यो बेला हुन्छ सबैभन्दा बढी सवारी दुर्घटना

हरेक यात्रु चाहन्छन्- आफ्नो यात्रा सकुशल होस्, समयमै गन्तव्य स्थानमा पुग्न पाइयोस्, कुनै विपत्ति ननिम्तियोस्। तर, सोचेजस्तो कहाँ हुन्छ र? 
हरेक दिन सवारी दुर्घटना हुन्छन्। कोही न कोही घाइते या कसै न कसैको मृत्यु हुन्छ।

यस्ता दुर्घटना कुन समयमा बढी हुन्छ त ? मनमा प्रश्न उठ्नु स्वभाविकै हो। ट्राफिक प्रहरीको एक अध्ययनले देखाउँछ- ‘सडक दुर्घटना सबैभन्दा बढी मध्याह्न १२ बजेदेखि साँझ ६ बजेको बीचमा हुनेगर्छ ।’

‘सवारीसाधनको चाप अत्यधिक हुने समय यही नै हो । सबैलाई आ–आफ्नो गनतव्यमा पुग्न हतारो हुन्छ । सवारी चालकले आफ्नो सुरक्षामा ध्यान नदिदा दुर्घटना हुन्छ,’ ट्राफिक महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रविकुमार पौडेललले नेपालन्युजसँग भने ।

ट्राफिक प्रहरी महाशाखाको रिपोर्टअनुसार पछिल्ला वर्षमा मध्यान्ह १२ बजेदेखि साँझ ६ बजे सबैभन्दा बढी सवारी दुर्घटना हुने गरेको पाइएको छ ।
ट्राफिक प्रहरीको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/७६ मा भएका ८ हजार ५ सय ११ सवारी दुर्घटनामध्ये ३ हजार ४ सय ८७ दुर्घटना मध्यान्ह १२ देखि साँझ ६ बजेभित्र भएका थिए ।

पछिल्लो आठ आर्थिक वर्ष (२०६८/६९ देखि २०७५/७६)मा भएका ४५ हजार ६ सय २७ सवारी दुर्घटनामध्ये १९ हजार २ सय ३४ दुर्घटना मध्यान्ह १२ देखि साँझ ६ बजेभित्र भएको तथ्यांकले देखाएको छ।

‘साँघुरा सडकपेटी, अत्यधिक सवारी साधनको चाप, सवारी चालकको लापरवाही, ट्राफिक नियम चिन्हसम्बन्धी ज्ञान नहुनु र बढ्दो जनसंख्याले पनि सवारी दुर्घटना निम्त्याईरहेको छ,’ ट्राफिक प्रहरी प्रवक्ता पौडेलले भने।

आर्थिक वर्ष २०६८/६९ मा भएका ५ हजार ९६ सवारी दुर्घटनामध्ये १ हजार ९ सय ६३ मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेको बीचमा भएको ट्राफिक प्रहरीको अध्ययनले देखाउँछ ।

‘दिउँसो सवारी साधनको अत्यधिक चाप हुने भएकाले सबैलाई चेकजाँच गर्न सकिदैन । ट्राफिक समस्यासमेत हुन्छ,’ प्रवक्ता पौडेल भन्छन्, ‘सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी चलाउने अनि तीब्र गतिमा कुदाउने भएकाले पनि सवारी दुर्घटना बढेको हो।’

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६९/७० मा भएका ४ हजार ७ सय ७० मध्ये २ हजार २१, २०७०/७१ मा ४ हजार ६ सय ७२ मध्ये २ हजार ३२, २०७१/७२ मा ४ हजार ९ सय ९९ मध्ये २ हजार १ सय ८१, २०७२/७३ मा ५ हजार ६ सय ६८ मध्ये २ हजार ४ सय ८५, २०७३/७४ मा ५ हजार ५ सय ३० मध्ये २ हजार ९, २०७४/७५ मा ६ हजार ३ सय ८१ मध्ये २ हजार ६ सय ५६, २०७५/७६ मा ८ हजार ५ सय ११ मध्ये ३ हजार ४ सय ८७ सवारी दुर्घटना मध्यान्ह १२ देखि साँझ ६ बजेभित्र घटेका थिए ।

आर्थिक वर्ष २०७५/७६ मा भएका ८ हजार ५ सय ११ सवारी दुर्घटनामध्ये बिहान ६ देखि मध्यान्ह १२ बजेसम्म २ हजार ५ सय ६६, मध्यान्ह १२ देखि साँझ ६ बजेसम्म ३ हजार ४ सय ८७, साँझ ६ देखि राति १२ बजेसम्म २ हजार ७८, राति १२ देखि बिहान ६ सम्म ३ सय ८० सवारी दुर्घटना भएका थिए ।

पछिल्लो आर्थिक वर्ष २०७५/७६ मा ८ हजार ५ सय ११ सवारी दुर्घटनामा २ सय ५४ जनाले ज्यान गुमाएका थिए। दुर्घटनाबाट मृत्यु हुनेमा ९३ पैदलयात्रु, १ सय १५ मोटरसाईकल तथा स्कुटीमा सवार, १२ जना ट्रकबाट, ५ जना साईकल, १२ जना बस, १ जना माइक्रो र १६ जनाको कार दुर्घटनामा परि मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2019-07-26 10:39:35

प्रतिकृया दिनुहोस्