सम्बन्ध: खण्ड (ख)

पर्खाइपछिकाे भेट

२०७७ साल सुरू भइसकेकाे छ। नयाँ वर्षकाे पहिलाे दिनलाई सम्झदा खासे विशेष लागेन। कि त कुनै किताब पढाैं भन्ने लागिरहेथ्यो। अन्ततः  स्टेफन हवकिङको जीवनमा आधारित अङ्ग्रेजी मुभी - द थ्योरी अफ एभ्रिथिङ भन्ने मुभि १२ बजे भन्दा अगाडि सकेर यो साललाई बिदाई गर्ने र १२ बजे पछि रातभरी कतिन्जेल हुन्छ पाउलो कोएल्होको -दि अल्केमिस्ट पढेर नयाँ वर्षको सुरुवात गर्ने प्लान बनाए।

रातिको १० बजिसकेको थियाे। एक्कासी मोबाईलमा मेसेजको नोटिफिकेसन बज्यो। खोलेर हेरेँ उसकै मेसेज रहेछ। एडभान्समा शुभकामना पठाएकी रहिछ। मैले पनि जवाफमा शुभकामना फर्काए।

सोधिहाली भोलि त सालको पहिलो दिन के छ  त नयाँ वर्षको प्लान? मैले त्यही एउटा सिनेमा र पुस्तकको प्लान सुनाएँ र भोलि दिनभरी कोठामै सुत्ने विचार थियो। उसले अनुरोध गरि भोलि खाली हुन्छौं भने भेट न है?

सायद  दुबैले पर्खिरहेको त्यो दिन भोलि नै आउँदै छ। मैले नकार्ने कुरै थिएन। उसँग भोलि ११ बजे दैलेख रोड चोकमा भेट्ने प्लान बनाएर म आफ्नै प्लानमा लागें। १२ बजे भन्दा अगाडि मुभी हेरेर सक्काएँ। अब १२ बजेपछि निन्द्रा पनि लागिरहेको थियो तर सुत्नु कसरी?

सालको पहिलो दिनमा नै प्रतिबद्धता गरेको काम नगरेपछि कसरी नयाँ सालको नौलो सुरुवात हुन्छ भन्ने लाग्यो। आफैलाई सुत्न मन लागेन। मलाई फेरि यो पनि थाहा थियो कि भोलि उसलाई भेट्न जानु छ। आज राम्ररी सुतिएन भने भोलि उसलाई भेट्न नपाउने त होइन तर आखिर प्लान भनेको प्लान हो।

४ बजेतिर मज्जैले पढेर पाउलो कोहेल्होको - दि एल्केमिस्ट पढेर सकाएँ र यसरी नयाँ वर्ष सुरु भयो। अनि बिहान एकैपटक ८ बजे उठियो। घरमा टीका लगाउने, पात्रो हेर्ने, घरपरिवारका गफगाफ, कोहि के के पकवान बनाउँदै थिए।

म भने ११ बजेको पर्खाइमा थिएँ। नुहाई धुवाई गरेर टीका थापेर म चोकतिर हिंडे। उसलाई भेट्नुको हतारो जो थियो। नयाँ वर्ष अनि म उसलाई पहिलो पटक राम्ररी भेट्न जाँदै थिए। के गरुम भन्ने भयाे? 

पसलमा गएर उसको लागि दुईवटा डेरी मिल्क र चोकोपाई किनेँ। त्यसै बेला उसको कल आयो। उ मलाई चोकमा पर्खिरहेकी रहिछ। सुरुमा के बोल्ने, कसरी रियाक्ट गर्ने होला भनेर बाटाेभरी सोच्दै गएँ। हुन त एक मनले भनिरह्याे उ मेरो गर्लफ्रेन्ड थोडि न हो।

हामी डेटमा आएको त पक्कै होइनौं। उसलाई मन पराउने नजरले मैले यतिन्जेल हेरिनँ पनि। भनेपछि किन डराईरहनु? साथीलाई भेट्न् किन के को प्लान? यसरी एक मनले बाटाेभरी सोची पनि रह्याे र अर्को मनले सम्झाई पनि रह्याे।

हामी बुल्बुले हुँदै खेतै खेतको बाटो भएर काँक्रोबिहारको जङ्गलमा पुग्यौं। नयाँ वर्षमा घुम्न जानेहरुको संख्या तिब्र थियो। हामीसँगै केही केटाकेटी पनि हिडिँरहेका थिए।

बहिनीहरुले प्यास लागेको छ भनेपछि मैले झोलाबाट पानीको बोतल झिकेर उनीहरुलाई दिए र हामी गफ गर्दै अगाडि हिँड्यौ। म प्रसङ्गमा उसँग कुरो गर्थे नत्र केटाकेटीसँग गफ गर्दै हिँडिरहेको थिए। एउटीले सोधिदिई दाइ तपाईंहरु भाइ बहिनी हो?

