‘प्रधानमन्त्री वरिपरि रहेका व्यक्तिले नै सरकारलाई अप्ठ्यारोमा पारेको छ’

तस्बिरः रातोपाटी

राजकिशोर यादव राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका छैठौँ संयोजक बनेका छन् । उनको विशेष पहलमा नेपाली काँग्रेससँग सदनमा कार्यगत एकता भएको छ । गठबन्धन नै बनाएर कार्यगत एकतालाई कसरी दीर्घकालीन बनाउन सकिन्छ, अन्य दलहरुका बीचमा मोर्चाबन्दी कसरी गर्नेलगायतका विषयमा गम्भीर रूपमा लागेका उनी दुई महिनामा पार्टीलाई सङ्गठित बनाएर महाधिवेशन सम्पन्न गर्ने अभियानमा समेत लागेका छन् । प्रस्तुत छ, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवसँग काँग्रेससँग गठबन्धन, सरकारको काम करबाही, पार्टीको अवस्था लगायतका विषयमा रातोपाटीका लागि गरिएको कुराकानीः

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले धेरै पछि आफ्नो कोर्स परिवर्तन गरेको देखिन्छ । नेपाली काँग्रेससँग गठबन्धन बनाउनुको उद्देश्य के हो ?

–राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र नेपाली काँग्रेसबीचमा संसदभित्र मुद्दाका आधारमा कार्यगत एकता भएको हो । लोकतन्त्रको सबभन्दा ठूलो मन्दिर हो संसद् । जनताका प्रतिनिधि बस्ने थालो हो । जनताका कुरा जनप्रतिनिधिले उठाउँदा त्यसप्रति सरकार जबाफदेही हुनुपर्छ भन्ने हाम्रो मान्यता हो र त्यही अनुरूप सरकार चल्नुपर्छ । सरकारलाई जबाफदेही बनाउन संसदभित्र प्रभावकारी र बलियो प्रतिपक्षको आवश्यकता छ । त्यही कुराको महसुस गरेर हामीले कार्यगत एकता गरेका हौँ । लोकतन्त्रलाई अझै मजबुत बनाउनका लागि संसदको भूमिका प्रभावकारी हुनुपर्छ । त्यही मान्यताअनुरूप मुद्दाका आधारमा काँग्रेससँग कार्यगत एकता भएको हो ।

नेकपा नेतृत्वको सरकारलाई तपाईंहरुले समर्थन गर्नुभएको थियो । तर अहिले समर्थन फिर्ता लिएर काँग्रेसतिर आउनुभएको छ । काँग्रेससँग गठबन्धन बनाउने योजना पहिलेदेखि थियो कि ?

–चुनावपछि जनमत नेकपाको पक्षमा आयो । प्रधानमन्त्री पदमा निर्वाचित हुँदै गर्दा केपी शर्मा ओलीले हिमाल, पहाड, मधेसलाई साझा नेपाल बनाउँछु, त्यसमा साथ दिनुस् भनेर आग्रह गर्नुभयो । त्यसबाट राष्ट्रिय जनता पार्टीले के निष्कर्ष निकाल्यो भने देशलाई अब एउटा सकारात्मक निष्कर्ष दिनुपर्छ । संसारलाई बचाउन महादेवले विष पिएझैँ हामीले पनि देश निर्माणमा योगदान दिनका लागि एक पटक नेकपा नेतृत्वको सरकारलाई समर्थन गरौँ न भनेर समर्थन गरेका थियौँ । पार्टीका कार्यकर्ता तथा जनताले तत्कालीन अवस्थामा हाम्रो निर्णयलाई नरुचाउँदा–नरुचाउँदै पनि मुलुकको हितलाई ध्यानमा राखेर हामीले सरकारलाई समर्थन गरेका थियौँ । सरकारसँग ठूलो अवसर पनि थियो । इतिहासमै बलियो जनमतसहित निर्माण भएको सरकारसँग ठूलो आशा पनि थियो । तर उहाँहरुले त्यो अवसरलाई सही ढङ्गले उपयोग गर्न सक्नुभएन । एक वर्षसम्म सरकारलाई समर्थन दिएर साथ दिइरह्यौँ । तर सरकारले गति नै छाडेपछि अब ‘भीरबाट लड्न लागेको गोरुलाई रामराम मात्र भन्न सकिन्छ,  बचाउन सकिँदैन’ भन्ने लागेर हामीले समर्थन फिर्ता लियौँ ।

 
प्रकाशित मिति: : 2019-07-26 08:30:19

प्रतिकृया दिनुहोस्