जर्मन कम्पनीले माग्यो ५० वर्षका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

रुपन्देहीको भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि जर्मनीको म्युनिख विमानस्थल सञ्चालन गरिरहेको कम्पनी (Flughafen München GmbH) ले औपचारिक पत्र पठाएको छ। 

५० वर्षका लागि विमानस्थल सञ्चालनको माग गर्दै म्युनिख विमानस्थल सञ्चालक कम्पनीले पहिलो औपचारिक पत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ। यसअघि गत फागुनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणसँग म्युनिखले अनौपचारिक प्रस्ताव गरेको थियो।

सरकारले उक्त कम्पनीको अनौपचारिक प्रस्तावकै आधारमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ‘जिटुजी’ मार्फत सञ्चालनका लागि दिने निर्णय गरेको थियो। उक्त निर्णयसँगै प्राधिकरण नेतृत्व र मन्त्रालयका उच्च अधिकारीहरुले विभिन्न देशका कम्पनीसँग अनौपचारिक छलफल गरिरहेका छन्। 

सरकारले विगत लामो समयदेखि जर्मन कम्पनी लगायत अन्य देशका कम्पनीसँग पनि छलफल गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए। ‘अहिले नै पुरै प्रस्ताव आएको छैन, छलफल भने भइरहेको छ,’ सचिव सापकोटाले भने। सरकारले जिटुजीमै जाने निर्णय गरिसकेकाले जुन सुकै कम्पनी पनि आउन सक्ने सचिव सापकोटाले बताए।

सचिव सापकोटाले पत्रबारे प्रतिक्रिया दिन नमाने पनि म्युनिखसँग विभिन्न चरणमा  छलफल भइरहको भने स्वीकार गरे। जर्मनीको म्युनिख विमानस्थल सञ्चालक कम्पनी (Flughafen München GmbH) ले सरकारलाई पत्र पठाउँदै सञ्चालनका लागि सबैभन्दा बढी चासो दिएको मन्त्रालय स्रोतले जनाएको छ। पहिलो प्रस्ताव आएसँगै प्रस्तावलाई सकारात्मक रुपमा लिएर छलफल अघि बढाउने तयारी गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जिटुजीमार्फत विमानस्थल सञ्चालन गर्ने गरी काम गर्न निर्देशनसँगै प्राधिकरण र मन्त्रालय नेतृत्वले विदेशी कम्पनीहरुसँग छलफल गरिरहेका छन्। ‘पहिलो प्रस्ताव हेरेर विस्तृतमा मोडालिटी माग्छौं। त्यसपछि मन्त्रालयले मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाने हो,’ स्रोतले भन्यो।

कति वर्षका लागि दिने, कुन मोडालिटीमा जाने, नेपालले त्यसबापत के पाउनेलगायत धेरै विषय आउने र एउटै पत्रले सबै निर्णय नहुने भएकाले कुन कम्पनी वा देशसँग सम्झौता हुन्छ भन्न नसकिने उच्च स्रोतको भनाइ छ। जर्मन कम्पनीले ५० वर्षका लागि विमानस्थल सञ्चालनका लागि माग गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा हेरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थल सञ्चालन सरकारले ‘जिटुजी’ मार्फत विदेशी कम्पनीलाई दिन लागेको हो। म्युनिख विमास्थल सञ्चालक कम्पनीलाई दिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडासमेत सकारात्मक छन्। मन्त्रिपरिषदले सैद्धान्तिक सहमति दिएपछि बाँकी प्रक्रिया अगाडि बढ्ने मन्त्रालय स्रोतको भनाइ छ।

जर्मन कम्पनीको टोलीले गत चैतमा प्रदेश नम्बर पाँचका मुख्य मन्त्री शंकरप्रसाद पोखरेलसँग समेत भेटेर विमानस्थल सञ्चालनका लागि माग गरेको थियो। विमानस्थल निर्माण अन्तिम चरणमा पुग्दा समेत कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषय नटुंगिएपछि नागरिक उड्डयन प्राधिकरणले आफै सञ्चालनको तयारी सुरु गरेको थियो।

विमानस्थललाई आगामी सन् २०२० को जनवरीदेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। जर्मनीको म्युनिख विमानस्थल सञ्चालक कम्पनी (Flughafen München GmbH) सँगै साउदी अरब, कतार लगायत देशले समेत विमानस्थल सञ्चालनका लागि चासो दिएको छन्। 

प्रकाशित मिति: : 2019-07-23 21:56:36

प्रतिकृया दिनुहोस्