वर्षकै चर्चित वाक्य– हामी अनुसन्धानमै छौं

तस्बिरः नेपाल लाइभ

काठमाडौं– गृह मन्त्रालयमा मंगलबार आयोजित 'वार्षिक कार्यसम्पादन र भावी कार्यदिशाका सम्बन्धमा सञ्चारकर्मीहरुसँग अन्तरक्रिया' कार्यक्रममा निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेको बारे पत्रकारले जिज्ञासा राखे। गृहमन्त्री, गृहसचिव, नेपाल प्रहरी/सशस्त्र प्रहरीका आइजिपी समेत उपस्थित कार्यक्रममा जिज्ञासाको सुरुवाती जवाफ दिए, गृहसचिव प्रेम राईले। उनले भने, 'अनुसन्धानको क्रम कन्टिन्यू भइरहेको अवस्था हो। अहिलेलाई यति नै भन्छु।' 

गृहसचिवपछि गृहमन्त्री रामबहादुर थापा बादलले केही सहजीकरण गर्ने मनसायसहित कुराको सुरुवात गरे, 'निर्मला प्रकरण पनि निरन्तर रुपमा यो एक वर्षदेखि उठिराखेको छ। यस किसिमको अपराध कुनै नौलो र पहिलो होइन। यस किसिमका घटना योभन्दा अगाडि पनि थिए, भोलि पनि केही समयसम्म रहन्छ। अनुसन्धानमै छौं। कानुनको कठघरामा ल्याउँछौं।' 

सुरुमा केही शब्द घुमाए पनि अन्तिममा गृहमन्त्री थापाले 'हामी अनुसन्धानमै छौं' भन्नुबाहेक केही नौला कुरा बताएनन्।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको आज एक वर्ष पूरा भएको छ। तर, प्रहरी हत्याराको नजिक पुग्न सकेको छैन।

गृहमन्त्री र गृहसचिवले भनेजस्तै 'हामी अनुसन्धानकै क्रममा छौं' भन्ने खालका 'रेडिमेड जवाफ'बाहेक प्रहरी र सम्बन्धित निकायले अरु उत्तर दिन सकेका छैनन्। 

थुप्रै समिति र प्रहरीहरुले उक्त घटनालाई सूक्ष्म रुपमा अनुसन्धान गरे। अहिले पनि गरिरहेकै छन्। नेपाल प्रहरीकै केही अधिकारीको भनाइलाई मान्ने हो भने अहिलेसम्मकै सबैभन्दा बढी प्रहरी अधिकारीले अनुसन्धान गरेको घटना हो, निर्मला हत्याकाण्ड। सँगै त्यति नै महँगो अनुसन्धान पनि। 

प्रकाशित मिति: : 2019-07-26 15:32:06

प्रतिकृया दिनुहोस्