म अब के बोल्ने? अक्क न बक्क भए।  एक पाटाेमा हाँसो पनि लागिरहेको थियो। किन कि उ हुन त म भन्दा उमेरले पनि केही महिना जेठी र पढाईका हिसाबले पनि उ म भन्दा सिनियर थिइ तर हाइट र बाहिरी हेराईमा मेरो सामुन्ने बच्चा जस्तै देखिन्थी। उ होची थिई त्यसैले म दाइ र उ मेरि बहिनी जस्तै देखिन्थी पनि। अनि बिचरा बहिनीले भनेको  पनि ठिकै हो भन्ने लाग्यो।

तर अर्को पाटाेमा दाजु बहिनी भन्दा असहज महसुस पनि भैरहेको थियो। मैले हैन हामी साथी हो भनेर जवाफ फर्काए। थाहा छैन उसले के सोची होला? त्यत्तिकैमा अर्की बहिनीले भनिदिई। भाइबहिनी यसरी जङ्गलमा घुम्न आउँछन् थाहा पाउन्निस् भनेर आफ्नै साथीमाथि तेस्रो जवाफ फर्काइ। उ केवल मन्द हासिँरही।

हामी जङ्गल हुँदै कतै एकान्त छहारीको तलासमा लम्कियौं। कतै रुखको फेदमा एकान्त झारीमा बसेर गफिन थाल्यौं। उसलाई त्यति हिँडाउने र त्यसरी झारीमा बसाल्ने मन पनि थिएन तर खै कसरी नचाहँदा नचाहाँदै आइपुगियो। मलाई आफैंलाई अफ्ट्यारो लागिरहेको थियो। थाहा छैन उसले के सोची होला। त्यतै रुखको फेदीमा एउटा प्रयोग गरेर फालेको कण्डम झुन्डिरहेको थियो।

मैले खुट्टाले त्यसलाई पन्छाए। मेरो चाहाना थियो कि उसले त्यो नदेखोस् तर थाहा छैन सायद उसले देखिसकी होला। यसरी कोही केटीसँग बसिरको बेला मान्छे के गर्छ होला। म हुस्सु। त्यही कण्डमको बारेमा सोचेरै एकछिन मौन बसिरहें। को पाजीले होला यसरी फालेको? उसले के सोची होला यस्तै यस्तै।

खैर उ केही बोलिन। मैले आफैँ मौनता तोड्न खोजेँ। बाटाेभरी कैयौं विषयमा गफिँदै गयौँ। अब त लगभग गफ गर्ने विषयहरु पनि सकिँदै थिए। मैले केही कविताका बारेमा गफ सुरु गरें। केही प्रेमका बारेमा गफ लगाएँ र केही प्रेमिल कविता पनि सुनाएँ।

सायद यत्ति कुरोले उसलाई पनि बोल्ने वातावरण सहज बनेको थियो। उ सायद कसैसँग यसरी पहिलो पटक बाहिर आएकी छे। उसका हातगोडा काँपिरहेका थिए। त्यो बेचैन मैले सहजै देख्न सकेको थिएँ तर म पनि त उभन्दा कम बेचैनीमा थिएँन। मैले उसको बेचैनी राम्ररी देखेको थिएँ तर थाहा छैन उसले मेरो पहिल्याउन सकि या सकिने?

तर पनि हामी गफिन थाल्यौं। उसले केही प्रेमिल रचना सुनाई, मैले केही सुनाएँ र लागिरहेको थियो कि उसको हरेक रचना मेरा लागि हुन् वा मेरो कल्पनमा लेखिएका हुन्। किनकी उसको हरेक लेखनीमा म आफूलाई पाउँदै थिएँ। उसलाई भनुँ कसोरी तर म झन् झन् उसबाट प्रभावित हुँदै थिए।

उसँगको हरेक भेटमा खै किन हो उसलाई हेर्ने नजरिया र भावनाले नै बाटाे बदल्छ। उ किन यति रहस्यमयी छ। उ किन यति नम्र र मायालु छ। सम्बन्ध त टिक्छ थाहा छ तर उसको यस्तै कुराले के सदैब म यस्तै साथी भएर बस्न सकुँला त? यदि म उ भित्र हराएँ भने? उसले मलाई कसरी हेर्छ। त्यो मलाई ज्ञात छैन यदि म उसको एकोहोरो प्रेममा फसेँ भने? 

