नारायणहिटी संग्रहालयमा लागि चिनियाँ घाँस उमार्नेदेखि पाकिस्तानी घोडा किन्नेसम्मका सुझाव

नारायणहिटी दरबार संग्रहालयका दुर्लभ पुस्तकहरु छरिएका, अव्यवस्थित भएका तथा भविष्यमा बिग्रिन सक्ने जोखिम भएको एक अध्ययनले देखाएको छ। राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले गठन गरेको 'राष्ट्रिय महत्त्वका दस्तावेज अभिलेख व्यवस्थापन सम्बन्धी अध्ययन कार्यदल'ले सो संग्रहालयभित्र १७ वटा समस्या पहिचान गरेको हो। 

हालसम्म प्रदर्शनीका लागि खुला नगरिएको महत्त्वपूर्ण ऐतिहासिक, प्राकृतिक एवं सांस्कृतिक महत्त्वका अभिलेख/ दस्तावेजहरु रहेको तत्कालीन राजपरिवारको निजी पुस्तकालयमा लगभग १८ हजार थान प्राकृतिक, ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्त्वका देश तथा विदेशमा प्रकाशित पुस्तक अव्यवस्थित तथा छरिएको देखिएको कार्यदलको प्रतिवेदनमा उल्लेख छ।

दरबारको माथिल्लो तलामा रहेको र पुस्तकहरु प्रयोगमा नआएको पुस्तकहरु चिसोका कारण सड्न सक्ने भएकाले निकट भविष्यमा बिग्रिन सक्ने कार्यदलको ठहर छ।

'केही चित्र तथा ग्रन्थहरु पनि छरिएर रहेको हुनाले कालान्तरमा सड्ने वा बिग्रेर जाने भएकाले त्यसको संरक्षण, संवर्द्धन गर्नुपर्ने देखियो', प्रतिवेदनमा भनिएको छ।

श्रीपेच आकारको फोहोरा बन्द भएको, गोल्डेन लगायतका विभिन्न २२ बग्गीहरु सुचारु नभएका, कतिपय कलाकृतिहरु बन्द कोठामा थन्काएर राखिएको लगायतको विषयमा समितिको चासो देखिन्छ।

प्रतिवेदनमा 'टेक्सीडर्मी' गरिएका कतिपय जनावरका शरीरका विभिन्न भागहरु बिग्रिन लागेको उल्लेख छ। 'दशकौं पुरानो टेक्सीडर्मी गरेर विभिन्न जनावरका (अर्ना, निलगाई, हात्ती, बाघ, गैंडा आदिको) टाउको, शरीर तथा खुट्टाबाट दरबारका विभिन्न कक्ष तथा भित्ताहरुमा सजाइएको देखिन्छ तर ती वस्तुहरु बिग्रिन लागेको र च्यातिन लागेको अवस्थाप्रति सरकार तथा सरोकारवालाको ध्यान नगएको देखिन्छ', प्रतिवेदनमा भनिएको छ।

तत्कालीन राजाराजनीको चर्पीमा धेरैको चासो भए तापनि त्यहाँ प्रयोग गरिएको गिट्टी जस्ता टायलहरु फुटेका कारण मर्मत गर्न प्रतिवेदनमा सुझाएको छ।

प्रकाशित मिति: : 2019-07-24 12:33:42

प्रतिकृया दिनुहोस्