लोकप्रिय बन्दै सुलुलु कुद्ने शान्त गाडी, सरकारी नीति अस्पष्ट

दिनहुँ सडकमा कुद्ने लाखौं गाडीको कर्कश आवाजले शहर आक्रान्त छ। ठुल्ठूलो हर्न, लामो जाम र हिलाम्मे सडकले शहरवासी थप ‘इरिटेड’ छन्।

 

यही कर्कश आवाजबीच सुलुलु हिड्ने तर अल्पसंख्यामा रहेका केही गाडी छन् जसले न आवाज निकाल्छन्, न यसलाई धेरै खर्च नै गर्नुपर्छ। त्यसमाथि इन्धनका रूपमा डिजेल वा पेट्रोल प्रयोग गर्नुपर्ने झन्झटबाट सधैं मुक्त।


यी हुन्– विद्युतीय गाडी।जसको लोकप्रियता दिनानुदिन बढिरहेको छ। केही वर्ष अन्तरालमा विद्युतीय स्कुटर, कार, रिक्सालगायत गाडीको संख्या शहरमा बढ्दै छ।

‘अहिले विद्युतीय गाडीको लोकप्रियता बढ्दै गएको छ,’ इलेक्ट्रिक भेहिकल एसोसिएसन नेपालका अध्यक्ष उमेशराज श्रेष्ठले नेपालन्युजसँग भने, ‘आगामी केही वर्षभित्र सवारीसाधन प्रयोगमा ठूलो परिवर्तन आउने निश्चित छ।’

संघका अनुसार अहिले मुलुकभर ५ हजार ५ सयहाराहारी विद्युतीय स्कुटर तथा मोटरसाइकल सञ्चालन छन्। त्यस्तै, ७ सयजति विद्युतीय कार सडकमा कुदिरहेका छन्।


सबैभन्दा लोकप्रिय त विद्युतीय इ–रिक्सा अर्थात् विद्युतीय रिक्सा छन्। मुलुकभर अहिले करिब ३५ हजार यस्ता रिक्सा सञ्चालनमा रहेको श्रेष्ठले जानकारी दिए।

पछिल्लो पटक नेपालमा कियाको निओ, हुन्डाइको क्रोना, हुन्डाइन आइमिक्सलगायत विश्व प्रसिद्ध ब्रान्डले विद्युतीय कार भित्र्याइसकेका छन्। यस्ता कारको बुकिङसमेत राम्रो भइरहेको सम्बद्ध व्यवसायीको भनाइ छ।

विद्युतीय स्कुटरतर्फ भने भारत, चीन, अस्ट्रेलियालगाय देशका चर्चित ब्रान्डले नेपालमा बजार खोजिरहेका छन्। मुलुकमा अहिले सबैभन्दा लोकप्रिय छ ‘निओ’ विद्युतीय स्कुटर।


त्यस्तै, बेनलिन, भेला, अस्ट्रेलियन भि–मोटोलगायत विश्वप्रसिद्ध ब्रान्ड नेपाल आइसकेका छन्। एभरेस्ट जस्ता केही कम्पनीका स्कुटर बजार आउने तयारीमा छन्।


विद्युतीय गाडी उत्पादन गर्ने ब्रान्डेड कम्पनी नेपाल आइसकेका छन्। भारत, चीनलगायत देशबाट ब्रान्डेड विद्युतीय कार आइरहेका छन्।


यही सेगमेन्टमा सस्ता गाडी पनि आउन थालेका छन्। बजारमा धेरै विकल्प भएका कारण ग्राहकले रोजीरोजी किन्न पाएका छन्।

अहिले मुलुकभर ५ हजार ५ सयहाराहारी विद्युतीय स्कुटर तथा मोटरसाइकल सञ्चालन छन्। त्यस्तै, ७ सयजति विद्युतीय कार सडकमा कुदिरहेका छन्।


अहिले बजारमा स्कुटर, कार र केही ठूला बसमा ध्यान केन्द्रित भए पनि अन्य साना गाडी चाहिँ विद्युतीय ल्याउनुपर्ने संघका अध्यक्ष श्रेष्ठको सुझाव छ।

काठमाडौंलगायत अन्य शहरमा ठूला बसमात्र सञ्चालन हुने सडक छैनन्। अधिकांश भित्री सडकमा भ्यान, माइक्रोबस सञ्चालन हुने भएकाले यी पनि विद्युतीय बनाउन सरकारले जोड दिनुपर्ने उनको भनाइ छ।

श्रेष्ठका अनुसार आगामी तीन–चार वर्षमा सार्वजनिकमात्र नभई अधिकांश यातायात साधनमा ठूलो परिवर्तन आउने सम्भावना देखिएको छ।


सरकारी नीति अस्पष्ट 
सरोकारवाला भने विद्युतीय स्कुटर प्रवद्र्धन गर्न स्पष्ट नीति लिन नसकेको बताउँछन्। संघ अध्यक्ष श्रेष्ठका अनुसार स्कुटरमा नीतिगत अप्ठोरा प्रक्रिया छन्।


केही समयअघिसम्म कुनै पनि विद्युतीय स्कुटर चलाउन काठमाडौं सेतो गुम्बाको १४ डिग्री उकालोमा पछाडि मान्छे राखेर चलाउनुपथ्र्यो। त्यो उकालो पार गरेमात्र लाइसेन्स पाउने व्यवस्था थियो।

 

प्रकाशित मिति: : 2019-07-24 07:42:54

प्रतिकृया दिनुहोस्