बालुवाटारमा पूर्वएमालेको छुट्टै बैठक : ओलीले सुनाए यस्ताे कथा

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली। फाइल तस्विर

जिम्मेवारी बाँडफाटको विषयमा समान धारणा बनाउन बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयमा प्रतिनिधित्व गर्ने पूर्व एमाले नेताहरूको बैठक महाभारत र रामायणको प्रसंगमै सीमित भएको छ।

पार्टी स्कुल विभागमा प्रमुखमा पूर्व एमाले र पूर्व माओवादी नेताहरुले अडान नछोडेपछि अड्किएको संगठनिक एकीकरण गतिरोध अन्त्यका लागि छलफल गर्न नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ बालुवाटारमा बैठक बोलाएका थिए।

'पार्टीभित्र देखिएको गतिरोधबारेमा बैठकमा कुरै भएन। अध्यक्षले महाभारत, रामायणको प्रसंग निकाल्नुभयो। नेपालमै रावण जन्मेकोदेखि बाल्मीकि, बेदब्यास जन्मेका कथा कहानी सुनाउनुभयो।' एक सचिवालय सदस्यले नेपालखबरसँग भने, 'अयोध्या र जनकपुरको सम्बन्धको विषयमा चर्चा भयो। रामायण र महाभारतको प्रसंगहरुमा छलफल भयो।'

साँझ ५ बजे बालुवाटार पुगेका सचिवालय सदस्यहरु करिब ३ घन्टा बालुवाटारमा बसेका थिए। ८ बजेतिर नेताहरू बालुवाटारबाट बाहिरिएका थिए।

पार्टी स्कुल विभाग प्रमुखबारे पूर्वएमाले र पूर्वमाओवादीले आ–आफ्नो अडान नछोडेपछि एकीकरण प्रक्रियाले मूर्तरूप पाउन सकिरहेको छैन। स्कूल विभागमा पूर्वमाओवादीका तर्फबाट सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र पूर्वएमालेको तर्फबाट ईश्वर पोखरेलले दाबी गरिरहेका छन्।

प्रकाशित मिति: : 2019-07-26 15:30:08

प्रतिकृया दिनुहोस्