जसले डिप्रेशनलाई जिते

काठमाण्डौ – पछिल्लो समय कलाकारहरुले आफूहरु डिप्रेशनमा गएको कुरा खुलेर बोल्न थालेका छन् । 

केही समयअघि मात्रै चलचित्र ‘जात्रै जात्रा’ को विशेष शोका लागि अस्ट्रेलिया पुगेकी अभिनेत्री वर्षा राउतले एउटा कार्यक्रममा लगाएको लुगाले उनी तनावमा परिन् । कारण थियो, उनको लुगाको अगाडिको भाग बढी खुल्नु । 

सधैँजसो कार्यक्रममा सामान्य पहिरनमा प्रस्तुत हुने वर्षा अचानक ग्ल्यामर रुपमा प्रस्तुत हुँदा दर्शक पनि छक्क परे । यही कारण उनी सामाजिक सञ्जालमा ट्रोल हुन थालिन् ।

उनलाई ट्रोल गर्नेको सङख्या बढेसँगै उनको सपोर्टमा पनि धेरै कलाकारहरु उत्रिए । तर सधैँ आफ्नो कामबाट सकारात्मक प्रतिक्रिया पाउने वर्षाले अचानक नकारात्मक प्रतिक्रिया पाउँदा तनाव हुनु स्वभाविक नै थियो । यही ट्रोलकै कारण वर्षाका केही दिनहरु रोएरै बिते । उनले चलचित्र ‘दाल भात तरकारी को सफलता पार्टीका क्रममा ट्रोलकै कारण आफू ४ दिनसम्म ड्रिप्रेशनमा पुगेको खुलाएकी थिइन् ।

वर्षा राउत त एउटा उदाहरण मात्रै हुन् । यसअघि नै केही सेलिब्रेटीहरुले डिप्रेशनको चरम बिन्दुमा पुग्दा पनि त्यसलाई जितेर नयाँ जीवनको सुरुवात गरिसकेका छन् । आजको यस सामग्रीमा हामी डिप्रेशन जितेका केही कलाकारको बारेमा चर्चा गर्छौं ।

डिप्रेशनको चरम बिन्दुमा पुगेर नयाँ जीवन पाउने अभिनेत्रीमा पर्छिन्, श्वेता खड्का । विवाहको एक महिनामै श्रीमान् श्रीकृष्ण श्रेष्ठलाई गुमाउनु उनको जीवनको सबैभन्दा ठूलो चोट थियो । यहि कारणले गर्दा उनी एक वर्ष भन्दा बढी नै डिप्रेशनमा गइन् ।

विवाह लगत्तै श्रीमानको निधन हुँदा श्वेतालाई धेरै आरोपहरु लागे । किनभने उनी एउटी नारी थिइन् । उनलाई सम्पत्तिका लागि बिहे गरेकी हो भन्ने सम्मको ठूलो आरोप लाग्यो । उनी सेतो वस्त्रमा छँदै घरमा पनि सम्पत्तिकै नाउँमा झगडा पनि सुनिन् । त्यो अर्को सम्हालिनै नसक्ने चोट थियो, श्वेताका लागि । श्वेताको चर्किएको घाउमा नुन खुर्सानी छर्नेहरु धेरै नै थिए ।

श्रीमानको निधनपछि ४५ दिनसम्म एउटा कोठामा आफूलाई कैद गरेर बसेकी श्वेता त्यसपछि आमाबासँग बस्न आइपुगिन् । त्यही समयदेखि श्वेतामा डिप्रेशन सुरु भैसकेको थियो । एक वर्षसम्म चरम डिप्रेशनमा थिइन् श्वेता । 

त्यसको ठिक एक वर्षपछि भूकम्प गयो । श्वेताले हजारौँ मृत्यु देखिन् । त्यो देख्दा श्वेताले जीवनमा मरिलानु केही नरहेको बुझिन् ।

उपचारको लागि अमेरिका पुगेकी उनले त्यहाँ हुँदा चलचित्रहरु हेर्न थालिन् । किताब पढ्न सुरु गरिन् । त्यसपछि उनलाई थाहा भयो, संसारमा दुःखी उनी मात्रै छैनन् । त्यसपछि उनलाई बाँच्नुपर्छ भन्ने लाग्यो । उनले भूकम्प पीडितको सहयोगार्थ अमेरिकामा चलचित्रको च्यारिटी गरिन् । त्यहाँ उनले दुखेको मन लुकाएर हाँसेको नाटक गर्नुपर्थ्यो ।

श्वेता बिस्तारै सामान्य हुन थालिन् । निर्माण र होटेल व्यवसाय सम्हाल्न थालिन् । माझी बस्तीको निर्माणमा जुटिन् । क्यान्सर पीडितलाई सहयोग गर्न थालिन् र अहिले झण्डै उनले जीवनलाई सामान्य बनाइसकेकी छिन् । उनले त्यसपछि चलचित्र ‘कान्छी पनि निर्माण गरिसकेकी छिन् । सिनेमाका अलावा उनी आफ्नै व्यवसायमा व्यस्त छिन् ।

प्रकाशित मिति: : 2019-07-28 09:37:46

प्रतिकृया दिनुहोस्