस भन्नुभयो? ती विविध किसिमका हुन्छन्, मैले केही भन्न मिल्दैन।’ 

गृहमन्त्री थापाले २०७५ साउन १० गते गाउँमै बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा प्रहरीको हिरासतमा २५ बसेर छुटेका दिलीपसिंह विष्टको नाम फेरि आउन थालेको बताए।  ‘निर्मला हत्याकाण्डमा सबैले दिलीपसिंह विष्ट नै होकि भनिरहेका छन्,’ गृहमन्त्री थापाले भने, ‘उसको बयानले पनि त्यही देखाउँछ। तर अनुसन्धान चलिरहेको छ।’ मन्त्री थापाले कोही पनि हाइप्रोफाइललाई जोगाउन निर्मला प्रकरण नमोडिएको दाबी गरे। ‘धेरैलाई हाई प्रोफाइललाई जोगाउन हो कि भन्ने परेको छ’, थापाले भने, ‘तर त्यो होइन। अहिले पनि अनुसन्धान चलिरहेकाले निचोडमा पुगिहाल्नु हुँदैन।’ 

प्रकाशित मिति: : 2019-07-29 16:13:49

प्रतिकृया दिनुहोस्