मिलन अमात्य : भाग्यमा कोरिएका सुखदुःख स्वीकार्य छ

तस्बिरः अनलाइनखबर

१० साउन, काठमाडौं । ‘गाला रातै’ गाइरहँदा मिलन अमात्य नेपाली पार्श्व गायनको शीर्ष स्थानमा थिइन् । उनको उदय त्यही मोडमा भएको थियो, जतिबेला पारिवारिक झमेलाका कारण अर्की गायिका अन्जु पन्त सुस्ताएकी थिइन् ।

भन्नेहरु भन्थे, ‘मिलनले अन्जुको ठाउँ खोस्यो ।’ मिलन भने कसैको ठाउँ ओगट्ने नभई आफ्नो पहिचान स्थापित गर्न लागिपरेको बताउँथिन् । जे भएपनि, त्यो उनको समय थियो । उनका लागि सरस्वती दाहिना थिइन्, पार्श्व गायनमा एकछत्र राज थियो ।

तर, सफलाको ग्राफ सधैं एकनाश उकालो लाग्दैन । बेलाबखत बक्ररेखामा दौडन्छ । चर्चा र सफलताको उत्कर्षमा पुग्दै गर्दा मिलन अमात्यको गति एकाएक धिमा भयो । उनको सांगीतिक जीवन धर्मरायो । अनि पालो आयो, मेलिना राईको ।

यसरी मिलन अमात्यको करियरमा अचानक धक्का लाग्नुका पछाडि दुईवटा कारण थिए । एक, मेन्सन अमात्यसँगको ६ वर्षे लामो दाम्पत्यमा पूर्णबिराम लाग्नु । दोस्रो, गायक दीपक लिम्बुसँगको उनको रहस्यमयी सम्बन्धको चर्चा हुनु ।

जुन दिन ‘श्रीमानले आफ्नो सांगीतिक करियरमा सहयोग नगरेको र बाधा पुर्‍याउन खोजेको’ भन्दै मिलन मेन्सनको घरबाट बाहिरिइन्, त्यसपछिका दिनमा उनको ‘सांगीतिक करियर’ अरु कमजोर देखिए ।

मिलन भने यो स्वीकार्न तयार छैनन् । उनको दाबी छ, ‘डिभोर्सले गीत संगीतलाई असर गरेको छैन । बरु काम गर्न मोटिभेट गरिरहेको छ ।’

यद्यपि व्यक्तिगत मामिलाले उनको व्यवसायिक जीवनमा धक्का पुगेको अनुमान गर्न गाह्रो छैन । उनी कतिसम्म चाहिँ स्विकार्छिन् भने डिभोर्सपछि गीत गाइनन् ।

अर्थात केही समयका लागि ‘ब्रेक’ लिइन् । ‘मानसिक शान्तिका लागि ब्रेक लिएकी थिएँ,’ मिलन भन्छिन्, ‘पूर्णरुपमा काम छाडेको भने होइन ।’

मिलनले भनेजस्तै उनले गीत गाउनै छोडेको पक्कै होइन, तर क्रेज घटेको पक्कै हो ।

प्रकाशित मिति: : 2019-07-26 15:25:49

प्रतिकृया दिनुहोस्