नेपाल चीनतिर गइसक्यो भन्ने भावना छ भारतमा : दीपकुमार उपाध्याय

दीपकुमार उपाध्याय, भारतका लागि पूर्वनेपाली राजदूत

दुईपटक राजदूत हुँदा र राज्य संयन्त्रको परिप्रेक्ष्यबाट हेर्दा नेपाल–भारत सम्बन्धको चरित्र कस्तो अनुभव गर्नुभयो ?
म राजदूत भएर दिल्ली गएलगत्तै (०७२ सालमा) दुईपटक असहज अवस्था भयो– भूकम्प र नाकाबन्दी । वास्तवमा मैले नेपाल र भारतबीच राजनीतिक तहबाट सम्बन्ध पुनस्र्थापित गर्न राजदूत पद स्वीकार गरेर गएको थिएँ । असहज अवस्थाबीच त्यो मिसन पूरा गरेँ भन्ने लाग्छ । दिल्ली जानुअघि मैले काठमाडौंमा भारतीय राजदूतावासको फूर्तिफार्ति र सक्रियता देखेको हुँ ।

म दिल्ली जाँदा सुरुमै असहज लाग्यो । राजनीतिक व्यक्ति भएकाले मैले राजनीतिक पहुँच खोज्न थालेँ । उनीहरू (भारतीय विदेश मन्त्रालयका अधिकारी)ले भने– दिल्लीमा भएका करिब २०० जति कूटनीतिक नियोगलाई निर्वाध राजनीतिक पहुँच दिँदा हामीलाई काम गर्न असहज हुन्छ । तपाईंलाई आवश्यक सहयोग र सेवा दिन हामी तयार छौँ ।’ साउथ ब्लकको नेपाल डेस्कमै सीमित हुनुपर्छ भन्ने स्पष्ट सन्देश थियो । मैले सुरुमा यति मात्रै भनेँ, ‘हाम्रो विशिष्ट प्रकारको सम्बन्ध छ ।

नेपालीहरूलाई आपतविपत् पर्दा भेट्ने विषयलाई अन्यथा नमानिदिनुस् ।’ म सम्झिरहेको छु, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीले भूकम्प गएको (वैशाख १२, ०७२) डेढ घन्टाभित्रै मलाई फोन गर्नुभयो । मोदीजीले भन्नुभयो, ‘दीपजी, मैले तपाईंको राष्ट्रपतिजीसँग कुरा गरेँ, प्रधानमन्त्रीजीसँग सम्पर्क हुन सकेन । नआत्तिनुस् । हामी सहयोग गर्छौँ । गुजरातमा यो नियति भोगिसकेका छौँ ।

अलिकति गाह्रो हुन्छ, तर सम्हाल्दै जानुपर्छ । प्रधानमन्त्रीसँग सम्पर्क हुनासाथ सम्पर्क गर्न भनिदिनुस् ।’ मैले ओहोदाको प्रमाणपत्र बुझाइसकेको थिइनँ । मैले पछि थाहा पाएअनुसार कतिपयले ओहोदाको प्रमाणपत्र नबुझाइसकेका राजदूतलाई टेलिफोन गर्नुहुँदैन कि भन्ने सल्लाह मोदीजीलाई दिएछन् । मोदीजीले भन्नुभएछ, ‘हाम्रो जनस्तरको पारिवारिक सम्बन्ध छ, फेरि यस्तो संकटमा प्रोटोकल हेर्नुहुँदैन ।’ 

नेपाल–भारतको जनस्तरको सम्बन्धको पक्षलाई भारतको राज्य संयन्त्रले कत्तिको महत्व दिँदोरहेछ ? 
१७ वर्ष रोकिएको भारतका प्रधानमन्त्रीको भ्रमण मोदीजी आएलगत्तै भयो । यो सम्बन्धमा ब्रेक थ्रु थियो । पहिला प्रशासनिक संयन्त्रको तहबाट सम्बन्ध सञ्चालन हुन्थ्यो, मोदी आएपछि राजनीतिक तहमा सम्बन्ध विकसित भएको छ । अहिले यो कायम छ । तर, उहाँले हाम्रो संसद्मा दिएका अभिव्यक्तिलाई हामीले बुझ्न सकेनौँ । त्यसयता नेपाल भारत सम्बन्ध राजनीतिक ट्र्याकमा छ ।

प्रधानमन्त्री मोदीजीले मलाई भन्नुभएको सम्झिइरहेको छु, ‘नेपाललाई म आफैँ नजिकबाट हेरिरहेको छु । नेपालका सन्दर्भमा म, विदेशमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार र नेपालका लागि राजदूतबाहेक अर्को व्यक्तिले भनेकामा ध्यान नदिनुहोला ।’ अहिलेका विदेशमन्त्री एस जयशंकर (तत्कालीन सचिव)ले मलाई भन्नुभएको थियो, ‘नेपालको विषय आएपछि प्रधानमन्त्रीजीले हामीलाई गाली गर्नुहुन्छ । नेपालसँग पहिला के समझदारी भएको थियो, अहिले के पूरा भएन, हामीले किन पूरा गरेनौँ, कमजोरी कहाँ भयो ? अनि मलाई किन जानकारी दिनुभएन भनेर प्रश्न गर्नुहुन्छ ।’ नेपालले भारतसँग के चाहन्छ भन्ने विषय पत्ता लगाउन मोदीले भन्नुभएको जयशंकरजीले मलाई सुनाउनुभएको थियो ।

नाकाबन्दी बढ्दै गएको भए बंगलादेशको जन्म जसरी भयो, यहाँ त्यो अवस्था आउन सक्थ्यो, तर अर्को बंगलादेश बन्ने खतरा ट-यो किनभने भारतमा एउटा स्वार्थ समूह नाकाबन्दी बढाउन चाहन्थ्यो

मेरो बुझाइमा पानीको प्रबन्ध नेपाल भारत सम्बन्धको मुख्य मुद्दा हो । विश्वमा आएको पछिल्लो प्रविधि प्रयोग गरेर पानीको प्रबन्धमा हामीले सहकार्य गर्नुपर्छ । त्यसपछि मात्रै हाम्रो तराई अनि भारतको उत्तर प्रदेश र बिहारको डुबान नियन्त्रण हुन्छ । भारतले पानीको प्राकृतिक बहावलाई अप्राकृतिक अवरोध गर्नु राम्रो होइन । हामी दीर्घकालीन समाधान नखोजेर एउटा पाइप फराकिलो पारिदेऊ, एउटा कल्भर्ट मिलाइदेऊ भनिरहेका छौँ । अहिले दुवैतिर स्थिर सरकार भएका वेला पानीको प्रबन्ध, सीमा नियमन, १९५० को सन्धिलगायतका विषयमा के गर्ने हो हामी सुरुमा स्पष्ट हुनुपर्छ । 

प्रकाशित मिति: : 2019-07-24 07:47:09

प्रतिकृया दिनुहोस्