ठूला होटलको बाढी, ४० प्रतिशत कोठा खाली

तस्बिरः एजेन्सी

८ साउन, काठमाडौं । पर्यटक बढ्ने आशामा नेपालमा ठूलो लगानीका तारे होटलहरु खोल्ने क्रम बढिरहेको छ । तर, अहिले भएकै होटलहरु पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार सन् २०१८ मा होटेलको अकुपेन्सी औसत ६५ प्रतिशत हाराहारी थियो । सन् २०१९ को पहिलो ६ महिनासम्म औसत ६० प्रतिशतभन्दा माथि होटेल अकुपेन्सी रहेको पर्यटक विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । यसको अर्थ होटलका ४० प्रतिशत कोठा खाली छन् ।

विभागका अनुसार पछिल्लो ६ महिनामा नेपालमा चारवटा पाँचतारे होटेल थपिएका छन् । फागुन २०७५ मा बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजा पाँचतारे वर्गीकरणमा परेको थियो । सोही महिना नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियरले समेत पाँचतारे होटेलको मान्यता पायो ।

काठमाडौंको नक्सालमा हालै सञ्चालनमा आएको काठमाडौं मेरियट होटेलले २ असारमा पाँचतारे प्रमाणपत्र प्राप्त गर्‍यो । १६ असारमा होटेल अलफ्ट काठमाडौंले पाँचतारे मान्यता पाएसँगै ६ महिनाको अवधिमा ४ नयाँ होटेल पाँचतारे वर्गिकरणमा परेका हुन् ।

पाँचतारेसँगै अन्य वर्गिकरणका तारे होटेलमा पनि उत्तिकै लगानी बढ्दो छ । पर्यटन मन्त्रालयको तथ्यांक अनुसार एक वर्षको अवधिमा पर्यटक स्तरीयभन्दा माथि दुई दर्जन नयाँ होटेल निर्माण भई संचालनमा आएका छन् । ती होटेलका कारण १ हजार २३ बेड संख्या वृद्धि भएको छ ।

सरकारको पछिल्लो तथ्यांक अनुसार अहिले देशभर १ सय ३६ तारे होटेल छन् । १ हजार १ सय २५ वटा पर्यटकीय स्तरका होटेल छन् । तारे र पर्यटकीय होटेलमा गरी ४१ हजार बेड पर्यटकको सेवाका लागि तयारी अवस्थामा रहेका छन् ।

प्रकाशित मिति: : 2019-07-24 08:14:53

प्रतिकृया दिनुहोस्