गोरखालीले अंग्रेजलाई हराएका गढी बन्दैछन् ‘वार टुरिजम’ केन्द्र

तस्बिरः अन्नपूर्ण

गोरखालीहरूले साम्राज्यवादी ब्रिटिस सेनासँग युद्ध लडेका सिन्धुलीका दुई ऐतिहासिक युद्धस्थल पुनर्निर्माण गरिने भएको छ। युद्ध भएको २५१ वर्ष पूरा भएका सिन्धुलीगढी र हरिहरपुरगढी पुनर्निर्माण गरिने भएको हो। यी अहिले भग्नावशेषको अवस्थामा छन्।

घरेलु हतियारका भरमा युद्ध लडेर गोरखाली सेनाले अत्याधुनिक हातहतियारले सुसज्जित अंग्रेजहरूलाई परास्त गरेका थिए। ऐतिहासिक युद्धस्थल सिन्धुलीगढी र हरिहरपुरगढी किल्लाको गुरुयोजना बनाएर यहाँका स्थानीय तहले पुनर्निर्माण गर्न लागेका हुन्।

नेपाललाई नै अंग्रेजको कब्जाबाट जोगाउन युद्ध लडिएका यी दुबै स्थल संरक्षण अभावमा दशकौं अघि नै भग्नावशेषमा परिणत भएका थिए। तर, पर्यटन वर्ष २०२० का लागि सरकारले उत्कृष्ट १०० पर्यटकीय गन्तव्य मध्ये सिन्धुलीगढीलाई पनि राखेपछि यसको पुनर्निर्माणमा तदारुकता बढेको हो।

‘युद्ध पर्यटन (वार टुरिजम)’ क्षेत्रको रुपमा विकास गर्ने योजनासहित कमलामाई नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाले गुरुयोजना बनाएर पुनर्निर्माण थालेका हुन्।

हरिहरपुरगढी किल्लाको गुरुयोजना।


झण्डै एक वर्ष लगाएर ऐतिहासिक तथा कलात्मक शैली तथा आधुनिक प्रविधिसहित निर्माण गर्ने गरी सिन्धुलीगढीको गुरुयोजना निर्माण भएको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दए। करिब पाँच करोड रुपैयाँ खर्च गरिसकिएको सिन्धुलीगढीको पुनर्निर्माणमा थप १६ करोड रुपैयाँ लाग्ने छ।

उता हरिहरपुरगढी गाउँपालिकाले हालैमात्र २५ करोड रुपैयाँ लागतमा गढीको पुनर्निर्माण सम्पन्न गर्ने गरी गुरुयोजना तयार पारेको गाउँपालिकाका अध्यक्ष कार्साङ लामा बताउँछन्।

सिन्धुलीगढी र हरिहरपुरगढी विसं १८२४ मा नेपाललाई उपनिवेश बनाउन आएका ब्रिटिसहरूसँग भएको युद्धमा गोर्खालीहरूले विजय प्राप्त गरेका युद्धस्थल हुन्।

नेपाली वीर गोरखालीहरूको फौजको नेतृत्व गर्ने श्रीहर्ष पन्त, बंशराज पाण्डे र बंशु गुरुङले विसं १८२४ असोजमा साम्राज्यवादी ब्रिटिस अंग्रेज फौजका क्याप्टेन किल्नकको नेतृत्वको फौजलाई हराएयता विस. २०२० सालसम्म संरक्षणमै रहेको सिन्धुलीगढी पछि भग्नावशेषमा परिणत भएको थियो।

२०२० सालसम्म जिल्लाको सदरमुकाम समेत सिन्धुलीगढीमै थियो। तर, २०२० सालमा सदरमुकाम माढीमा झारीएपछि गढीको संरचना भत्किएर लोप हुँदै गएका थिए।

प्रकाशित मिति: : 2019-07-28 16:03:02

प्रतिकृया दिनुहोस्