काठमाण्डौमा साझाको रात्रीबस : यात्रुको कमी छैन, सुरक्षा पनि भरपर्दो

तस्बिरः उज्यालो

काठमाण्डौ – ‘साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुपियाँको टिकट काट्दछ’ कलाकार हरिवंश आचार्यले गाएको यो गीत र साझा बस अहिले पनि उत्तिकै चर्चामा छ ।

काठमाण्डौको सवारी चाप, यात्रु असुविधा, वायु प्रदूषण नियन्त्रण तथा आधुनिक सहरको परिकल्पनासहित एक पटक बन्द भइसकेको साझा यातायातले फेरि आफ्नो सेवालाई निरन्तरता दिएको छ ।

अहिले काठमाण्डौ उपत्यकासहित उपत्यका बाहिर पनि साझा यातायातले आफ्नो सेवा दिइरहेको छ । पछिल्लो समय साझा यातायातले रात्रीकालीन सेवा पनि सुरु गरेको छ ।

साझा यातायातले एक हप्ता अघिदेखि काठमाण्डौभित्र राति ९ बजेपछि तीन ओटा रात्री बस सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आएका रात्री बसले राति ९ बजेपछि एक पटकमात्र सेवा दिने व्यवस्था मिलाइएको साझा यातायातले जनाएको छ । विस्तारै यो सेवालाई विस्तार गर्ने र रातभर पनि सेवा दिने व्यवस्था मिलाउने साझा यातायात बस व्यवस्थापक तथा लेखा अधिकृत गोपालप्रसाद पन्तले जानकारी दिनुभयो ।

यी रुटमा चल्छन् साझाको रात्रीबस

– न्यूरोड गेटबाट – लाजिम्पाट – पानीपोखरी – टिचिङ हस्पिटल – नारायण गोपाल चोक – सामाखुशी – नयाँ बसपार्क हुँदै त्यही रुट फिर्ता ।

– न्यूरोड गेटबाट – पुरानो बसपार्क – शहीदगेट – त्रिपुरेश्वर – टेकु – कालिमाटी – कलंकी हुँदै त्यही रुट फिर्ता ।

– न्यूरोड– पुरानो बसपार्क – सिंहदरबार – बबरमहल – नयाँ बानेश्वर – तीनकुने – एयरपोर्ट – चावहिल – नारायणगोपाल चोक – नयाँ बसपार्क हुँदै त्यही रुट फिर्ता ।

दुई दशक अघिसम्म निकै भरपर्दो र सस्तो सेवा प्रदायकका रुपमा सञ्चालनमा आएको साझा यातायात २०७० सालमा पुनः सञ्चालनमा आएको हो । उपत्यकामा सवारीको चापसँगै यात्रुहरुले कोचिएर सकसपूर्ण यात्रा गर्न बाध्य भैरहेको बेलामा यसको सेवा सुरु हुँदा उपत्यकाभित्रका अधिकांश यात्रुले यसको लाभ लिएका छन् ।

बीचमा केही वर्ष सेवा अवरुद्ध भएर पुनःसञ्चालनमा आएपछि साझाले यात्रुलाई सुविधा दिन ठूला र आरामदायी सिट, टिकट, विद्युतीय कार्ड, अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री बसको सुरुवात गरेको छ । विसं २०१६ मा स्थापित साझा सहकारी संस्थाले सुरु गरको साझा यातायात दुई दशक अघिदेखि लामो समयसम्म सेवा अवरुद्ध भएपछि विसं २०७० मा सेवा पुनः सुरु भएको थियो ।

अहिले साझाका ७१ बस नियमित सञ्चालनमा छन् । यीमध्ये एउटा लो फ्लोर बस (अपाङ्गता र ज्येष्ठ नागरिकका लक्षित बस) र चार उपत्यका बाहिर चल्ने सुविधासम्पन्न (डिलक्स) बस छन् भने बाँकी शहरी बस रहेको संस्थाले जनाएको छ ।

प्रकाशित मिति: : 2019-07-23 11:56:06

प्रतिकृया दिनुहोस्