बालुवाटारमा छुट्टै बैठक : ओलीले सुनाए रावण नेपालमा जन्मेको कथा

जिम्मेवारी बाँडफाटको विषयमा समाधान धारणा बनाउन बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयमा प्रतिनिधित्व गर्ने पूर्व एमाले नेताहरूको बैठक महाभारत र रामायणको प्रसंगमै सीमित भएको छ।

पार्टी स्कुल विभागमा प्रमुखमा पूर्व एमाले र पूर्व माओवादी नेताहरुले अडान नछोडेपछि अड्किएको संगठनिक एकीकरण गतिरोध अन्त्यका लागि छलफल गर्न नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ बालुवाटारमा बैठक बोलाएका थिए।

'पार्टीभित्र देखिएको गतिरोधबारेमा बैठकमा कुरै भएन। अध्यक्षले महाभारत, रामायणको प्रसंग निकाल्नुभयो। नेपालमै रावण जन्मेकोदेखि बाल्मीकि, बेदब्यास जन्मेका कथा कहानी सुनाउनुभयो।' एक सचिवालय सदस्यले नेपालखबरसँग भने, 'अयोध्या र जनकपुरको सम्बन्धको विषयमा चर्चा भयो। रामायण र महाभारतको प्रसंगहरुमा छलफल भयो।'

साँझ ५ बजे बालुवाटार पुगेका सचिवालय सदस्यहरु करिब ३ घन्टा बालुवाटारमा बसेका थिए। ८ बजेतिर नेताहरू बालुवाटारबाट बाहिरिएका थिए।

पार्टी स्कुल विभाग प्रमुखबारे पूर्वएमाले र पूर्वमाओवादीले आ–आफ्नो अडान नछोडेपछि एकीकरण प्रक्रियाले मूर्तरूप पाउन सकिरहेको छैन। स्कूल विभागमा पूर्वमाओवादीका तर्फबाट सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र पूर्वएमालेको तर्फबाट ईश्वर पोखरेलले दाबी गरिरहेका छन्।

दुवै पक्षले दाबी नछोडेपछि सचिवालय बैठक अनिश्चित बनिरहेको छ। गत शुक्रबार जिल्ला इन्चार्ज र सह इन्चार्ज तोकेर जिम्मेवार बाँडफाँट गरिएको थियो। विभागीय तथा जनवर्गीय संगठनको प्रमुखहरु तोक्नका लागि सुरुमा गत आइतबार बैठक बस्ने भनिएको थियो तर सहमति नजुटेपछि मंगलबारलाई सारिएको थियो।

मंगलबार बैठक पुन: बिहीबारका लागि सारिएको थियो। बिहीबार समेत सचिवालय बैठक बस्न सकेन। सचिवालय बैठक अनिश्चित भएको अवस्थामा समाधान धारणा बनाउन पूर्व एमाले नेताहरूको बैठक डाकिएको थियो।

सचिवालयमा पूर्व एमालेको तर्फबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल रहेका छन्।

६ जनै सचिवालय सदस्यहरूबीच एकमत भने छैन। अध्यक्ष ओलीलाई पोखरेल र पौडेलको साथ रहेको छ। नेपाल, खनाल र गौतम अर्को पक्षमा  छन्।

'आफूले चाहेजस्तो निर्णय नआउने अवस्थामा विगतमा पनि अध्यक्ष ओलीले अनौपचारिक वा औपचारिक बैठकहरुमा मुल एजेण्डाभन्दा बाहिरको प्रसंग ल्याउने गर्नु भएको थियो', ती सचिवालय सदस्यले भने,'तीन घन्टासम्म रामायण र महाभारतको कथा सुनाउनुको मतलब त्यही हुनुपर्छ।'

विभाग प्रमुखको बाँडफाँटको विषयमा पटक-पटक अर्का अध्यक्ष पुष्पकमल दाहालसँग अध्यक्ष ओलीले छलफल गरे पनि ठोस निष्कर्ष आउन सकेको छैन। स्कुल विभागलाई लिएर उत्पन्न गतिरोध अन्त्य गर्नेबारे सोमबार दुई अध्यक्षहरूले दुई विकल्पमाथि छलफल गरेका थिए।

पार्टीको शक्तिशाली संगठन विभागको प्रमुख वामदेव गौतम र विदेश विभागमा माधवकुमार नेपाल रहने निश्चित भए पनि अन्य विभागबारे निर्णय हुन बाँकी छ। पूर्वएमाले र पूर्वमाओवादीले नेकपामा क्रमशः १८ र १४ विभागको प्रमुख हुने गरी जिम्मेवारी बाँडफाँट गरेका छन्।

प्रकाशित मिति: : 2019-07-26 09:58:11

प्रतिकृया दिनुहोस्