एक वर्षमा ५५११ बाइक र स्कुटर दुर्घटना, ११५ को मृत्यु

सवारी सुरक्षाको हिसाबले दुईपाङ्ग्रे (मोटरसाइकल र स्कुटर) लाई सबैभन्दा असुरक्षित मानिन्छ, जुन कुरा ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कबाट पुष्टि भएको छ।

पछिल्लो समय सवारी दुर्घटनामा मोटरसाइकल र स्कुटरको संलग्नता बढिरहेको पाइएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार त्यसबाट मृत्यु हुनेको संख्यासमेत अन्य सवारी दुर्घटनाकोभन्दा बढी रहेको छ।

आर्थिक वर्ष २०७५/७६ भित्र भएका सवारी दुर्घटनामध्ये ५ हजार ५ सय ११ मा मोटरसाइकल तथा स्कुटरको संलग्नता रहेको महाशाखाको तथ्याङ्कले देखाउँछ। ती दुर्घटनामा १ सय १५ जनाले ज्यान गुमाएका छन्।

मोटरसाइकल तथा स्कुटरको यात्रा सबैभन्दा बढी जोखिमपूर्ण हुने यही तथ्याङ्कले प्रमाणित गरेको छ।

पछिल्ला वर्षहरुमा जनसङ्ख्याको चापसँगै दुईपाङ्ग्रे सवारीसाधन (मोटरसाइकल र स्कुटर) को सङ्ख्या बढेको छ। महाशाखाकाअनुसार सवारी दुर्घटनामा त्यस्ता सवारीसाधनको संलग्नता वर्षेनी बढिरहेको छ।

आर्थिक वर्ष २०७४/७५ मा मुलुकभर ४ हजार ६५ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका थिए, जसमा परी १ सय ११ जनाले ज्यान गुमाएका थिए।

त्यसअघि आर्थिक वर्ष २०६९/७० मा ३ हजार २ सय १८ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा संलग्न रहेका र त्यसमा ५५ जनाले ज्यान गुमाएका थिए।
त्यसैगरी २०७०/७१ मा ३ हजार २४ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा ६५ जनाको ज्यान गएको थियो भने २०७१/७२ मा ३ हजार २ सय ५२ दुर्घटनामध्ये ५५ जनाको मृत्यु भएको थियो।

आर्थिक वर्ष २०७२/७३ मा ३ हजार ६ सय ७१ मोटरसाइकल तथा स्कुटर दुर्घटनामा ७५ जना र २०७३/७४ मा ३ हजार ३ सय ४९ दुर्घटनामा ७७ जनाको ज्यान गएको तथ्याङ्क छ।

महाशाखाका अनुसार सवारी दुर्घटनामा ठक्कर दिएर पैदलयात्रु तथा अन्यको मृत्यु गराउन संलग्न सवारीसाधनसमेत मोटरसाइकल र स्कुटर बढी रहेका छन्।

आर्थिक वर्ष २०७५/७६ मा सवारी दुर्घटना गराउने मोटरसाइकल तथा स्कुटरको सङ्ख्या ९९ रहेको छ। आर्थिक वर्ष २०७३/७४ मा १ सय ८२ मध्ये ४१ र २०७४/७५ मा १ सय ९४ मध्ये ६८ सवारी दुर्घटनामा मोटरसाइकल तथा स्कुटरको संलग्नता रहेको अध्ययनले देखाएको छ।

प्रकाशित मिति: : 2019-07-25 06:25:30

प्रतिकृया दिनुहोस्