पूर्वमाओवादीले आफ्नो भागका विभागको जिम्मेवारी मन्त्रीहरूलाई नै दिने

नेपाल कम्युनिष्ट पार्टीभित्रको पूर्वमाओवादी पक्षले आफ्नो भागमा परेका विभागको जिम्मा विभागीय मन्त्रीहरूलाई दिने भएको छ।

नेकपाका ३३ विभागमध्ये १४ वटा पूर्वमाओवादी केन्द्रको भागमा परेका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारमा पूर्वमाओवादीका तर्फबाट सात जना मन्त्री छन्।

‘विभागीय मन्त्रीहरूलाई पार्टीभित्रको विभागको पनि जिम्मेवारी दिएपछि बाँकी विभागहरू अरू नेतालाई दिने छलफल भइरहेको छ,’ एक नेताले सेतोपाटीसँग भने।

उनकाअनुसार पूर्वमाओवादीको भागमा परेका विभागमध्ये राजकीय मामला तथा सुशासनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, जलस्रोत, सिंचाइ तथा उर्जामा वर्षमान पुन, कृषि तथा भूमिसुधारमा चक्रपाणि खनाल, वन तथा वातारवणमा शक्ति बस्नेत, उपभोक्ता हित तथा आपूर्तिमा मातृका यादव, शिक्षा तथा मानव स्रोतमा गिरिराजमणि पोखरेल र खानेपानी तथा सरसफाइ विभाग प्रमुखमा बीना मगरलाई पठाउने सहमति भएको छ। यी सबैजनाले विभागीय मन्त्रीको जिम्मेवारी पनि सम्हालिरहेका छन्।

नेकपाको कोष तथा आर्थिक व्यवस्थापन, पुस्तकालय तथा अभिलेख, राष्ट्रिय सुरक्षा प्रर्वद्धन, विज्ञान तथा प्रविधि, साहित्य कला तथा संस्कृति, स्थानीय तह र प्रचार तथा प्रकाशन विभाग पनि पूर्वमाओवादीको भागमा परेको छ।

सचिवालयले राखेका पाँच विभागमध्ये महत्वपूर्व विभागको नेतृत्वमा टुंगो लागेपछि बाँकी विभागको नेतृत्व पनि छान्ने तयारी नेताहरूको छ।

सचिवालय सदस्यहरूबीच बाँड्ने भनिएको अर्थ तथा योजना, संगठन, पार्टी स्कुल, विदेश र प्रचार विभागको नेतृत्वमा पूर्वएमाले र पूर्वमाओवादी पक्षबीच सहमति नहुँदा अरू विभागको नेतृत्वको विषय पनि अन्यौलमा परेको छ।

विशेष गरी पार्टी स्कुल विभागको प्रमुखमा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले दाबी गरेपछि अरू विभागीय प्रमुखको टुंगो लगाउन सकस परेको हो।

प्रकाशित मिति: : 2019-07-24 16:53:49

प्रतिकृया दिनुहोस्