यस्तै  यस्तै सवालहरु उब्जिरहे। एक मनले त सोचिरह्यो कि म उसबाट प्रभावित हुन पटक्कै आएको होइन। न त उसलाई प्रेमिका बनाउन। तर उसका कुरा सुन्दा र उसलाई हेर्दा किन म उसकै हुँ भन्ने भावना अहिले जागृत भैरहेको छ र उसले लेखेका हरेक चिज मेरा लागि हुन भन्ने भ्रम किन म माथि हाबी भएको छ? उ किन यति रहस्यमय छे? कि त म नै अस्थिर वा बेवफा हुँ। उसका कुरा सुनिरहँदा एकपटक दिल बोलिरन्थ्यो कि त उमेरमा छस्, उ उमेरमा छे हैन जिन्दगीमा प्रेम गर्नलाई तँलाई कस्तो स्त्री चाहियो? जो नम्र होस्, तँलाई बुझ्ने, सम्मान गर्ने, सपना देख्ने र कबिल मन भएको। रुप रंग त फरक कुरा हुन्।

अनि उसमा तैँले खोजेको के कुरा कमी छ? नयाँ वर्षको दिन उसलाई प्रेम प्रस्ताव राख र एउटा नयाँ सुरुवाती गर। तर फेरि अर्को मनले भन्छ यदि उसले मलाई प्रेमिका रुपमा स्वीकार्न चाहिन भने र अर्को कुरा यदि उसलाई प्रेम गर्नुछ भने किन प्रस्ताव नगरी प्रेम जताउन सकिँदैन। प्रेम गर्न के कसैको अनुमती लिनु पर्छ? यदि म आज बाहेक फेरि उसलाई कहिल्यै भेटिन र बोलिन भने यो एउटा जीवनभरलाई सुन्दर याद हुन सक्छ।

तर यसरी नै चक्र र चक्कर चलिरह्याे भने म केवल साथी मात्र बनेर बस्न सक्दिन भन्ने कुरा को ढुक्कता महशुस भएर फर्किएँ। मलाई ज्ञात भयो कि म भावनामा कति कमजोर रहेछु।

यस्ता कयौँ सवाल गुन्जिए र अन्तमा उसलाई केही भन्न नसकेरै फर्किएँ। बाटाेमा पानी पुरी खान बस्यौं। खान त एउटै प्लेटमा खान मन थियो। एउटा उसलाई खुवाएर एउटा आफूले खाएर। तर लाग्यो कि यो सिनेमा होइन र उ मेरी प्रेमिका पनि। बाटाेमा हिँडिरहँदा सँगै हात समाएर हिंड्न् मन थियो तर उ सगँ अनुमती माग्ने हिम्मत थिएन। छुटिदा अङ्गालाेमा बेरिएर छुटिने मन थियो। तर यो कल्पना समेत गर्ने आत्मबल थिएन र उ माथी मेरो अधिकार पनि छैन। त्यसैले यस्तै आज कयौं वैचारिक र भावनात्मक द्वन्द्वहरु बोकेर घर फर्किएँ। अझै उसलाई सम्झिरहेको छु।

अपसाेस्, मैले उसलाई केही उपहार दिने ख्याल आएन तर उसले नयाँ वर्षमा मलाई ल्याइदिएको एउटा पुस्तक अगाडि राखेर उसलाई सम्झिरहेको छु। कुन पुस्तक हो भनेर खोल्न पनि सकिरहेको छैन। किनकि म यति छिटै उसको याद पन्छाउन चाहान्न। अहिले उसले दिएको पुस्तकको कभर खोल्नेसम्म हिम्मत छैन। म उसको उपहार हेरिरहेको छु- उसको उपहार अहिले मलाई हेरिरहेको छ।



सँग यारा

टिकटसँगै हराएकी महबूबा

ऐनाको अनुहार

प्रकाशित मिति: : 2021-04-24 16:20:00

प्रतिकृया दिनुहोस्