त्यो च्यातिएको बुट...

ब्रिजेश चौधरी

काठमाडौं- दाइले किनिदिएको ९ सय रुपैयाँको बुट दर्जनौँ पटक सिलाएर फुटबल हानिरहँदा ब्रिजेश चौधरीले सोचेकै थिएनन्, यो दिन आउला। नेपाली फुटबलमा आफ्नो परिचय बन्ला। खेलेर पनि केही होला। मेहनतले उज्यालो भविष्य देखिएला...।

गएको आइतबार नेपाली फुटबल समर्थकमाझ खुब चल्यो ब्रिजेशको नाम। ब्रिगेड ब्वाइज क्लबलाई ललित स्मृति यु-१८ च्याम्पियनसिप फुटबलको उपाधि जिताउँदा ब्रिजेश प्रतियोगिताकै उत्कृष्ट फरवार्ड बने। 

ए डिभिजन लिग खेल्ने १४ क्लबका १८ वर्षमुनिका खेलाडीमाझ ब्रिजेशको विशेष चर्चा हुनुमा उनको गोल मात्रै होइन खेल शैली पनि गज्जबकै थियो। ब्रिगेड ब्वाइजले देखाएको सामूहिक खेल भावनामा ब्रिजेशको भूमिका केन्द्रमा रह्यो। यसैले त, नेपाली फुटबलमा नयाँ परिचय बनेका छन्, ब्रिजेश चौधरी। 

ललित स्मृति च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता रहेका ब्रिजेश भर्खरै फुटबलमा ‘कमब्याक’ गरेका खेलाडी हुन्। २०७४ को असोजमा हल्चोक मैदानमा भएको एएफसी यु-१६ च्याम्पियनसिप छनोटमा प्यालेस्टाइनसँग खेल्दा घुँडामा लागेको चोटले उनी झण्डै डेढ वर्ष मैदान बाहिर रहनु पर्‍यो। 

चोटले बाहिर बस्नुपरेको पीडा भुलाएर वापसी यति उत्कृष्ट भयो कि ब्रिजेशले पुराना दिन बिर्साइदिए। ललित स्मृतिको समूह चरणमा नेपाल पुलिसलाई ३-० ले हराउँदा ब्रिजेशले एक गोल गरे। सरस्वती क्लबलाई ११-१ ले हराउँदा त उनले ह्याट्रिक नै पूरा गरे। ब्रिजेशको ह्याट्रिकले हौसिएको टिम सबैमाथि भारी पर्यो‍।

जावालाखेल युथ क्लबलाई ३-० ले हराउँदा पनि ब्रिजेशको नाममा एक गोल रह्यो। क्वाटरफाइनलमा एपिएफसँगको प्रतिस्पर्धात्मक खेलमा २-१ ले हराउँदा पनि उनले एक गोल हानेरै छाडे। सेमिफाइनलमा मनाङ मर्स्याङ्दीलाई ७-१ ले हराउँदा ब्रिजेशको एक गोल उत्कृष्ट रह्यो। 

फाइनलमा पुलिस क्लबसँगै भिडेको ब्रिगेड ब्वाइजका लागि एकमात्र निर्णायक गोल उनै ब्रिजेशले हानेका थिए। जसले क्लबलाई लगातर दोस्रो पटक ललित स्मृति यु-१८ को उपाधि जितायो। नेपाली फुटबलमा ब्रिजेश नामलाई स्थापित गरायो। 

प्रकाशित मिति: : 2019-07-25 08:05:18

प्रतिकृया दिनुहोस्